भर्ना भएका विद्यार्थी टिकाउन चुनौती

भर्ना भएका विद्यार्थी टिकाउन चुनौती

२०७५ को नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना अभियानलाई शिक्षा मन्त्रालयले निकै महत्व दियो। विगतमा पनि नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थी भर्ना अभियान हुने गर्थे, यसपटक प्रधानमन्त्रीले सुरु गरेकाले अभियानले विशेष महत्व पायो। अभियानमा राजनीतिक नेता, कलाकार, शिक्षाप्रेमी र विभिन्न क्षेत्रका व्यक्तिले सहयोग गरे। सरकारले विद्यालय जान नसकेका बालबालिकालाई अभिभावकत्व ग्रहण गरी शिक्षाको व्यवस्था मिलाउन अनुरोध गर्‍यो। यस वर्ष कति विद्यालयभन्दा बाहिर रहेका बालबालिका विद्यालयमा आए र कति बाँकी छन् ? यकिन आँकडा आउन केही समय कुर्नुपर्ला तर भर्ना अभियानले समस्यामा परेका केही बालबालिकालाई थप सहयोग जुटाउने कार्यमा सफलता दिलायो।

विगत हेर्दा विद्यालयमा भर्ना भएका अधिकांश बालबालिका विद्यालयको तह तथा विद्यालय शिक्षा पूरा गर्न नपाउँदै छोड्ने गर्छन्। हालै नतिजा प्रकाशित भएको २०७४ को कक्षा १० (एसईई) को परीक्षामा सम्मिलित विद्यार्थीको समूह हेर्ने हो भने यसलाई पुष्टि गर्छ। शिक्षा विभागको तथ्यांकअनुसार यो समूह विद्यालयमा भित्रिने वर्ष २०६५ सालमा १३ लाख ६२ हजार ९ सय २० जना कक्षा १ मा भर्ना भएका थिए। तिनीहरूमध्ये पाँच वर्षपछि कक्षा ६ मा पनि नपुग्दै ४६ प्रतिशतले विद्यालय छोडे। जम्मा ७ लाख ३१ हजार ५ सय ७३ तथा ५४ प्रतिशत मात्र रहन पुगे। तिनै समूह दस वर्षपछि कक्षा दशको परीक्षामा सामेल हुने अवसरमा ४ लाख ३१ हजार २ सय ७० तथा ३१.६४ प्रतिशत मात्र बाँकी रहे भने ६८.३६ प्रतिशतले विद्यालय छाडे। कक्षा १० को अन्त्यमा हुने उक्त परीक्षामा सामेलमध्ये ६४÷७७ प्रतिशतले दुईभन्दा माथि जीपीए ल्याए भने बाँकीले त्योभन्दा कम ल्याए।

कक्षा १ मा भर्ना भएका बालबालिकाले कक्षा १० नपुग्दै विद्यालय छोड्नुको धेरै कारण हुन सक्छन्। प्रायले छोड्नुको कारण विद्यालय टाढा हुनु, अभिभावकको नाजुक आर्थिक र समाजिक अवस्था, चेतनाको स्तर कमजोर, पढेर केही हुँदैन भन्ने सोचाइ, विद्यालय बालमैत्री नहुनु र विद्यालयकोे कार्यक्षमता कमजोर भएर हो भन्न सकिन्छ। भर्ना भएका बालबालिकालाई कसरी विद्यालयमा टिकाउने भन्नेबारेमा गम्भीर हुनुपर्छ।

राम्रा सामुदायिक विद्यालयले आफ्नो स्तर सुधारका लागि थप रकम जुटाउन वार्षिक शुल्क, परीक्षा शुल्कलगायत विभिन्न नाममा विद्यार्थीबाट शुल्क लिने गर्दछन्। त्यो शुल्क विपन्न अभिभावकको क्षमताभित्र पर्दैन। त्यस्ता विद्यालयले विद्यार्थी छनोट गरी लिने गर्छन्। कमजोर सिकाइ उपलब्धि भएका र बीचमा आउने विद्यार्थीलाई विद्यालयमा भर्ना लिँदैनन्। विद्यालयको ध्यान कसरी नतिजा राम्रो पार्ने भन्नेमै केन्द्रित हुन्छ। आफ्नो विद्यालयलाई संस्थागत विद्यालयसँग कसरी प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्ने हुन्छ नकि समस्यामा परेका बालबालिकालाई कसरी शिक्षामा समेट्ने। कमसल खालका सामुदायिक विद्यालयमा विद्यार्थी कम भए पनि खासै फरक पर्दैन, विद्यालयलाई समाजको अब्बल विद्यालयका रूपमा स्थापित गर्नु पनि छैन, विद्यार्थी जहिले आए पनि र जस्तो क्षमताको भए पनि लिन्छन्। विद्यार्थी थपिँदा विद्यालय जोगिएला भन्ने ठान्छन्। त्यस्ता विद्यालयलाई अभिभावकले विश्वास गर्दैनन्, विद्यार्थी पनि त्यस्तो विद्यालयमा पढेर सिकेको महसुस गर्दैनन् र विद्यालय नियमित जान आवश्यक पनि ठान्दैनन्। अन्ततः विद्यार्थी अनियमित हुने र विद्यालय नै छाड्नेतर्फ अग्रसर हुन्छन्।

