रान्थाम्बोरेकी महारानी ‘मछ्ली’

रान्थाम्बोरेकी महारानी ‘मछ्ली’

१८ अगस्ट २०१६, ‘मछ्लीको निधनले भारत शोकमग्न छ,’ गार्जियनदेखि टेलिग्रामले यस्तै लेखेको थियो। मछ्ली कुनै बलिउडकी सुपरस्टार थिइनन्। उनी गान्धी वा कलामजस्तो राष्ट्रिय व्यक्तित्व पनि थिइनन्। न त बेजोड गायिका लता वा राष्ट्रिय विभूति झाँसीकी रानी नै थिइन्। मछ्ली त सिर्फ एउटा बघिनी थिइन्, रोयल बंगाल टाइगर्स प्रजातिकी। तर उनलाई मात्र एउटी बघिनीको रूपमा लिनु अन्याय हुनेछ। किनकि उनको अन्तिम संसारले पनि यही कुरा उजागर गरेको थियो। जब १७ अगस्ट २०१६ मा मछ्लीको निधन भयो, रान्थाम्बोरे राष्ट्रिय निकुञ्जमा त्यहाँका कर्मचारी, वन्यजन्तुविद् र मछ्लीका फ्यानहरू भेला भए। सेतो कात्रोमा फूल अविरसहित मछ्लीलाई बेरियो र हिन्दु संसारसहित उनलाई दागवत्ती दिइयो।

मछ्ली अहिलेसम्मकै सबैभन्दा लोकप्रिय पाटे बाघ थिइन्। सबैभन्दा अधिक लेखिएकी, फोटो र डकुमेन्ट्री खिचिएकी विश्वप्रसिद्ध बघिनी थिइन्। युनिभर्सिटी अफ टेक्सासकी मांसहारी अनुसन्धानकर्ता काली डबलडे भन्छिन्, ‘म एउटा बिग क्याट प्रेमीका रूपमा हुर्किए। मछ्लीको डकुमेन्ट्रीहरू अझै पनि मेरो दिमागमा ताजै छन्।’ यसरी मछ्लीको प्रसिद्धी युरोपदेखि अमेरिकासम्म पुगेको थियो। विश्वभरका ‘बिग क्याट’ प्रेमीहरू मछ्लीका फ्यान थिए।

राजस्थानको रान्थाम्बोरे राष्ट्रिय निकुञ्जकी मछ्ली एकदमै क्यामरा फ्रेन्डली थिइन्। पर्यटकहरू मज्जाले उनको फोटो र भिडियो लिन पाउँथे। तिनी खुल्ला घमाइलो स्थानमा पनि आफ्ना क्रियाकलापहरू निर्बाध गर्थिन्। मानिससँग उनले लुक्नु पर्दैनथियो। उनले क्यामराको सामुन्ने नै आफूभन्दा दुई गुणा ठूलो १४ फिट लामो मुगर गोहीलाई मारिदिएकी थिइन्। क्यामराकै अगाडि आफ्ना डमरुहरूको रक्षार्थ थुप्रै पटक आफूभन्दा बलिया र ठूला बाघहरूसँग लडेकी थिइन्। यसैकारण पनि उनका बारेमा राम्रा डकुमेन्ट्री बन्न सके।

मछ्ली हेर्न आउने आन्तरिक र बाह्य पर्यटकहरूबाट मात्र रान्थमबोरे राष्ट्रिय निकुञ्जले प्रतिवर्ष १० मिलियन डलर त कर मात्र असुल्थ्यो। यस अर्थमा मछ्लीको आम्दानी कुनै ठूला मानव सेलिब्रेटीभन्दा कम थिएन। यत्रो आम्दानीमा पुर्‍याएको उल्लेखनीय योगदानको लागि ट्राभल अपरेटर फर टाइगर भन्ने संस्थाले मछ्लीलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड नै प्रदान गरेको थियो। यो अवार्ड प्राप्त गर्ने उनी एकमात्र भारतीय जनावर हुन्।

