नेपाल एयरलाइन्सले पुराना जहाज नउडाउने
काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स (नेवानि)ले अबको दुई वर्षपछि पुराना जहाजबाट उडान नगर्ने उद्घोष गरेको छ। नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमलाई नयाँ उचाइमा लैजाने योजना रहेको बताएका छन्। उनले भने, ‘अबको दुई वर्षभित्र पुराना सबै विमान बिक्री गरेर नयाँ मात्र सञ्चालन गर्ने हाम्रो नीति छ।’
नेवानिसँग रहेका दुईवटा बोइङमध्ये एउटा १५ करोड रुपैयाँमा बिक्री भइसकेको छ। अर्को बोइङ पनि बिक्रीको क्रममा छ। बोइङ बिक्रीका लागि मूल्य निर्धारण गर्न भन्दै नेवानिले परामर्शदाता छनोट गरिसकेको कंसाकारले जानकारी दिए।
बाँकी दुईवटा पुराना ट्विनअटर जहाज पनि दुई वर्षभित्रै बिक्री गर्ने तयारी भएको उनले बताए। नेवानिसँग अब आउने बाँकी एउटा वाइडबडी जहाजसँगै साना–ठूलो गरी जहाज संख्या १३ पुग्नेछ।
त्यसमा तीनवटा पुराना जहाज बिक्री गर्दै सन् २०२० भित्रै थप १० वटा जहाज थप्ने प्रक्रिया सुरु भएको कंसाकारले जानकारी दिए। नेवानिले दुर्गम भेगमा उडान गर्न ६ वटा साना जहाज र तराईका विमानस्थलमा उडान गर्न ७० सिट क्षमताका दुईवटा जहाज खरिद प्रक्रिया समेत अगाडि बढाएको कंसाकारले बताए।
यसैगरी अन्तर्राष्ट्रिय उडानमा मजबुत भन्दै नेवानिलाई विश्वस्तरीय एयरलाइन्स कम्पनी बनाउन सन् २०२० भित्रै थप दुईवटा जहाज थप्ने गरी नेवानि बोर्ड बैठकबाट सहमति भएको उनको भनाइ छ।
‘नेवानिलाई बजार विस्तार गर्न पुँजीको समस्या छ’, उनले भने, ‘सरकारले आगामी आवमा केही पुँजी थप गरिदिने सहमति भएको छ।’ थप दुईवटा एयरबस खरिदमा १२ अर्ब रुपैयाँ लाग्ने कंसाकारको भनाइ छ। यसैगरी साना जहाज खरिद गर्न पनि चार अर्ब रुपैयाँ लाग्छ। रकम व्यवस्थापनका लागि सञ्चय कोषसँग कुराकानी भएको उनले बताए।
यसअघि दुर्गम भेगका विमानस्थलमा उडान गर्न चीनबाट खरिद गरेको जहाज प्राविधिक रूपमा उडान गर्न नसकिने भएपछि फेरि ६ वटा जहाज खरिद गर्नु परेको उनको भनाइ छ।
अहिले चिनियाँबाट खरिद गरेर ल्याइएको वाई १२ जहाजले पोखरा, सिमरा र भैरहवामा मात्रै उडान गरिरहेको उनको भनाइ छ। त्यसमा पनि आवश्यक मात्रमा पाइलट नभएको उनी स्वीकार गर्छन्। थप ६ वटा साना जहाज आएपछि नेवानिले नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएका सबै विमानस्थलमा सातामा एउटा भए पनि नियमित उडान गर्ने उनको दाबी छ। नियमित उडान तालिकका सार्वजनिक भएपछि दुई जना यात्रु भए पनि उडान गर्ने उनको भनाइ छ।
आन्तरिक उडानमा नेवानिको उपस्थित कमजोर छ। कुल बजार हिस्साको ३ प्रतिशत मात्रै नेवानिको हिस्सा छ। अहिले नेवानिले १६ वटा स्टेसनमार्फत सेवा दिइरहेको छ। अबको केही दिनमा नेवानिले रुम्जाटार, साँफेबगर र चौरझारीमा समेत सेवा विस्तार गर्ने कंसाकार बताउँछन्।
आन्तरिक उडानका लागि प्रभावकारी र व्यवस्थित बनाउनकै लागि आफूले अलग व्यवस्थापन समिति बनाएको उनको भनाइ छ। नेवानिले पछिल्लो सयम अन्तर्राष्ट्रिय उडान केन्द्रित गर्दा आन्तरिक उडानको क्षेत्रमा कमजोर भएको उनको भनाइ छ। अब नेवानिले अन्तर्राष्ट्रिय उडान र ग्राउन्ड ह्यान्डलिङबाट कमाएको रकम खर्च गरेर भए पनि आन्तरिक उडान सबल बनाउने उनको भनाइ छ।
पर्यटकीय गन्तव्यमा उडान
नयाँ दुईवटै वाइडबडी जहाजमार्फत नियमित उडान भएको केही समय लगतै नेवानिले पर्यटकीय गन्तव्यमा उडान गर्ने योजना बनाएको छ। नेवानिको लक्ष्य जापान, कोरिया, साउदी अरब, युरोप, अमेरिका, चीन र भारत हो। तर, तेस्रो वाइडबडी खरिद नहुँदासम्म युरोप र अमेरिका उडान गर्न नसक्ने कंसारकार बताउँछन्। तेस्रो वाइडबडी नआउँदासम्म भने नेवानिले जापान, कोरिया र साउदीमा थप उडान गर्ने उनको भनाइ छ। दुईवटा वाइडबडी, दुईवटा एयर बस र बोइङले अब ११ गन्तव्यमा उडान गर्ने उनको भनाइ छ।
