मौन अवस्थाको स्वाद
ईपू ६०१ तिर चीनमा लाओत्सुनामक एक रहस्यमय दार्शनिक भए। सरल जीवन बाँच्नु उनको दर्शनको सार थियो। उनको सत्संग हुन्थ्यो, मौन। उनका शिष्यहरू चुपचाप उनको नजिकै बस्थे। आफ्नो मस्तिष्कमा आउने विचारलाई हेरेर बस्दाबस्दै मौन अवस्था निरन्तर ग्रहण गर्न सक्ने बन्थे। मौनमा लामो समय टिक्न सक्ने भएपछि शिष्यमा बोध परिपक्व हुन्थ्यो र चुपचाप उठेर जान्थ्यो।
सत्यको अनुभवलाई शब्दमा लेख्न सकिँदैन भन्थे लाओत्सु। भन्न र लेख्न सकिने कुरा सत्य होइन भन्थे। त्यसैले सत्यका बारेमा भन्नु र लेख्नु बेकार मान्थे। ८० वर्षको उमेरमा उनी हल्लाभन्दा टाढा एकान्तमा मर्ने इच्छाले शिष्यहरूबाट बिदा मागेर एक्लै हिमालतिर लागे। अर्को राज्यमा छिर्ने बेलामा एक शिष्यसँग उनको भेट भयो। शिष्यले उनी गएपछि आफूहरूको मार्गनिर्देश कसले गर्छ ? त्यसैले, केही लिखित निर्देशन दिएर जानुस् भनेर आग्रह गर्यो। सुरmमा त लाओत्सुले मानेनन् तर शिष्यले धेरै कर गरेपछि तयार भए।
उनले तीन दिन लगाएर लेखे। एउटा सानो तर सुन्दर किताब तयार भयो, ‘ताओ ते चिङ’। यस पुस्तकमा ताओ धर्मका बारेमा ८१ वटा छोटा कवितात्मक सूत्र छन्। प्रत्येक रचना पढ्दा एकछिन मस्तिष्क शून्य बन्छ।
उनको शिक्षाले केही पाउनका लागि चलेको मान्यताविपरीत गर्ने शिक्षा दिन्छ। हुन पनि सीधा तरिका अपनाउँदा प्राप्त हुने भए सबै मानिस आनन्दमा डुबिरहेका हुने थिए। निरन्तर आनन्दको अवस्थामा रहने मानिस यति थोरै हुने थिएनन्।
आर मानन्धरद्वारा लिखित पुस्तक ‘क्षितिजको स्पर्श’ मा पनि यस्तै खालका छोटा मीठा कवितात्मक दर्शन छन्। उनका रचना पढ्दा उनी लाओत्सुको ताओ–ते–चिङबाट प्रभावित हुन् कि जस्तो लाग्छ। हुन त ताओ दर्शन र बौद्ध दर्शनमा धेरै समानता छ। ताओवादकै पृष्ठभूमिले गर्दा चीनमा बौद्ध दर्शन सहजै स्वीकारियो भनिन्छ। धेरै चिनियाँहरूले ताओ र बुद्ध धर्म दुवैलाई समान रूपले हेर्ने गरेका छन्। ‘क्षितिजको स्पर्श’ का रचनाभित्र अझै गहिरोसँग छिर्ने हो भने बौद्ध दर्शनबाट प्रभावित छ जस्तो पनि लाग्छ। पुस्तकका कतिपय रचना पढ्दा त धम्मपद नै पढेजस्तो अनुभव हुन्छ।
यस पुस्तकको एउटा छुट्टै विशेषता पनि छ। यसका हरेक रचनाले उल्लेख गरिएका शब्दभन्दा टाढा लिएर जान्छन्, कुनै आनन्दको स्रोतमा। पढ्दै गर्दा मस्तिष्क शब्दहरू छिचोलेर टाढा पुगिसकेको हुन्छ, कुनै शून्यतामा। एउटा शीर्षकको रचना पढेपछि केही समय शून्यता छाउँछ। केही समयका लागि विचारमा अन्तराल उत्पन्न हुन्छ। शून्यताबाट फर्किएपछि अर्को रचना बल्ल पढ्न सकिन्छ। त्यसैले भन्न सकिन्छ, यस पुस्तकका रचना चिन्तन गर्नका निम्ति होइनन्, शान्तिको अनुभव गर्नका निम्ति हुन्।
सबै सद्गुरm र अध्यात्मको निचोड निरन्तर जागृत अवस्थामा रहनु हो। कसैले यसलाई साक्षीभाव भनेका छन् भने कसैले जागृत अवस्था, चेतन अवस्था, वर्तमान बोध आदि। यस विषयमा एउटा सुन्दर उदाहरण छ–