उनले पैसा मात्र कुम्ल्याइनन् अहिलेसम्मको सबैभन्दा धेरै डमरु हुर्काउने बघिनी पनि मछ्ली नै थिइन्। इन्डियाको आर्थिक र पर्यावरणीय क्षेत्रमा मछ्लीले पुर्‍याएको योगदानको कदर गर्दै सन् २०१३ मा त त्यहाँको सरकारले मछ्लीको फोटो हुलाक टिकटमा प्रयोग गरेको थियो। यी सबैबाट छर्लंग हुन्छ कि मछ्ली कति ठूली सेलिबे्रटी थिइन्। के मछ्लीको साटो अरू कुनै बाघ/बघिनीलाई मिडियाले हिट बनाउँदा बन्दैन थिए होलान् ? प्रश्न गर्न सकिन्छ। तर अहँ सकिन्न थियो। किनकि मछ्ली खास थिइन्, विशेष थिइन्। उनी आम बाघ–बघिनीभन्दा धेरै कुरामा अलग थिइन्।

मछ्लीको खास अर्थ हिन्दी भाषामा माछा भन्ने हुन्छ। मछ्लीले यो नाम आफ्नी आमा मछ्ली प्रथमबाट पाएकी हुन्। किनकि मछ्लीको बायाँ गालामा तीनवटा माछा पल्टेको चिन्न देख्न सकिन्छ। मछ्लीकी आमा मछ्ली प्रथम पनि लोकप्रिय नै थिइन् तर मछ्ली जति होइन। साँच्चै भन्नुपर्दा मछ्ली प्रथम राजा फिलिमझै थिइन् भने मछ्ली अलेकजेन्डर त ग्रेट जत्तिकै थिइन्।

सन् १९९६ मे मा रान्थाम्बोरे राष्ट्रिय निकुञ्जमा जन्मिएकी मछ्लीलाई ‘क्विन मदर्स अफ टाइगर्स’ ‘रान्थाम्बोरेकी महारानी’, ‘लेडी अफ द लेक’ तथा ‘व्रmोकोडायल किलर’ जस्ता थुप्रै उपमा दिइएको छ।

जन्मिँदै मछ्ली विशेष थिइन्। तिनी आफ्ना तिम्ल्याहा भाइ बैनीभन्दा सशक्त थिइन्। दुई वर्षमै तिनले एक्लै सिकार गर्न थालिसकेकी थिइन्। त्यसपछि त रान्थाम्बोरे पोखरी आसपासको तिनको इलाकाबाट आमा र भाइबहिनीहरूलाई लखेटिदिइन्। यो पनि एउटा अस्वाभाविक घटना थियो, किनकि वृद्ध आमालाई मात्र छोरा–छोरीहरूले आफ्नो इलाकाबाट विस्थापित गर्न सक्छन्। तर मछ्लीले त जवान आमालाई विस्थापन गरिदिएकी थिइन्। अब पोखरी आसपासको एक मात्र महारानी मछ्ली भएकी थिइन्। त्यसैले उनलाई ‘लेडी अफ द लेक’को उपमा दिइएको थियो।

बाघ सिंहजस्तो समूहमा बस्दैनन्। हुर्किसकेका छोराछोरी दुवैलाई आमाले त्यस इलाकाबाट लखेट्छन्। तिनले आफ्नै क्षेत्र खोज्नुपर्छ। संसर्ग कालमा मात्र भाले–पोथीको भेट हुन्छ।

सन् २००३ मा जब मछ्ली सात वर्षकी थिइन्, तिनले अदम्य साहस देखाइन्। यसपटक उनको शिकार आफूभन्दा दुई गुणा ठूलो १४ फिट लामो मुगर प्रजातिको गोही थियो। बाघले प्रायः मुगर प्रजातिको वयस्क गोहीलाई मार्न सक्दैनन्। उनले गोहीसँग लडिन् र अन्ततः मारिदिइन्। दक्षिण अमेरिकी बाघ जागुयरको मनपर्ने खाना भनेकै त्यहाँको गोही हो। त्यसैले जागयरलाई ‘क्रोकोडायल हन्टर’ त भनिन्छ। तर तिनले सिकार गर्ने दक्षिण अमेरिकी गोहीको प्रजाति सानो हुन्छ। तिनलाई साइमन भनिन्छ, क्रोकोडायल भनिँदैन।