कसरी टिकाउने विद्यार्थी

विद्यार्थी टिकाउन विद्यालयले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। धेरै विद्यार्थी विद्यालय छोड्नुको कारण विद्यालय नै हुने गर्दछ। सुरुका दिनमा विद्यालयमा पुरानाले नयाँ विद्यार्थीलाई गिज्याउने, उपनाम राख्ने, अपहेलित हुने, साथीहरूले कुटपिट गर्ने समस्या भोग्नुपर्ने हुन सक्छ। विद्यालयलाई बालमैत्री बनाउन विद्यार्थीका समस्या पत्ता लगाउने, समाधानका उपाय खोजी गर्ने, भौतिक अवस्था, कक्षाकोठा, शिक्षण प्रक्रिया बालमैत्री बनाउनुपर्छ। बालबालिकका गुनासा सुन्ने, पिउने पानी, शौचालयको उपयुक्त व्यवस्था गर्ने, सबै बालबालिकालाई सम्मानित र समान व्यवहार गर्ने, अपांगता, दृष्टि क्षमता र श्रवण क्षमता कमजोर भएका विद्यार्थीलाई उपयुक्त स्थानमा बसाउने, कक्षाकोठाको बसाइ व्यवस्था सहज बनाउनेजस्ता कार्य गर्न सकिन्छ।

विद्यालयलाई बालमैत्री बनाउन विद्यार्थीका समस्या पत्ता लगाउने, समाधानका उपाय खोजी गर्ने, भौतिक अवस्था, कक्षाकोठा, शिक्षण प्रक्रिया बालमैत्री बनाउनुपर्छ।

दिवा खाजा विद्यार्थी नियमित गर्न र टिकाउन निकै महत्वपूर्ण हुन सक्छ। अभिभावकलाई घरबाट टिफिन बक्समा खाजा पठाउन अनुरोध गर्ने, अभिभावक मिलेर आलोपालो विद्यालयमा खाजा बनाएर खुवाउने, विद्यालयले विभिन्न दाताको खोजी गरी खाजाको व्यवस्था गर्ने, स्थानीय तह तथा केन्द्रबाट दिवा खाजाका लागि बजेटको व्यवस्था गर्नेजस्ता उपायबाट दिवा खाजाको व्यवस्था गर्न सकिन्छ।

सबै विद्यार्थीका एकै किसिमका समस्या हुँदैनन्। विद्यार्थीका वास्तविक समस्या पत्ता लगाउन शिक्षकले बालबालिकाका व्यक्तिगत समस्या सुन्ने, परिवारका सदस्य तथा अभिभावकसँग नियमित सम्पर्कमा रहने, विद्यालय र अभिभावकको सम्बन्ध नजिक पार्ने काम गर्न सकिन्छ। अभिभावकसँगको सम्बन्ध नजिक पार्न अभिभावक भेला महत्वपूर्ण मौका हुन सक्छ। सम्पूर्णको एकैपटक, कक्षाअनुसार, गाउँअनुसार, समस्याअनुसार पटकपटक अभिभावक बैठक गर्न सकिन्छ। केही समस्या अभिभावक र विद्यालय मिलेर मात्र समाधान गर्न सकिने हुन्छन्। विद्यालयले बालबालिकाका घरमा हुने समस्या समाधान गर्न, घरमा पढाइको वातावरण निर्माण गर्न, अभिभावक परामर्श गर्न र उपयुक्त सल्लाह दिन सक्छ।

शिक्षा भविष्यका लागि तयारी मात्र होइन, तत्काल बानीको विकास गर्ने, समस्या समाधान गर्ने, जीवन जिउने कला र खुसी हुन सिकाउने तालिम पनि हो। कतिपय समुदायमा पढेर पनि जागिर पाइँदैन, धेरै पढेर काम छैन, लाहुर जाने हो पल्टनमा भर्ती हुने हो, अरब जाने हो, अक्षर चिन्न सक्ने र सामान्य हरहिसाब जान्ने भए पुग्छ भन्ने सोचाइ छ। शिक्षण सिकाइलाई प्रभावकारी, सान्दर्भिक, सीपमूलक र जीवनोपयोगी बनाउन सक्ने हो भने विद्यार्थी र अभिभावकमा पढेपछि काम लाग्छ भन्ने सोचाइ विकास गर्न सकिन्छ।

