मुस्ताङको दुर्घटनाले दाङको पूरै गाउँ शोकमा
लमही ः राप्ती गाउँपालिका १ नयाँ बस्तीकी मनहरी चौधरीका आँखा शुक्रबारदेखि ओभाएका छैनन् । उनको शरीर पनि ठाडो हुन सक्दैन । उनी बेडको बेड्मै छन् । श्रीमान सुवेर चौधरीको शुक्रबार मुस्ताङमा मुत्यु भएको खबर सुनेदेखि उनी विक्षिप्त भएकी हुन्।
घर बनाएको ४० हजार ऋण तिर्नलाई कमाउन मुस्ताङ गएका आफ्ना श्रीमान् शुक्रबार सवारी दुर्घटनामा परेर मृत्युको खबर खेतमा काम गर्दै गर्दा उनले सुनिन् । श्रीमानको मृत्युको खबरले उनलाई नजिकैको घरसम्म पुग्न समेत धौ–धौ भएको थियो ।
मनहरीसँंगै घरको एक मात्र कमाउने व्यक्तिको अकल्पनीय मृत्युको खबरले चौधरीका वृद्ध आमाबुवा र नाबालक छोराछोरी विक्षिप्त भएका छन् । श्रम र मजदुरी गरेर परिवार पाल्दै आएका सुवेरले घर बनाउँदा लागेको ऋण तिर्न मुस्ताङ पुगेका थिए ।
गएको चैतमा स्थानीय रमेश घर्तीको सहयोगमा मुस्ताङ पुगेका चौधरी भदौमा घरमा आउने र ऋण तिर्ने योजनामा थिए । उनले घर बनाउँदा समूहबाट ४० हजार रुपैयाँ ऋण लिएका थिए । ‘त्यो भदौसम्म तिरिसक्नु पर्ने भाका छ, त्यही ऋण तिर्नलाई उहाँ मुस्ताङ जानु भएको थियो, अहिले उहाँले नै छोडेर जानु भयो, भक्कानिदै उनले भनिन्,‘मजदुरी गरेर खाने परिवार हाैँ, हामी सबैलाई विल्चलीमा पार्नु भयो ।’
३७ वर्षीय सुवेर घरमा हुँदा गाडी चलाउने काम गर्ने गरेका थिए । गाडी चालक भएर राम्रो कमाई नभएको भन्दै उनी बढी कमाएर छिट्टै ऋण तिर्न मुस्ताङ काम गर्न गएका थिए । उनलाई स्थानीय रमेश घर्तीले मुस्ताङ लान सहयोग गरेका थिए ।
चौधरीको मृत्युले वृद्ध बुवाआमासहित ६ जनाको परिवारलाई कसरी पाल्ने भन्ने चिन्तालेसमेत मनहरीलाई सताई रहेको छ । सुवेरको शुक्रबार मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा मुत्यु भएको छ ।
सुवेरकी श्रीमती मनहरीले असारको सुरुवातदेखि नै उनीसँग कुनै सम्पर्क नभएको र फोन गर्दासमेत कुरा नभएकाे बताइन । सुवेरकी जेठी छोरी सुनीता चौधरी आर्थिक अभावकै कारण विद्यालय छोडेर घरमा बसेकी छन् भने छोरा सोना चौधरी स्थानीय विद्यालयमा कक्षा नौमा पढछन् । अर्की छोरी सरिस्मा सात कक्षामा पढछिन् ।
राप्ती –१ नयाँ बस्तीकी कविता घर्तीको पनि सोही दुर्घटनामा मुत्यु भएको खबरले घरमा रहेकी १३ वर्षीया छाेरी सिर्जना बेहोस छन् । ७० काटेमा सासु ससूरा स्तब्ध छन् । कविताको खरले छाएको एउटा घरमा छिमेकी शोक मनाउन बसेका छन् । कविता र उनका श्रीमान रमेश घर्तीसगै काम गर्न मुस्ताङ गएका थिए । रमेश मिस्त्री हुन् भने कविता मजदुरको रुपमा काम गर्ने गर्थिन् ।
वैशाखमा मुस्ताङ पुगेकी कविताले राम्रो पैसा कमाएर छोरीलाई राम्रोसँग पढाउने योजना बनाएकी थिइन् । स्थानीय बोडिङ स्कुलमा कक्षा सातमा पढदै गरेकी छोरी सिर्जनालाई उच्च शिक्षा पढाउने सोच उनको थियो । मुस्ताङमा दाङका ५ जनाको शुुक्रबार ज्यान गएको थियो ।
रोल्पाका राष्ट्रे रोकाको परिवार पनि राप्ती गाउँपालिकामै बस्दै आएको छ । दाङ यो घटनाले शोकमा डुबेको छ । मुस्ताङ दुर्घटनामा दाङको राजपुर गाउँपालिकाका २ जना र राप्ती गाउँपालिकाका ४ जनाको मृत्यु भएको छ ।
कामको लागि मुस्ताङ गएका दाङ राजपुर र राप्ती गाउँपालिकाका ६ जनाको मृत्युको खवरले पुरै गाउँ शोकमा छ । राजपुर गाउँपालिका १ गुरुङखोलाका २ जना , राप्ती गाउँपालिका ३ नयाँ बस्तीका तीन जना र हासिपुरका एक जनाको मुत्यु भएको छ । राजपुरका कमल बुढा, बालकुमार घर्ती, राप्ती गाउँपालिका १ नयाँ बस्तीका कविता घर्ती र सुवेर चोैधरी र वडा नं ९ का शान्ति थापा र गुरुदत्त थापाकोे मृत्यु भएको छ ।
गुरुदत्त र शान्ती श्रीमान श्रीमती हुन् । मृत्युको खबर सुनेर गाउँ शोकमा डुबेको छ । स्थानीय सूर्य चौधरीले घरमा आर्थिक स्थिति कमजोर भएर कमाउनका लागि उनीहरु मुस्ताङ गएको भन्दै मृत्युको खबरले गाउँ शोकमा रहेको बताए । मृतक कमल बुढा र र बालकुमार घर्तीको आर्थिक स्थिति कमजोर छ । गुरुङ खोलामा एउटा खरले बारेको घर र आठवटा बाख्रा बाहेक उनीसँगअरु केही छैन् ।
हेलिकोप्टरबाट शव ल्याइयो
मुस्ताङमा शुक्रबार टिपर दुर्घटनामा परी मुत्यु भएका दाङका छ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट दाङ ल्याइएको हाे । दाङको राप्ती गाउँपालिकाका २ , राजपुर गाउँपालिकाका २ तथा कैलाली र कपिलबस्तुका एक-एक जनाको शव दाङ ल्याइएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले राप्ती गाउँपालिकाका दुईजना शान्ती थापा र गुरुदत्त थापाको शव परिवारले पोखरामा नै बुझि सकेको बताए । शवको लमही अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइने दाङ प्रहरीले जनाएको छ।
हेलिकप्टरबाट दाङ ल्याएको शव । मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा दाङका ६ जनाको मृत्यु भएको छ । तस्बिर : गाेपाल शर्मा