मछ्लीको आम्दानी कुनै ठूला मानव सेलिब्रेटीभन्दा कम थिएन। आम्दानीमा पुर्‍याएको उल्लेखनीय योगदानको लागि उनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड नै प्रदान गरिएको थियो। यो अवार्ड प्राप्त गर्ने उनी एकमात्र भारतीय जनावर हुन्।

जे होस्, अकल्पनीय काम गर्दै मछ्लीले एकपटक सबैलाई चकित पारिदिइन्। तर केही हदसम्म उनको यो लडाइँ फलदायी भने भएन। गोहीसँग मल्लयुद्धमा तिनले दुवै दाह्रा गुमाइन्। जे होस् उनले फेरी अर्काे उपमा पाइन्, ‘क्रोकोडायल किलर’। दाह्रा गुमाए पनि उनी पहिला जत्तिकै सशक्त र जुझारु थिइन्। दारा बिना नै तिनले पछिसम्म पनि डमरुहरू हुर्काइरहिन्। सिंहहरूलगायत सबै ‘क्याट’हरूले डमरु/छाउरा मारिदिन्छन्। किनकि छाउरा मारिदिएपछि पोथीले भाले खोज्छन् र तिनले संसर्ग गर्न पाउँछन्। तर दाराविहीन मछ्लीले भालेहरूसँग पनि डटेर सामना गरिन् र एउटा पनि डमरु मर्न दिइनन्। यो पनि एउटा अकल्पनीय उपलब्धि थियो। साधरणतया एउटा बघिनीले आफ्नो जीवनमा ४ देखि ६ वटा मात्र डमरु हुर्काउने तथ्यांकले देखाउँछ। आउट अफ द ब्लु, मछ्लीले १९९९ देखि २००७ सम्मको आठ वर्षको अवधिभर ११ डमरु (चार भाले र सात पोथी) जन्माएकी थिइन् र सबैलाई सकुशल हुर्काएकी थिइन्।

सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने नेपाल तथा भारतजस्ता देशहरूले महŒवाकांक्षी घोषणा गरेका थिए। साँच्चै भन्नुपर्दा यो अभियानमा वास्तविक रूपमा प्रत्यक्ष संलग्न हुँदै उल्लेख्य योगदान दिने एकको नाम लिनु पर्दा मछ्ली नै थिइन्।

तथ्यांकले देखाउँछ सन् २००४ मा रान्थाम्बोरे राष्ट्रिय निकुञ्जमा कुल बाघको संख्या १५ थियो तर यो संख्या १० वर्षमा अर्थात् २०१४ मा बढेर ५० पुगेको थियो। यी ५० बाघमध्ये आधाभन्दा धेरै त मछ्लीकै सन्तति थिए। यसैले पनि यिनलाई ‘मदर क्विन अफ टाइगर’ वा ‘रान्थाम्बोरेकी महारानी’ भनिएको हो। त्यतिमात्र होइन, २००८ मा उनका दुई छोरीलाई सारिस्का टाइगर रिजर्भमा सारियो। त्यहाँ पनि यी दिदीबहिनीले बाघको संख्यामा उल्लेख्य वृद्धि गरिदिए। रान्थाम्बोरेको अहिलेको बाघको संख्या पछिल्ला एक सय वर्ष यताकै सबैभन्दा उच्च हो। यिनै योगदानको कारण नै मछ्लीको फोटो भारतीय सरकारले हुलाक टिकटमा प्रयोग गरेको हो।

२०१४ मा मारिएको केन्याको विश्वकै ठूलो हात्ती ‘साताओ’, २०१६ मा मारिएको जिम्बाम्बेको सबैभन्दा भव्य सिंह ‘सेसिल’ तथा चीनले बेलायतलाई १९५८ मा उपहार दिएको ‘चिः चि’ नाम गरेको पाण्डाजस्ता जनावरभन्दा माथिल्लो स्तरको सेलिबे्रटी थिइन्, मछ्ली।