एकपटक बुद्ध आफ्ना शिष्यहरूसँगै भिक्षाटनका लागि जाँदै थिए। भिक्षुहरू टाउको निहुराएर हिँड्थे। बोध टुट्न नदिने उनीहरूको निरन्तर प्रयास हुन्थ्यो। त्यस दिन भिक्षाटनका लागि जाँदै गर्दा बुद्धले आफ्नो सबैभन्दा नजिकको शिष्य आनन्दलाई बोधबाट भड्किएकोमा गाली गरे। आनन्द त्यसबेला बुद्ध यदि राजा भइदिएका भए के हुन्थ्यो होला भनेर सोच्दै थिए। यस्तो सोच्दै गर्दा उनको होस अवस्था टुटेको थियो। उच्चावस्थामा पुगेका साधुसन्त हरेक समय जागरुक अवस्थामा रहन्छन् र उनीहरूले जसरी शिक्षा दिए पनि निचोड जागरुकता नै हुन्छ। अमानन्धरको ‘क्षितिजको स्पर्श’ का रचनाले पनि केही समयका लागि जागरणको अवस्थामा पुर्याइदिन्छन्।
पुस्तकमा न कुनै पात्र छ, न कुनै कथा। पात्र र कथा हुन्थे भने पढ्दै गर्दा कुनै काल्पनिक दृश्य आउँथ्यो र कल्पनामा बगिन्थ्यो। पात्र या कथा यस्तो वा उस्तो भइदिएको भए हुन्थ्यो भन्ने लाग्थ्यो। यसको भाषाशैली खलिल जिब्रानको ‘द प्रोफेट’ र नित्सेको ‘डस स्पेक जरथुस्ट्र’ को छाप भेटिन्छ। पद्यात्मक गद्य वा गद्यात्मक पद्य भन्न सकिने अन्तरविधात्मक नौलो शैलीमा रचित आकारमा अत्यन्त छोटा–छोटा ९९ रचनाहरू शक्तिशाली अभिव्यक्तिले भरिला छन्। उदाहरणार्थ कृतिको मूल रचना प्रस्तुत छ—
क्षितिज जताबाट हेर, त्यति नै टाढा।
नियाल्दै जान्छु, ऊ र ममा रत्ति फरक छैन।
जोडिएको देखिने जुन भ्रम हो,
त्यो नै यहाँको वास्तविकता।
क्षितिजसँग जति नजिकिन्छु, उति नै प्रष्टिन्छ—
म स्वयम् संयोजनको भ्रम।
क्षितिजको अवास्तविकता बुझेर पनि
मैले आफ्नो वास्तविकता किन बुझ्न सकिनँ ?
मानन्धरका रचना मौनावस्थामा फलेका शब्दजस्ता लाग्छन्। त्यसैले तिनले मौनावस्थाकै स्वाद दिन्छन्। उनले आफ्नो ‘मौनको बोली’ शीर्षकको रचनामा भनेका पनि छन्–
नबोल्नु मौन होइन। मौनतामा पलाउँछ– सारपूर्ण शब्दहरू।
शास्त्र के ? मौनतामा फलेका शब्दहरू।
चर्को स्वर एकैछिन गुञ्जिन्छ, अनि बिलाउँछ। मौनबाट निसृत कलिलो आवाज ब्रह्माण्डैभरि फैलिन्छ, फैलिरहन्छ। कानै चाहिँदैन, त्यो आवाज सहजै हृदयमा पस्छ। बोधिज्ञान प्राप्त भएदेखिन् परिनिर्वाणतकै बुद्ध मौन। मौनताको बोली बोल्ने भएकैले उनको प्रत्येक वचन शास्त्र भयो।
शान्त मौन नै शब्द हो, शब्द नै मौन।
यी छोटो संरचनामा लेखिएका रचनाको अर्को विषेशता इन्टरनेट माध्यम सुहाउँदो हुनु पनि हो। रचनाहरू मोबाइलको एउटा स्क्रिनमा पढ्न भ्याउने खालका छन्। केही रचनाका श्रव्यदृष्य साहित्यकार श्रीओम श्रेष्ठ रोदनको गम्भीर आवाजमा तयार भई फेसबुक र युट्युबमा पनि उपलब्ध छन्। जनसामान्यमा साहित्यलाई पुर्याउने यो नौलो प्रयोग पनि हो।
पुस्तक राम्रो हुँदाहुँदै पनि यसमा केही सम्पादन कमजोरीहरू छन्। सायद लेखकले आफ्नो लेखन अरूलाई सम्पादन गर्न दिएनन्। दर्शनमा आधारित रहेर लेखिएको हुनाले यो फरक खालको कृति पनि हो। दर्शनमा रुचि राख्ने होस् वा साहित्यमा रमाउन खोज्ने होस्, दुवै थरीका पाठकले यसलाई विशेष मन पराउन सक्छन्। समग्रमा पुस्तक संग्रहणीय छ।