राष्ट्रिय स्वार्थलाई तिलाञ्जलि दिएर सत्ताका लागि घुँडा टेक्दिनँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा रहेको बताएका छन्। नेकपा एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना र ठूला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने बनाए।
'हामी हाम्रो राष्ट्रिय हितका कुरा गरिहँदा विश्व शान्ति र मानवीय हितलाई पनि सँगै राखेर हेर्ने गर्छौं। संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशील र असम्लग्नताका सिद्धान्तबाट हामी निर्देशित छौं। हामी पारस्परिक लाभ र सहअस्तित्वमा विश्वास गर्छौं। हाम्रा कोही शत्रु छैनन्, सबै हाम्र मित्र हुन् भन्ने भावका साथ हामीले वैदेशिक सम्बन्ध कायम गर्छौं। भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम हामी गर्दैनौं। राष्ट्रिय हितको रक्षा गर्न भूराजनीतिक परिस्थितिलाई हामी सन्तुलितरूपमा सामना गर्न सक्छौं। छिमेकी देशसँग उत्ताउलो नभइकन खुलस्त र मित्रतापूर्णरूपमा आफ्ना जायज कुरा राख्नुपर्छ। जिब्रो लट्पट्याएर नबुझिने गरी कूटनीतिक संवाद गर्नुपर्छ भन्ने छैन। बुझिने गरी संवाद गर्नुपर्छ। त्यसरी कुरा गर्दा अर्को पक्षले पनि आफ्नो धारणा बनाउन सहजता महसुस गर्न सक्छ,' प्रधानमन्त्री ओलीले भने।
उनले राष्ट्रिय स्वार्थलाई तिलाञ्जलि दिएर सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित नभएको र सानो देश हौं भन्ने हिनताभाव पाल्नुपर्ने आवश्यकता नरहेको बताए। प्रधानमन्त्री ओलीले राष्ट्रिय हितभन्दा सत्ता स्वार्थ र स-साना कुराहरूलाई महत्त्व दिने प्रवृत्ति गलत भएको उल्लेख गर्दै नेपालले आर्थिक, सांस्कृतिक र कूटनीतिक हितलाई ध्यान दिएर विश्वसनीय र जिम्मेवाररूपमा आफूलाई प्रस्तुत गर्ने बताए।
प्रधानमन्त्री ओलीले संसद्मा हरेक विषयमा विस्तृत अध्ययन र तयारीका साथ प्रस्तुत हुन र संसदलाई जिउँदो जाग्दो बनाउन सांसदहरूलाई सुझाव दिए। कार्यक्रममा विश्व व्यवस्थामा नेपालको परराष्ट्र नीति, बदँलिदो भू-राजनीतिक परिवेश, जलवायु राजनीति र कूटनीतिजस्ता विषयमा परराष्ट्र मामिला विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