लामो उमेर

साधारणतया बाघ १० देखि १५ वर्ष बाँच्छ। तर मछ्ली २० वर्ष बाँचेकी थिइन्। यो भनेको एउटा मान्छे १२० देखि १२५ वर्ष बाँच्नुजस्तै हो। अहिलेसम्मकै सबैभन्दा लामो उमेर बाँच्ने बाघका रूपमा पनि मछ्लीलाई लिइन्छ। तर जतिसुकै ठूली सेलिबे्रटी भए पनि मछ्लीको वृद्धावस्था भने कम कष्टकर थिएन।

असंख्य पत्रपत्रिका, म्यागजिन, ब्लग, क्यालेन्डरमा मछ्लीका तस्बिर छाएका छन्। उनका बारेमा थुप्रै डकुमेन्ट्री बनेका छन्। मछ्लीकै कारण आज विश्व रोयल बंगाल टाइगरको रहनसहन र प्रवृत्तिप्रति जानकार भएको हो। उनको ‘टाइगर क्विन’ नाम गरेको ५० मिनेट लामो डकुमेन्ट्री अहिले पनि एनिमल प्लानेट र नेसनल जियोग्राफी च्यानलहरूले देखाइरहेका छन्। त्यस्तै सन् २०१२ मै मछ्लीको विशेष सम्मानस्वरूप बीबीसीको ‘न्याचरल वर्ल्ड’ मा ‘क्विन अफ टाइगरः न्याचरल वर्ल्ड स्पेसियल’ भन्ने डकुमेन्ट्री प्रसारण भएको थियो। फलस्वरूप मछ्ली विश्वभर चिरपरिचित भएकी थिइन्।

सन् २०१२ मा आइपुग्दा मछ्ली १५ वर्ष पुगिसकेकी थिइन्। आफ्ना दुवै दारा गुमाएकी यिनी जीर्ण देखिन्थिन्। त्यसो त रान्थाम्बोरेकी यी ‘लेडी अफ द लेक’लाई आफ्नो कान्छी छोरी सुन्दरीले त्यहाँबाट विस्थापित गरिसकेकी थिई। सुन्दरीलाई सात्रा पनि भनिन्छ। आफ्नी एक सेलिब्रेटीको यस्तो हालत देखेपछि विश्वभरका मछ्लीका फ्यानहरूले वन विभागलाई दबाब दिए। उनीहरू सबैको राय यो थियो कि वन विभागले मछ्लीको समुचित प्रबन्ध गर्नुपर्छ। कतिपयले मछ्लीलाई चिडियाखानामा लगेर राख्न पनि सुझाएका थिए। त्यसो गरे तिनले कम्तीमा खान त पाउँथिन्।

तर सरोकारवालाहरूलाई यी जंगलकी महारानीलाई चिडियाखानामा लगेर थुन्ने कुरा चित्त बुझेन। बरु तिनले मछ्लीको प्राकृतिक वातावरणमै खानेकुराको प्रबन्ध गर्ने कुरा सुझाए। अन्ततः विश्वभरिको प्रेम र सद्भाव मछ्लीले पाएको देखेर राजस्थानको वन विभागले आफैं मछ्लीलाई खुवाउने जिम्मा लियो। आखिर मछ्ली त ‘मिलियन डलर लेडी’ पनि त थिइन् नि। अब वन विभागले बाच्छाबाच्छी तथा घरपालुवा जनावरहरू नियमितजसो मछ्ली भएको आसपासमा लगेर बाँधिदिन थाल्यो। फलस्वरूप मछ्लीले नियमित खान पाइन्। तर यो कदम पनि त्यति विवादरहित भने भएन। कसैले त यसलाई मछ्लीकै अपमान गरिएको पनि ठाने।

बाघ विशेषज्ञ के उल्लो कारन्थले त यो कदमलाई प्राकृतिक प्रक्रियाकै विरुद्धमा भएको आरोप पनि लगाए। बाघ प्रकृतिमा रहने हुँदा तिनलाई स्वतन्त्रसँग जन्मन, सिकार गर्न र मर्न दिनुपर्ने उनको तर्क थियो। प्रकृतिको नियमलाई हस्तक्षेप गर्नुहुने थिएन। कारन्थका अनुसार वन विभागले अशक्त हुँदा पनि नियमित खानेकुरा प्रबन्ध गरिदिएकोले नै मछ्ली अस्वाभाविक २० वर्षको उमेरसम्म बाँचेकी थिइन्।

