२० वर्षमा ११ सय बाढीपहिरो

२० वर्षमा ११ सय बाढीपहिरो

फुङलिङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका–६ खेवाङका तारावीर विक र कमल गौतमको परिवारको बास जेठ अन्तिम सातादेखि घरमा छैन। दिउँसो खेतमा गएर काम गर्ने उनीहरू बेलुका छिमेकीका घरमा बास बस्छन्। स्थानीय पूर्णबहादुर, मानबहादुर र विष्णु लिम्बूले त घरै छाडिसके। घरछेउ पहिरो गएको र बाँकी जमिन पनि चिरा–चिरा परेपछि घर छाड्न बाध्य भएको पूर्णबहादुरको भनाइ छ।

‘पहिरोले आधाभन्दा बढी खेत बगायो’, उनले भने, ‘बचेको घरसहितको भाग पनि कुन बेला बग्छ थाहा छैन।’

वडाध्यक्ष नयनाथ तिवारीका अनुसार सडक निर्माणका क्रममा पहिरो जाँदा गत वर्ष खेवाङकै सात घर दलित परिवार विस्थापित भएका थिए। विस्थापितलाई गाउँपालिका र प्रशासन कार्यालयबाट राहत उपलब्ध गराइएको उनको भनाइ छ। उनीहरू सबै अर्काकै शरणमा बस्न बाध्य छन्।

वर्षायाम सुरु भएसँगै मिक्वाखोला लिवाङका तिलविक्रम तिवारीलाई निद्रा पर्दैन। पहिरोमा बगेका आफन्तको पीडा भुल्न नसकेका उनी घर छाडेर जाने ठाउँ नभएपछि पहिरोले बचेको थोरै ठाउँमा जोखिम मोलेर बसिरहेका छन्। उनले आमा र छोराछोरीलाई फुङलिङ बजारमा राखेका छन्। ‘यहाँबाहेक अन्त कतै एउटा सुर्को बारीसम्म छैन’, उनले भने, ‘भगवान् भरोसा जे होला भनेर बस्न बाध्य छु।’

२०७२ जेठ २७ गते राति लिवाङसहित पाँच गाउँमा पहिरो जाँदा ५९ जनाको मृत्यु र ७२ परिवार विस्थापित भएका थिए। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन(नास्ट)ले दुई वर्षअघि गरेको अध्ययनले पनि पहिरोको उच्च जोखिम हुँदाहुँदै पनि ८० प्रतिशत स्थानीय त्यहीं बस्दै आएको जनाएको थियो। खेवाङ र लिवाङ मात्र नभई जिल्लाका अधिकांश गाउँ पहिरोको जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार फुङलिङ नगरपालिकासहित सिरिजंघा, सिदिङवा, पाथीभरा–याङवरक, फक्ताङलुङ, मिक्वाखोला र आठराई–त्रिवेणी गाउँपालिकाका अधिकांश वडा पहिरोको जोखिममा परेका हुन्।

२० वर्षमा १ हजार १ सय ५ वटा बाढीपहिरोका घटना भएको समितिले जनाएको छ। तीन वर्षयता मात्रै प्राकृतिक प्रकोपबाट ४६ जनाको मृत्यु र २० बेपत्ता भएका छन्। करोडौंको क्षति भएको छ। रेडक्रसको तथ्यांकअनुसार हाङदेवाको हिरेवा, चिनेवा र तमोर नदीछेउको पहिरो चर्चित छन्। यस्तै, नाङखोल्याङको खोक्से, लिङखिमको थिवा, सिंवा, फुरुम्बु, सिनाम, आङ्खोप, निघुरादिन, फुलबारीको थाक्मारे, याम्फुदिन, तापेथोक र थुम्बेदिनको पहिरोलाई नियमित बगिरहने ठूला पहिरोका रूपमा लिइन्छन्। सावादिन, लिवाङ, इखाबु, तापेथोक, लेलेप, थुकिमालगायत गाउँमा नियमित पहिरो जान्छ। पछिल्ला वर्षमा भने प्रत्येक टोलमा अन्धाधुन्द खनिएका सडक पहिरोको कारक बन्दै गएको अधिकारीको भनाइ छ।

पहिरोको जोखिम थाहा पाए पनि सुरक्षित स्थानमा सर्ने अवस्था नहुँदा बर्सेनि धेरैको ज्यान जाने गरेको छ। 

पहिरोको जोखिम छ भन्ने थाहा पाए पनि सुरक्षित स्थानमा सर्ने अवस्था नहुँदा बर्सेनि धेरैको ज्यान जाने गरेको छ। ४३ परिवार विस्थापित गराएको नाङखोल्याङ पहिरोले हजार रोपनीभन्दा बढी बगाएको र १० परिवार अहिले पनि जोखिममा रहेको उल्लेख छ। २०४६ साल असोजमा सिरिजंघा गाउँपालिका–१ सिनाममा पहिरो जाँदा २८ जनाको ज्यान गएको थियो। बर्खामा अझै त्रसित भएर बस्ने गरेको सिनामका भीम थेवे बताउँछन्। चीन र भारतसँग सिमा जोडिएका ओलाङचुङगोला र याम्फुदिनका बस्ती पनि पहिरोको जोखिममा छन्।

समितिले यो वर्ष विपद् प्रतिकार्य योजना बनाएको छ। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार विपदघि र पछिको उद्धार तथा सहयोगका लागि सबै तयारी गरिएको छ। विपद्का समयमा प्रयोगका लागि सबै स्थानीय तहमा सुरक्षित स्थानको पहिचान गर्ने, चेतनामूलक कार्यक्रम गर्ने र केही भए तुरुन्तै पुग्ने गरी जनशक्ति तयारी अवस्थामा राखिएको उनको भनाइ छ। सय जनालाई तीन दिन पुग्ने खाद्य सामग्री मौज्दात गरिएको, तत्काल खटाउन सक्ने गरी २ सय ४७ जनशक्ति र ४ लाखको आकस्मिक कोषसमेत खडा गरिएको छ।

०००

असार पहलो साता सिरिजंघा–७ खेवाङका मानबहादुर लिम्बूको घरमुनि गएको पहिरो। सौजन्य ः नयनाथ तिवारी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.