भद्रे र रुप्सीलाई शुभकामना
भद्र र रुप्सी दुई थान गैंडा जहाज चढेर मित्रराष्ट्र चीन जाने भए, पिता–माता र जन्मथलो छोडेर। छाती गर्विलो भएको छ नेपाल उपहार दिन सक्ने मुलुक भएकोमा। वन्यजन्तु, जडिबुटी, वनस्पति, सुगन्धित फूल बिरुवा, पुतली, जलचर, कीट्पतंग, ढुंगा, मार्बल, खनिजहरू धेरै उपहार छन् नेपालमा। तर हामी तिनको पहिचान, उपयोग, संरक्षण, संवद्र्धन गर्न नसकेर विनासको बाटोमा गइरहेका छौं। जडिबुटी, ढुंगा, गिटी, बालुवा, काठ, यार्चागुम्बा सबै चोरीनिकासी तथा पैठारी भइरहेको छ, तर हामी मूकदर्शक छौं। त्यसको उचित व्यवस्थापन, संरक्षण, संवद्र्धन र नियन्त्रित ढंगको वैधानिक निकासीले मात्र समृद्धि अभियानमा टेवा पुर्याउनेछ। तर करको दायरामा सबैलाई समेट्न भने विलम्ब भइसकेको छ। हो, अनि हामी आफ्नो देशको बहुमूल्य उत्पादनलाई विशेष उपहारका रूपमा दिन सक्ने अवस्थामा हुनेछौं।
रक्षामन्त्री भएका बेला वर्तमान राष्ट्रपतिलाई रारा र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गराउँदा चिफ वार्डेन टीकाराम अधिकारीले स्वागत अभिवादन गर्दै भन्नुभएको थियो, ‘एउटा गैंडाले दुइटा जेट विमान आउँछ। त्यस्तो अमूल्य उपहार छन् हाम्रा निकुञ्जमा। तर तिनको संरक्षण संवद्र्धनमा राज्यले यथोचित ध्यान नदिएकोमा फिल्डमा कार्यरत कर्मचारी खिन्न छौं।’ हाम्रो सामानको कदर र सम्मान नहुनु दुःखद हो। हो, गैंडाको मूल्य हुने कुरै भएन, त्यसैले त्यो अमूल्य वस्तु भयो। साइटिसले दुर्लभ वन्यजन्तुमा दरिएको खतरामा परिसकेको अति मूल्यवान् वन्यजन्तु।
दातृराष्ट्रबाट अझ गिरेर एनजीओ, आईएनजीओबाट दान, अनुदान, उपहार सहुलियत ऋणले थिलथिलो भएको सानो मुलुकले भीमकाय विशाल मुलुकलाई उपहार दिने एक थान वस्तु फेला पार्यो बल्लतल्ल। अमूल्य र विशेष महत्वको वस्तु भएकाले राष्ट्रिय÷अन्तर्राष्ट्रिय ध्यानाकर्षणको केन्द्रविन्दु हुने नै भए हाम्रा भद्रे र रुप्सी। विशेष विमान चढेर फूलमाला र टीका लगाई लामो हवाई यात्राबाट अर्को धर्तीमा उत्रने भए यी नाबालक जोडी। जबर्जस्त बाँधिएका जोडी। मेरा गोठका दुधे बालकहरूलाई पत्रमार्फत केही सम्झाउन चाहन्छु।
मेरा प्यारा भद्रे र रुप्सी,
कोटी–कोटी नमस्कार छ तिमीहरूलाई।