मछ्लीका दाह्रा थिएनन्। त्यसैले वन विभागले ल्याइदिएको सिकारलाई पञ्जाले हिर्काएरै मार्ने गर्थिन्। उनले खाइरहेको दृश्य पर्यटकहरूले सजिलै हेर्न र खिच्न सक्थे।

तर २०१४, जनवरी ९ को दिन १७ वर्षया मछ्ली अचानक गायब भइन्। पार्कको कतै पनि देखिइनन्। दुई दर्जन क्यामरा ट्याप राखियो भने दुई सय जना पार्क कर्मचारी मछ्लीको खोजीमा निस्किए। तिनीहरू हप्तौसम्म पार्कका सब कुना–कुना चाहारे तर अहँ उनी भेटिइनन्। उनका पञ्जाको डोब देखिएका भए पनि आधिकारिक पुष्टि भने भएन। संरक्षण बायोलोजिस्ट धर्मेन्द्र खाँडले द हिन्दुलाई भनेका थिए, ‘मछ्ली जीवनकै अन्त्यतरि पुगिसकेको छ।’

मछ्ली हराएको २६ दिनपछि पार्कका अधिकारीहरूले मछ्लीलाई भेट्टाए। उनी भुतखुरा एरियाको बाक्लो झाडीमा स्वतन्त्रसँग आफ्नो सिकार आफैं गरिरहेकी थिइन्। वास्तवमा यी रान्थाम्बोरेकी महारानीलाई मान्छेले दया गरेर खाना खुवाएको मन परेको थिएन। रान्थाम्बोरे निकुञ्ज प्रमुख राहुल कुमारले मछ्ली भेटिएको जानकारी सार्वजनिक गरेका थिए, ‘बूढो उमेर भए पनि मछ्लीले बाक्लो झाडीमा आफैं सिकार गरिरहेको छ। यो सकारात्मक संकेत हो।’ मछ्ली भेटिएपछि भारतका टाइम्स अफ इन्डियालगायत मुख्यमुख्य पत्रिकाले त्यसलाई आकर्षक समाचार बनाएका थिए। यसरी मछ्ली अझैै दुई वर्ष बाँचिन्।

तर २०१६ मा आइपुग्दा उनी साँच्चिकै जीर्ण भइसकेकी थिइन्। तिनका सबै दाँत झरिसकेका थिए। तिनको एक्लो आँखाको दृष्टि पनि धमिलो भइसकेको थियो। अगस्टमा त तिनी गम्भीर रूपमा थला परिन्। पार्कका रेन्जरलगायत सबैजना मछ्लीको उपचार गर्न हच्किए। किनकि २० वर्षको उमेरमा मछ्लीको हालत त्यस्तो हुन स्वाभाविक थियो। त्यस्तो वृद्ध शरीरमा औषधिको प्रयोगले अरू नकारात्मक असर पुर्‍याउन सक्थ्यो। यिनले अन्तिम सास फेरेर दुःखबाट मुक्त होऊन् भन्ने कामना गर्नुबाहेक अरु केही गर्न सकिने अवस्था थिएन। १८ अगस्ट, २०१६ मा मछ्लीले आफ्नो अन्तिम स्वास फेरिन्। उनलाई उत्कृष्ट अन्त्येष्टि दिइएको थियो।

मछ्लीको वृद्धावस्थाका अन्तिम तीन/चार वर्षलाई वन्यजन्तु फिल्ममेकर एस. नाल्लामुथुले डकुमेन्ट्रीमा कैद गरेका छन्। ‘द वर्ल्ड मस्ट फेमस टाइगर’ नामको यो डकुमेन्ट्रीमा सुन्दरीले मछ्लीलाई विस्थापन गरेकी, मछ्लीले रान्थाम्बोरे पोखरी आसपासको एरियाबाट हट्नुपरेको, मानिसले दिएको आहारामा निर्भर हुनु परेको तथा उनको मृत्यु तथा अन्तिम दाह संस्कारलाई समेटेको छ। वास्तवमा मछ्ली विश्वकै प्यारी बघिनी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.