यस अघि वाइडबडी जहाज नआउँदासम्म नेवानिले आठ गन्तव्यमा मात्रै उडान गर्दै आएको थियो। नयाँ वाइडबडी जहाजले पहिलो उडान भने पुरानो गन्तव्यबाट सुरु गर्नेछ। ‘अन्तर्राष्ट्रिय चलनअनुसार नयाँ जहाजले सुरुमा उडान गर्दा पुरानै गन्तव्यमा दुई तीन महिना उडान गरेर पछिमात्रै नयाँ गन्तव्यमा उडान गर्ने चलन भएको उनको भनाइ छ। नेवानिसँग नयाँ दुईवटै वाइडबडी जहाज आएपछि अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज हुने उनको भनाइ छ।
‘मलेसिया र अरबका मुलुकमा भइरहेको उडानमा नेपाली कामदारको आवतजावतमा बढी ध्यान दिइरहेको छ’, उनले भने, ‘अब विदेशी पर्यटक र खास धनी मुलुकबाट पर्यटक भित्र्याउने नेवानिको लक्ष्य हो। नेवानिले बढीभन्दा बढी विदेश महँगा पर्यटक बोकेर डलर कमाउने हो। अर्थतन्त्रको प्रमुख क्षेत्र पर्यटन नै हो।’
नयाँ वाइडबडी जहाजमार्फत जापान, कोरिया र साउदी अरब उडान तयारी भइरहेको छ। नयाँ वाइडबडीबाट थप हुने गन्तव्य साउदी, जापान र कोरिया मात्रै भएको उनको भनाइ छ। योसँगै नेवानिले नयाँ थप दुईवटा एयरबस खरिदपछि अहिले भारतमा उडान भइरहेका सहरबाहेक अन्यमा र चीनमा पनि उडान गर्ने योजना बनाएको कंसाकारको भनाइ छ। यसबाहेक पनि नेवानिले म्यानमार, श्रीलंकालगायत देशमा पनि उडान गर्ने कंसाकारले बताए।
नेवानिलाई एक अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्समा रुपान्तरण गर्न हवाई सुरक्षा सम्बन्धित अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पनि १८ महिनाभित्रै लिने लक्ष्यका साथ काम गरिरहेको उनको दाबी छ। निगमको हरेक काममा निगरानी राख्न आधुनिक कम्पुटर सफ्टवयर प्रणाली (ईआरए) भित्र्याउने तयारी गरेको उनको भनाइ छ।
पाइलट अभाव
नेवानिले भएका जहाज नियमित उडान गर्ने पाइलट अभाव रहेको बताएको छ। नेवानिसँग हाल ८८ जना पाइलट छन्। तर, नेवानिसँग रहेको १३ वटा विमान फुल फेजमा सञ्चालन गर्न एक सय १६ जना पाइलट चाहिने कंसाकार बताउँछन्। थप २८ पाइलट सकेसम्म स्वदेशी नभए विदेशी पाइलट करारमा ल्याएर भए पनि विमान उडान गर्नुपर्ने कंसाकारको भनाइ छ।
पाइलट अभाव थेग्न नेवानिले हाल नेपाली नै पाइलट नपाउँदासम्म विदेशी पाइलट करारमा ल्याउने नीति लिएको उनको भनाइ छ। एउटा साना जहाज उडाने पाइलट ल्याउँदा करसमेत गरी मासिक १२ लाख रुपैयाँ र वाइडबडी जहाजका लागि आवश्यक पाइलट करारमा विदेशी ल्याउँदा भने १८ लाख र को–पाइलटलाई १२ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको कंसाकार बताउँछन्।
नेवानिमा एमए ६० जहाज उडान गर्न आवश्यक पाइटल अभाव नभए पनि वाई १२३ जहाज र ए ३३०–२०० सिरिजको जहाज उडान गर्ने पाइलट भने विदेशी नै ल्याउनुपर्ने अवस्था रहेको कंसाकार बताउँछन्। अहिले नेवानिसँग रहेको चार वटा वाई १२ जहाज उडानका लागि चार जना मात्रै पाइलट भएपनि आवश्यक संख्या भने थप आठ जना हो।
यसैगरी नेवानिले भखरै भित्र्याएको एउटा वाइडबडी र जुलाई २५ मा आउने दोस्रो वाइडबडी जहाज फुल फेजमा सञ्चालन गर्न पाइलट र कोपाइलट गरी ३६ जना आवश्यक पर्छ। तर, नेवानिसँग अहिले दुई जना पाइलट र दुई जना कोपाइलट तयारी भए पनि अन्य ८ जना परीक्षणको क्रममा रहेका छन। यसबाहेक पनि नेवानिलाई थप १२ जना पाइलट र १२ जना कोपाइटल विदेशबाट ल्याउनुपर्ने कंसाकारको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !