दुर्घटनामा एकै घरका छसहित ११ जनाको मृत्युले गाउँ नै शोकमा
लिबाङ : मुस्ताङमा भएको टिप्पर दुर्घटनामा रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको छ । एकाघरका ६ जनासहित यहाँका ११ जनाको मृत्यु भएको छ ।
मजदुरीका लागि मुस्ताङ पुगेका छोराछोरीको मृत्युको खबरले मृतकका परिवार, आफन्त र जिल्लाबासी शोकमा डुबेका छन् । उवा पुसबाङकी ६० वर्षीय धनपुरी रोकाको काख रित्तिएको छ । उनका छोराहरु ३३ वर्षीय कमानसिंह, २३ वर्षीय राष्टे, १९ वर्षीय महेश र छोरी कर्मजिताको दुर्घटनामा मृत्यु भएको छ । पतिको पहिलो पत्नीबाट जन्मिएका छोरी जितमाया र जेठो छोरा कुमारकी छोरी सिर्जना रोकाको पनि मृत्यु भएका सोही घटनामा मृत्यु भयो ।
मजदुरीमा मुस्ताङमै रहेका मृतक महेशका दाई रामबहादुर रोकाका अनुसार घटनामा रोल्पाका ११ जनाको मृत्यु भएको छ । ‘घटनास्थलमा काम गरिरहेका सबैजसोको मृत्यु भएको रामबहादुरले जानकारी दिए । ‘मेरै परिवारका ६ जना र बहिनीका पती (ज्वाईं) कोसमेत ज्यान गएको छ ।’, घटनास्थलमै रहेका रामबहादुर रोकाले भने, ‘आफन्तको लास हेर्न नसकेर म पनि अस्थायी क्याम्प फर्किएको छु । हाम्रो परिवारलाई ठूलो क्षति पुगेको छ ।’ रामबहादुर घटना हुनुभन्दा अगाडि सोही सडक खण्ड भन्दा केही पर रहेका थिए । खबर सुनेपछि उनी घटनास्थल पुगेको उनले बताए ।
दिउँसोको खाना खाएर कार्यस्थलमा जाने क्रममा टिप्पर दुर्घटना भएको उनले बताए । ‘खाना खाने अस्थायी क्याम्पदेखि काम गर्ने ठाउँ टाढा भएकाले मजदुरहरु बालुवा बोकेर आइरहेको टिप्परमा चढेर गएका थिए ।’, रामबहादुरले घटना सुनाए, ‘सिंगल रोड थियो । सजिलो ठाउँबाटै टिप्पर पल्टिएको छ ।’ टिप्पर पनि सडक निर्माण गर्ने कम्पनी कै रहेको उनले बताए ।
उवामा रहेका आफन्तलाई रामबहादुरले नै घटनाबारे जानकारी गराएका थिए ।फोनको पहुँचमा नभएका मृतक महेशका आमा धनपुरी र बुबा हित रोकालाई छिमेकीको फोनबाट खबर छोडिएको थियो । घटना सुनेपछि सन्तानविहीन बन्न पुगेकी धनपुरी होसमा छैनन् । वुढ्यौली अवस्थामा पुगेका उनीहरु आँसुमा डुबेका छन् ।
मृतकहरुकी छिमेकी एवं शिक्षिका सपना रोकाकाले पूरै गाउँ शोकमा डुबेको बताइन । एकैघरका आधा दर्जनसहितको मृत्युको खबरले सबैलाई रुवाएको छ । फोन सेवाको समस्याले आफन्तले राम्रोसँग घटना बुझ्नसमेत पाएका छैनन् । राष्टेकी पत्नी लिला रोकालाई सम्हालिन गाह्रो भएको छ । आफ्नो परिवारका ६ जना सहित ११ जनाको मृत्युको खबर सुनेपछि उनी विक्षिप्त बनेकी छन् ।
‘मेरा पति (राष्टे) तीन वर्ष मलेसिया बसेर घर फर्किनु भएको थियो । वैशाख २३ गते मजदुरी गर्न जानु भएको हो ।’ लिलाले रुदै भनिन्, ‘कमाएर आउँछु भन्नुहुन्थ्यो । मृत्युको खबर सुन्नुप¥यो ।’ उनी दाङको भालुबाङमा छोरालाई पढाउन कोठा भाडामा लिएर बसेकी छन् । पाँच वर्षको छोरा नर्सरीमा पढ्छन्।
रामबहादुरका अनुसार घटनामा बहिनी र ज्वाइँको मृत्यु भएको छ । बहिनी जितमाया र उनका पति थबाङ गाउँपालिका–१ थबाङका ३६ वर्षीय मौसम रोकाको मृत्यु भएको हो । सोही ठाउँका २८ वर्षीय सुकमान रोकाको पनि मृत्यु भएको छ । उवा पुसबाङका जितकुमारी र सुनछहरी गाउँपालिका–१ सेरमका ३२ वर्षीय सुन्तु घर्ती र ३२ वर्षीय राजकुमार पुनको मृत्यु भएको छ ।
मृतक जितकुमारीका पति विष्णु घाइते भएका छन् । उनको अवस्था पनि चिन्ताजनक रहेको आफन्तले जनाएका छन् । उनी एसईई परीक्षा दिएर मजदुरीमा गएका थिए । रेशम घर्ती पनि घाइते छन् । उनीहरुको पोखरामा उपचार भइरहेको छ ।
सेरम घुसबाङका आफन्त ठेकेदार रमेश घर्तीले उनीहरुलाई सडक निर्माणका लागि मुस्ताङ लगेका थिए । मृतको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइने बताइएको छ । मृतकका वृद्ध बुबाआमा शव लिन जान सक्ने अवस्थाका छैनन् । मजदुरीमै गएका बाँचेका आफन्तले नै शव ल्याउने आशामा बसेका छन् । आफन्तले मृतकलाई क्षतिपुर्ति दिन माग गरेका छन् ।