हुलाकी सडकमा झमेला

हुलाकी सडकमा झमेला

वीरगन्ज : मजदुर र कर्मचारी असुरक्षाको कारण देखाउँदै काम छाडेर हिँडेपछि पर्सामा हुलाकी सडक निर्माण अन्योलमा परेको छ ।

कमसल निर्माण सामग्री प्रयोग गरिएको भन्दै ठोरी गाउँपालिका–४ विजयबस्तीका स्थानीयले विरोध गरेपछि शनिबार रोकिएको सडक निर्माण शुक्रबारदेखि नियमित गर्ने सहमति भएको थियो । तर, ठोरी–४ गोपीबस्तीका युवाले बिहीबार बेलुका आक्रमण गरी घाइते बनाएपछि कालिका बानियाँ जेभी कन्स्ट्रक्सनका मजदुरसहित काम छाडेर हिँडेका हुन् । स्थानीयको आक्रमणबाट टिपर चालक मकवानपुर भीमफेदी गाउँपालिका–३ घर भएका जब्बरबहादुर लामा घाइते भएका छन् । विजयबस्ती स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि लामालाई वीरगन्जको नेसनल मेडिकल कलेजमा भर्ना गरिएको छ ।

ठेकेदार कम्पनीका मजदुर र चालक बस्दै आएको क्याम्प पछाडि रहेको एक होटलमा बिहीबार बेलुकी लामालाई स्थानीय युवाले फलामको रड प्रहार गरेको जनाइएको छ । आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीले स्थानीय अमृत बम्जन, मुगा लामा र विक्रम पाख्रिनलाई पक्राउ गरेको छ । तीनै जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

अघिल्लो शुक्रबार विजयबस्तीवासीले कमसल निर्माण सामग्री प्रयोग गरिएको भन्दै कम्पनीका प्रोजेक्ट म्यानेजर मनोज सिग्देल सवार गाडीका चालक राजकुमार बाइवामाथि हातपात गरेका थिए । टिपर चालकलाई गोपीबस्तीका युवाले आक्रमण गरी घाइते बनाएपछि इन्जिनियर, ओभरसियर, चालक र मजदुर काम छाडेर हिँडेको सिग्देलले बताए । उनका अनुसार १५ टिपर र एउटा जेसीभी लिएर चालक हेटौंडा फर्किएकाले तत्काल काम नियमित गर्ने सम्भावना छैन । ‘मजदुरमाथि पटक–पटक आक्रमण हुन थालेपछि असुरक्षित बनेको भन्दै उनीहरू काम नै छाडेर हिँडेका छन्’, उनले भने, ‘मैले सम्झाइबुझाइ गर्दा पनि उनीहरूले मानेनन् । जबर्जस्ती काममा लगाउन सक्ने अवस्था छैन ।’ गोपीबस्तीस्थित क्याम्पमा आफू र एक जना भान्से मात्र रहेको उनले सुनाए ।

उनका अनुसार एक सातादेखि काम रोकिँदा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँ नोक्सानी भइरहेको छ । ‘एक दिन काम रोकिँदा झन्डै १५ लाखको घाटा हुन्छ’, उनले भने, ‘काम नभए पनि मजदुर, कर्मचारीलाई तलब, भत्ता दिनै पर्छ, रासनमा खर्च लाग्छ, अन्यत्रबाट ल्याइएका सवारी साधन र उपकरणको भाडा तिर्नै पर्छ ।’

विजयबस्तीका स्थानीयले गत शनिबारदेखि काम रोकेका थिए । बिहीबार भारतीय कन्सल्टेन्ट कम्पनीका इन्जिनियर महम्मद अतुल्लाह नेतृत्वको प्राविधिक टोलीले हुलाकी सडकको अवलोकन गरेको थियो । अतुल्लाहले स्थानीयको मागबमोजिम सडकमा माटोको मात्रा वृद्धि गरी उचाइ बढाउन र कल्भर्टको पुनर्निर्माणका लागि फेरि सर्भे गरी काम गर्न सकिने बताएका थिए । त्यसपछि शुक्रबारदेखि काम गर्न दिन स्थानीय सहमत भएका थिए ।

  • आक्रमणपछि काम छाडेर हिँडे मजदुर
  • तीन आक्रमणकारीविरुद्ध सार्वजनिक अपराध मुद्दा
  • काम रोकिँदा कम्पनीलाई दैनिक १५ लाख घाटा
  • पर्साको ठोरी गाउँमा एक सातादेखि काम अवरुद्ध

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बिहीबार बेलुकी भएको घटनाबारे प्रहरीमार्फत जानकारी लिने बताए । सडक निर्माणमा खटिने ठेकेदार कम्पनीका मजदुर, कर्मचारी र चालकको सुरक्षामा कुनै कसर बाँकी नराख्ने उनको भनाइ छ । ‘सुरक्षा नपाएकै कारणले काम रोक्ने अवस्था आउँदैन’, उनले भने, ‘हुलाकी सडकको काममा अवरोध नहोस् भनेर सुरक्षा निकाय जुन बेला पनि जस्तोसुकै सुरक्षा दिन तयार छ ।’

जिराभवानी गाउँपालिकाको सेढवास्थित चमरी टोलबाट ठोरी गाउँपालिकाको चौतारसम्म ३ किलोमिटर सडकको ठेक्का कालिका बानियाँले १ अर्ब २ करोड ९६ लाख रुपैयाँमा सकारेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.