मलाई माफ गर, तिमीहरूलाई आफ्ना प्राकृतिक बाबुआमालाई झुक्याएर खोसेकोमा। पिता त अल्लारे बाउ भई गयो छिटै बिर्सेला, आमाहरूसँग हामी धेरैभन्दा धेरै माफी माग्छौं दूध छुटाएर बालक नानी खोसेकोमा। अपराध अक्षम्य हो, तर पनि म माफी माग्छु। एउटा ठाउँबाट अर्को ठाउँमा जाँदैछौ। यात्रा कठिन छ, विल्कुल अप्राकृतिक। जमिन धुलोपिठो बनाउन जन्मेको तिमीहरू हावामा घन्टौं उड्दै छौ, निस्सासिएर उकुसमुकुस हुँदै।
कृपया धेरै चिन्ता नगर धर्ती एउटै हो। साँध–सीमा त हामी बाठा र स्वार्थी मानिसले छुट्ट्याएको हो। तिमीहरूलाई केको साँध न सीमा। संसार तिमीहरूकै हो निर्बाधरूपमा।
देश ठूलो, राम्रो, धनी केको पिर म वन्यजन्तुप्रेमी। पाँच वर्षअघि छेन्दुमा गएको थिएँ पान्डा हेर्न भनेर, छक्क परें त्यहाँका पान्डा देखेर। एयर कन्डिसनको बसाइ विलासी गुफारूपी कंक्रिटका घरमा, डाइट र सफाइ र व्यवस्थापन त्यस्तै सबै राम्रो। मलाई थाहा छ, तिमीहरू रुने छौ, कराउने छौ र भौंतारिँदै हामीलाई हाम्रै माटो राम्रो, खोला राम्रो, फोहोर दलदल राम्रो, घाँस राम्रो र गर्मी राम्रो भनेर।
तिमीहरूका कुरा सोह्रैआना ठीक हुन्, तर के गर्नु तिमीहरूको कर्ममा उपहारको बक्सभित्र बस्न लेखेको रहेछ। तिमीहरू नै खोसिनेमा पर्यौ आमाको दूधबाट।
अनि नानीहरू हो, तिमीहरू ज्ञानी हुनु है। तिम्रो कान्छो हजुरबुबाले मलाई सताएको जस्तो नसताउनू नि। २० वर्षअगाडिको कुरा हो, भदौको ठूलो भेलमा कर्णाली नदीमा पट्रोल गर्र्दै थिएँ, तिम्रै पूर्वजको रक्षाका लागि। समुद्ररूपी नदीबीचको सानो टापुमा तिमीहरूको एउटा कान्छो हजुरबुबा देखें तीन हप्ताको बालक। त्यही पनि कैलो वयस्क बाख्रो जत्रो ठूलो। नदीले बगाएर ल्याएर टापुमा फ्याँकेको अवस्था। अथवा हुस्सु आमाले आफू मात्र नदी पार गर्दा बच्चा बीचैमा छोडिदिएको अवस्था। तिमीहरूको प्राकृतिक वासस्थानको मोह। ममतामयी माताको शक्तिशाली दूध, प्राकृतिक माया र छुट्टै हेरचाह। २४ घन्टा टापुलाई निगरानीमा राखें। हुस्सु आमाले टापु र बच्चाको पहिचान नै गर्न सकिनँ, फर्केर आउने आशा मर्यो। तर हामी के कम। बचाएर छोड्यौं। त्यसैले त आज तिमीहरू धर्तीमा छौं। भयो भद्रे धेरै ताली नपड्काऊ। अब मसँग तिमीले धिक्कार्ने कथा छ। दुःखी कथा।
तिम्रा बाजेहरूलाई बसाइँसराइ गरायौं। अहा कति सुन्दर वासस्थान बर्दियाको बबई उपत्यकामा। पानी, खोला, घोलसहितको अनकन्टार जंगल। शान्त र सुन्दर। हामीले ठान्यौं तिम्रा बाजेहरूलाई त्यो स्वर्ग हुनेछ। मैले भर्पाइ गरेर बुझेँ लामो सकसपूर्ण सडक यात्रा गरेर आएका तिम्रा बाजे–बज्यैहरूलाई। सुरक्षाको जिम्मा मेरो हो भनेर छाती पिटेर जिम्मा लिएको