सुत्केरीले पाएनन् भत्ता

सुत्केरीले पाएनन् भत्ता

बैतडी : स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत पाउनुपर्ने सुत्केरी भत्ता नपाएको सुत्केरीले गुनासो गरेका छन्। जिल्लाका सबै स्थानीय तहका सुत्केरीले फागुनदेखि सुत्केरी भत्ता पाएका छैनन्।

पाटन नगरपालिका–१ सकारकी कमला रावलले सकार स्वास्थ्यचौकीमा बच्चा जन्माएको ३ महिना भयो। बच्चा जन्मनेबित्तिकै पाउनुपर्ने सुत्केरी भत्ता उनले अझै पाएकी छैनन्। सोही ठाउँकी शान्ति रावलले पनि पाउनुपर्ने सुत्केरी भत्ता पाएकी छैनन्। शान्ति र कमलाजस्तै जिल्लाका १० वटै स्थानीय तहका सुत्केरीले समयमै सुत्केरी भत्ता नपाएका हुन्।

रकम अपुग भएका कारण सुत्केरीले समयमै भत्ता पाउन नसेकको स्वास्थ्य संयोजकहरूले बताएका छन्। ‘एक वर्ष अघिसम्म गर्भवती आमा सुत्केरी हुन स्वास्थ्यसंस्था पुग्नेबित्तिकै हामीले उनीहरूले पाउने भत्ताको पनि तयारी गर्थ्यों। सुत्केरी हुनेबित्तिकै उनीहरूलाई न्यानो झोला र घर फर्कने बेला यातायात बापतको पैसा दिन्थ्यौं,’ पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्रराज भट्टराईले भने, ‘यस वर्ष माघदेखि स्वास्थ्यसंस्थामा सुत्केरी हुन आउने आमालाई भत्ता दिन सकेका छैनौं। न्यानो झोला सुरुदेखि दिन सकेका छैनौं। यसले गर्दा सेवाग्राही निकै आक्रोशित हुने गरेका छन्।’

नेपाल सरकारले मातृमृत्युदर र बालमृत्युदर घटाउन सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत सुत्केरी भत्ता प्रदान गर्दै आएको छ। स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भएपछि सुत्केरी आमाले पाउने भत्तामा रोकावट आएको छ। ‘स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई एक हातमा बच्चा, एक हातमा प्रोत्साहन रकम दिने गरिन्थ्यो। गत वर्ष स्थानीय तहमा बजेट कम पठाएकाले समयमा सुत्केरी भत्ता दिन सकिएको छैन।’ मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले भने, ‘नयाँ संरचना भएकाले पनि केही ढिलाइ भएको छ। अबका दिनमा यसो हुन दिनु हुँदैन। बाँकी रहेको सुत्केरी भत्ता पनि हामी तुरुन्तै वितरण गर्ने तयारीमा छौं।’

स्वास्थ्यसंस्थामा सुत्केरी भएबापत आमाले पाउनुपर्ने सुत्केरी भत्ता १० वटै स्थानीय तहमा रोकिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीकी पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्। उनले भनिन्, ‘हाम्रो जिल्लामा वर्षमा ६ हजार बढी सुत्केरी हुन्छन्। उनीहरूले गर्भावस्थामा स्वास्थ्यसंस्थामा चार पटक जाँच गराएबापत ४ सय र स्वास्थ्यसंस्थामा बच्चा जन्माएबापत एक हजार रुपैयाँका दरले रकम पाउनुपर्छ। यस वर्ष सबै स्थानीय तहमा सुत्केरी भत्ताबापत रकम अपुग भएकाले समस्या भएको छ।’

सुरक्षित मातृत्व स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रम भए पनि स्वास्थ्यसंस्था स्थानीय तहमा हस्तान्तरण भएपछि स्वास्थ्यका सबै कार्यक्रम प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.