मजदुरले काम छाडेपछि हुलाकी सडक अन्योलमा

मजदुरले काम छाडेपछि हुलाकी सडक अन्योलमा

वीरगन्ज : मजदुर र कर्मचारी असुरक्षाको कारण देखाउँदै काम छाडेर हिँडेपछि पर्सामा निर्माणाधिन हुलाकी सडकको निर्माण कार्य अन्योलमा परेको छ।

 कमसल निर्माण सामाग्री प्रयोग गरिएको भन्दै पर्साको ठोरी गाउँपालिका ४ विजयबस्तीका स्थानीयले विरोध गरेपछि गत शनिबारदेखि रोकिएको हुलाकी सडकको काम शुक्रबारदेखि सुचारु गर्ने सहमति भएको थियो। 

बिहीबार साँझ ठोरी ४ गोपीबस्तीका स्थानीय केही युवाले हुलाकी सडक निर्माणको ठेक्का लिएको कालिका बानिया  जेभी कन्स्ट्रक्सन प्रालिका मजदुरलाई आक्रमण गरी गम्भीर घाइते बनाएपछि अन्य चालक, मजदुर र कर्मचारी बिहीबार रातिदेखि नै काम छाडेर हिँडेका छन्। 

बिहीबार साँझ स्थानीयको आक्रमणबाट टिपर चालक मकवानपुरको भिमफेदी गाउँपालिका ३ घर भएका  जब्बरबहादुर लामा गम्भीर घाइते भएका हुन्। घाइते लामालाई विजयबस्ती स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ।

 ठेकेदार कम्पनीका मजदुर र चालक बस्दै आएको क्याम्प पछाडि रहेको एक होटेलमा बिहीबार साँझ खाजा खाइरहेका बेला टिपर चालक लामालाई गोपीबस्तीका केही युवाले घरेलु हातहतियारले आक्रमण गरेका थिए।

आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीले गोपीवस्तीका अमृत बम्जन, मुगा लामा र विक्रम पाख्रिन पक्राउ गरेको छ। पक्राउ परेका तीनाविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए। 

 यसअघि अघिल्लो शुक्रबार पनि विजयबस्तीमा ठेकेदारले कमशल निर्माण सामाग्री प्रयोग गरेको भन्दै स्थानीयले कालिका कन्स्ट्रक्सन प्रालिका प्रोजेक्टर मनोज सिग्देल सवार गाडीका चालक राजकुमार बाइवालाइ हातपात गरेका थिए। 

चालक लामालाई गोपीवस्तीका युवाले घाइते बनाएपछि सडक निर्माणमा कार्यरत इन्जिनियर, ओभरसियर, चालक  र मजदुर काम छाडेर हिँडेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिका  प्रजोक्टर म्यानेजर मनोज सिग्देलले  बताए। 

एक हप्ता देखि काम रोकिदा निर्माण कम्पनीलाइ दैनिक १५ लाख रुपैयाँको आर्थिक नोक्सानी भइरहेको प्रोजेक्टर म्यानेजर सिग्देलले बताए।  शनिबारदेखि विजयबस्तीका स्थानीयले काम रोकेपछि बिहीबार भारतीय कन्सल्टेण्ट कम्पनीका  इन्जिनियर महम्मद अतुल्लाहको नेतृत्वमा आएको प्राविधिक टोलीले निर्माणाधिन हुलाकी सडकको वस्तुगत अवस्था बारे स्थलगत जानकारी लिएको थियो।

सडकको निरीक्षण गरेपछि भारतीय इन्जिनियर अतुल्लाहले स्थानीयको माग बमोजिम सडकमा माटो फिलिङ्गको मात्रा वृद्धि गरी सडकको उचाई बढाउन र कल्भर्टको पुनःनिर्माणका लागि फेरि  सर्भे गरेर काम गर्न सकिने बताएपछि विजयबस्तीका स्थानीय शुक्रबारदेखि काम सुरु गर्न सहमत भएका थिए। काम सुरु गर्ने सहमति भएपनि बिहीबार साँझ चालकमाथि आक्रमण भएपछि काम अन्योलमा परेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बिहीबार साँझ भएको घटनाका बारेमा आफूले मातहतका प्रहरी मार्फत जानकारी लिने बताए।  उनले सडक निर्माणमा खटिने ठेकेदार कम्पनीका मजदुर, कर्मचारी र चालकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताए।  पर्साको जीराभवानी गाउँपालिकाको सेढवास्थित चमरी टोलदेखि ठोरी गाँउपालिकाकाको चौतारसम्म ३० किलोमिटर हुलाकी सडक निर्माणको ठेक्का कालिका कन्ट्रक्सनले एक अर्ब  दुई करोड ९६ लाख रुपैयाँमा स्वीकार गरेको छ। निर्माण सुरु भएको ३० महिनाभित्र काम  सक्ने सम्झौता छ।
  
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.