एकै आकारको जुत्ता सबैलाई फिट हुँदैन भनेजस्तै सबै विद्यार्थीलाई एकै किसिमको सिकाइ प्रक्रिया उपयुक्त नहुन सक्छ। हरेक विद्यार्थीको विशेषता, क्षमता, सीप, रुचि, सिक्ने तरिका र समस्या फरक हुन सक्छन्। शिक्षकले प्रत्येक विद्यार्थीका विशेषता पत्ता लगाउने र व्यक्तिगत समस्या समाधान गर्न सहयोग गर्ने प्रयास गर्नुपर्छ।

घरपरिवारको समस्याले पनि विद्यार्थीलाई तनाव भएको हुन सक्छ। समस्यामा रुमलिएका विद्यार्थीले शिक्षण सिकाइ क्रियाकलापमा खासै ध्यान दिन सक्दैनन्। आधारभूत तहको ज्ञान तथा सीप कमीका कारणले माथिल्लो कक्षामा सिक्न नसकेर पढाइ छाड्न उद्यत् भएका विद्यार्थीलाई थप कक्षा, विशेष सहयोग, उपचारात्मक सिकाइ, परामर्शको व्यवस्था गरी छाड्नबाट रोक्न सकिन्छ। परामर्श गर्दा कक्षागत र समूहगत र मिल्दा समस्या भएकालाई एकैपटक तथा अलगअलग पनि गर्न सकिन्छ। विद्यार्थीको सोचाइ फराकिलो पार्न, सिकाइप्रति उत्प्रेरित गर्न, मेहनत गरे उच्च उपलब्धि प्राप्त गर्न सकिन्छ भन्ने बनाउन शिक्षकले निरन्तर प्रयास गरिरहनुपर्छ। विद्यालयले व्यक्तिगत समस्यामा परामर्श गर्न एक विद्यार्थीका लागि एकजना शिक्षकलाई जिम्मेवार बनाउन पनि सकिन्छ।

विद्यार्थीलाई एक दिन अनुपस्थित हुँदा पनि अर्को दिन विद्यालय र कक्षा केही नौलो लाग्न सक्छ। एकदुई साता तथा महिनाभर विद्यालयमा अनुपस्थित भएका विद्यार्थीलाई विद्यालय जान संकोच लाग्न सक्छ। विभिन्न समस्याले विद्यार्थी हप्तौं अनुपस्थित हुने बाध्यता हुन सक्छ। विद्यालय नआएका विद्यार्थी दैनिक खोजी गर्ने, अभिभावक भेट्ने, अनुपस्थित हुनुको कारण पत्ता लगाउने, समस्या समाधान गर्न सहयोग गर्ने, छुटेको सिकाइ पूरा गरिदिन थप कक्षा सञ्चालन गर्ने गर्दा पनि विद्यालय छोड्ने अवस्था आउँदैन।

विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पटकपटक बैठक राख्ने, शिक्षक विद्यार्थी र समग्र विद्यालयका समस्यामा छलफल गर्ने, विद्यालयमा उपलब्ध सुविधा पारदर्शी तरिकाले वितरण गर्ने, वितरीत सुविधाको अभिलेख राख्ने, विद्यालयका राम्रा पक्षलाई प्रचारप्रसार गर्ने गर्दा पनि विद्यालयलाई अभिभावकको रोजाइको केन्द्र बनाउन र समुदायको विश्वास जित्न सकिन्छ।

गरिबीको कारण वा पारिवारिक समस्याले विद्यालय छाड्ने बालबालिकालाई स्थानीय पालिकाले पनि केही सहयोग गरी विद्यालय आउने वातावरण निर्माण गर्न सक्छन्। विद्यालयको भौतिक अवस्था सुधारी बालमैत्री बनाउने कार्यमा पनि संघीय सरकारको मात्र नभएर स्थानीय सरकारको पनि योगदान हुन सक्छ। विद्यालयको आन्तरिक क्षमता बढाउन, अभिभावक सचेतना अभिवृद्धि गर्न, विपन्न श्रम गर्न बाध्य अभिभावकलाई आर्थिक सहयोग गर्न, विद्यालयमा विषयगत शिक्षक व्यवस्था गर्न, छात्रवासको व्यवस्था गर्न स्थानीय र प्रदेश सरकारले पर्याप्त बजेट छुट्ट्याउनुपर्छ भने केन्द्र सरकारले बजेट बढाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.