दुई चलचित्र पुरस्कृत
काठमाडौं : नेपाली चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणका लागि स्थापित नेपाल चलचित्र विकास बोर्डले आफ्नो १८औं वार्षिकोत्सव मनाएको छ । नेपाली चलचित्र क्षेत्रलाई स्वयत्तता दिँदै २०५७ सालमा सूचना तथा सञ्चार मन्त्रालय मातहत रहने गरी बोर्ड स्थापना भएको थियो ।
बोर्डले वार्षिकोत्सव समारोहमा भावी कार्ययोजना प्रस्तुत गरेको छ । नेपाली चलचित्र क्षेत्रको बृहत्तर हितका लागि बक्स अफिस प्रणालीलाई आर्थिक वर्ष २०७५÷७६ भित्रै लागू गरी सक्ने लक्ष्य बोर्डले राखेको छ ।
यस्तै राष्ट्रिय चलचित्र विकास नीति लागू हुन नसक्दा चलचित्र क्षेत्रले सोचेजस्तो उपलब्धि प्राप्त गर्न सकेको छैन । यही आर्थिक वर्षभित्र राष्ट्रिय चलचित्र विकास नीति लागू गर्ने बोर्डको तयारी छ । नेपालको पहिलो चलचित्र आमा र पहिलो रंगीन चलचित्र कुमारीलाई डिजिटलाइजेसन गरेसँगै पुनः प्रदर्शन गर्ने र तत्कालीन शाही नेपाल चलचित्र संस्थानबाट निर्माण भएका १२ चलचित्रलाई महोत्सवमा प्रदर्शन गर्ने योजना बोर्डले अघि सारेको छ । यस्तै नेपाललाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीसँगै काठमाडौं आपसापकै क्षेत्रमा एउटा सुविधा सम्पन्न सुटिङ स्टुडियो निर्माण गर्ने लक्ष्य बोर्डले राखेको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच दुईवटा विशेष चलचित्रलाई बोर्डले पुरस्कृत गरेको छ । शिवम् अधिकारी निर्देशित पञ्चायत र घनश्याम लामिछानेद्वारा निर्देशित अग्नि दहन रहेका छन् । यी दुई चलचित्रले विदेश प्रदर्शनका लागि सबटाइटलिङ गर्न दुई लाख रुपैयाँ पाउनेछन् ।