थिएँ। हुरी–बतास झैं डरलाग्दो संकट आयो देशमा द्वन्द्व नामको। म बरालिएँ अन्यत्रै। द्वन्द्वका कलाकारले सखाप पारेछन् तिम्रा सारा बाजेबज्यैलाई। बीउ पनि नराखी मासेछन्। म हारें। मैले जिम्मा लिएँ सार्वजनिक मञ्चमार्फत। म ठूलो दोषी हुँ, पापी हुँ। तिनको जाबो उद्धार गर्न नसक्ने। त्यसैले तिमीहरूले धिक्कार भन्नुपर्छ मलाई। हेर त कत्रो नोक्सान म लाचार गोठालोले गर्दा। भद्रे, धेरै मात्तिने होइन। बद्मासी गर्ने पनि होइन धुव्रेले जस्तो। आफूलाई भाग्यमानी सम्झने नि। बाजी जितेर स्वास्नी ल्याउनु पर्दैन। महासंग्रामजस्तो युद्ध गर्नुपर्दैन जोडी पाउन। त्यसैले दुःखी मात्र नहोऊ। भाग्यको पाटो पनि हेर न। भाग्यको पाटो अर्को पनि त छ। तिमीहरू नेपालमा समृद्धिको ढोका खोल्ने दूत पनि हौ। अनि चानचुने अवसर हो त यो। आफूलाई भाग्यमानी सम्झ है।
मलाई विमानस्थलमा बिदाइ गर्न आउन मन थियो एउटा माला लिएर। औधी धेरै इच्छा। तर तिमीहरूको सुरक्षा घेरा ज्याडै कडा। कसैले आँखा लाग्छ भन्लान्। कसैले चोखे लाग्छ भन्लान्। कसैले भूत लाग्यो भन्लान्। छुन–हेर्न कहाँ देलान् र। धन्दा नमान, तिमी जाने नयाँ ठाउँमा कमसेकम यहाँजस्तो अनेक भन्दैनन्। जति खर्च लागे पनि म तिमीहरूलाई भेट्न उतै आउँछु, तिम्रो अवस्था, खुसी, सुख हेर्न। सन्तान वृद्धि भएको पनि हेर्न पाउँ। दुःखी हुनु छ भने पनि सकारात्मक सोच राखेर हुनू। तिम्रा वासस्थान विज्ञ कर्ण शाक्य काकाको सन्देश मनन गर्नु दुःखमा। यो तिमीहरूको पपुलेसनको विस्तार र बढोत्तरी पनि त हो नि। तिम्रो मूल घर पो चितवन हो त। अहिले कति धेरै घर भइसके तिमीहरूका जताततै। बर्दिया, शुक्ला, पर्सा, परासी, चीन। नानी हराउने तिमीहरूकी हजुरआमाले मलाई नचिनेर झन्डै ज्यान लिएकी बबई उपत्यकाको अनकन्टार जंगलमा। म औधि बलियो र हिम्मतदार भएर मात्र ज्यान जोगाएँ मैले कुलेलम ठोकेर, केही नलागेपछि रुख चढेर। नत्र मलाई दुई चिरा पारेर मार्ने ठहरै। तिम्री हजुरआमालाई सिकारीले पिछा गरेको थाहा पाएँ मैले। तिम्रो हजुरआमाको दुस्मन मेरो झन् महादुस्मन। अब तिमीहरू आफैं पत्ता लगाऊ तिम्रो मेरो साइनो। सातु–चिउराका भरमा आङभरि नुन देखिने गरेर खोजतलास गरिरहेको थिएँ, म तिमीहरूकी हजुरआमाको दुस्मनलाई। संयोगवश भेट भयो तिम्री हजुरआमा। चिन्ने जान्ने, बुद्धि नहुँदा मलाई लखेटिन् हजुरआमाले दुस्मनलाई झैं। त्यसैले त तिमीहरू हुस्सुका सन्तान। त्यसैले मेरा नानीहरू तिमीहरू पनि त्यस्तै मूर्ख नहुने कोसिस गर्नु। मलाई थाहा छ, तिमीहरू जन्मजातै शालीन र शान्त। सुन्दर त म कसरी भनुँ ? तर वाधा व्यवधान भएन भने तिमीहरू साँच्चिकै भद्र र शान्त। प्रकृतिका मालिकजस्ता। भगवान् जस्ता। घञ्चमञ्च, वाधाविघ्न त कसले पो रुचाउँछ, र तिमीहरू पनि नसहनु। लौ त नानीहरू, मेरा आखाँका नानीहरू। राम्रोसँग जाउ प्रकृतिका दूत भएर। नामजस्तै भद्र भएर। अनि भद्र भएर बस, अघि बढ। तिमीहरूको रहनसहन, खाइबसाइको म राम्रोसँग अनुगमन गर्नेछु मेरा चाइनिज मित्रहरूमार्फत।
तिमीहरू जाँदा मेरा मात्र होइन, धेरैका आँखामा आँसु छचल्किरहेको छ। मन दुखेको छ। शिवराम, बज्र, प्रभुराम, अजित, राजेन्द्र, श्रवण, गोकर्ण, माधव, सञ्जय, समुन्द्र, टेक आदिलगायत अनगिन्ती अरू काकाहरूको। आफ्नो गोठको दूधे बच्चालाई सात सय डाँडा कटाउँदा कसको पो मन नरोला र ? तर मेरा राजा हो ! म तिमीहरूलाई आश्वस्त पार्न चाहन्छु। म आजीवन तिमीहरूको माया, सेवा र रक्षामा पहरा दिइरहनेछु, जहाँ बसेर भए पनि।
हिजो बन्दुके भएर दिएको थिएँ। आज लौरो समातेर दिने तम्तयार गर्दै छु। भोलि कलम र थुतुनो चलाएर दिनेछु। मास्टर भएर पठाउनेछु सारालाई। हजारौंहजार वर्षसम्म तिमीहरूको अस्तित्व रक्षार्थ। त्यसैमा छ जाबो अस्थायी मानव जातिको सुरक्षा अनि स्थायी धर्तीको वास्तविक रक्षा। त्यसैले सकारात्मक सोच लिएर जाऊ। सुखको समाचार सुनाऊ। त्यो भनेको तिम्रो खुसी, रक्षा र सन्तान वृद्धि नै हो। म पनि तिमीहरूलाई खुसीको कुरा सुनाउनेछु। फिल्डका काममा त कसलाई शंका छ र ? विचरा काकाहरूले झुत्रे कपडा र आधा पेटमा अहोरात्र खटेर पसिनामा नुन बगाएको तिमीहरूले पनि त देखे भोगेकै हो नि। तर सुधार गर्नुपर्ने कति छ कति। धेरै सुधार। लथालिंगको, बेथितिको, तालिममा र समन्वयमा सुधार। सूचना र कार्य सम्पादनमा निखार। सबै तिम्रो उज्ज्वल भविष्य र दीर्घकालीन रक्षाको सुनिश्चितताको लागि। अनि विश्वास गर, त्यो म गरेरै छोड्ने छु। हिजो पो बन्दुक र पोसाकको तगारो। अहिले त म स्वतन्त्र भएको छु त्यो सुधार कार्य गरेर देखाउनका लागि।
मेरा राजाहरू, तिमीहरूको जय होस्। त्यही छ हामी सबैको शुभकामना। रिसाए रिसाऊ। रिसाउन त कसले भेट्नु र तिमीहरूलाई। ‘गुड् बाई भन्दिनँ। मरिजाऊँ भन्दिनँ। तिमीहरू नभनी नजाने ढिपी कसेर बसेका हौ भने ठीकै छ मेरा प्यारा नानी हो।
सीयू एगेन।
—प्रकृति संरक्षणमा लामो समय सेवारत कार्की अवकाशप्राप्त सहायक रथी हुन्।