विदेशमा जस्तै गाउँमै कमाइ
बागलुङ : गलकोटका एक युवाले विदेशबाट फर्किएर आफ्नै गाउँमा कुखुरापालन व्यवसाय सुरु गरेका छन्। वैदेशिक रोजगारीको सिलसिलामा जापान पुगेका गल्कोट—५ हरिचौरका ललित श्रीसले गाउँमै कुखुरापालन व्यवसाय सञ्चालन गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन्। युवा उमेरको विदेश मोहका कारण उनले करिब सात वर्ष जापानमा बिताएका थिए।
केही वर्षअघि जापानमा हुने मासिक २ लाखको कमाइ छाडेर फर्किएका उनले गाउँमै कुखुरापालन गरी मनग्गे पैसा कमाउन सफल भएका छन्। उनले अहिले लेयर्स जातका कुखुरापालन गरेको बताए। जापानबाट फर्केका उनले १० लाख लगानीमा व्यावसायिक कुखुरापालन थालेको बताए।
उनले अहिले दैनिक १८ हजार रुपैयाँ कमाउने गरेको बताए। ‘सुरुमा १० लाख रुपैयाँ लगानी गरेर कुखुरा पाल्न सुरु गरेँ, जापानको मासिक २ लाख रुपैयाँ आम्दानी छाडेर गाउँमै कुखुरा पाल्छुभन्दा कसैले पत्याउँदैनथे’, श्रीसले भने, ‘अहिले जापानमा कमाउनेजति रकम यहीँ कमाउन सफल भएको छु।’ अन्डाबाट दैनिक १८ हजार आम्दानी हुने र त्यसमा ६ हजार रुपैयाँ नाफा हुने उनी बताउँछन्। ‘अहिले मसँग १ हजार छ सय ६२ कुखुरा छन्, दैनिक एक हजार छ सय अन्डा उत्पादन हुन्छ’, उनी भन्छन्, ‘अन्डा बिक्रीबाट दैनिक १८ हजार आउँछ, दानापानीको खर्च कटाउँदा दैनिक ६ हजार रुपैयाँ नाफा हुन्छ।’ श्रीसले एक वर्षअघिबाट कुखुरा पाल्न थालेका थिए। श्रीसले कुखुरा फार्ममा अहिलेसम्म ६० लाख रुपैयाँ लगानी गरेका छन्।
बागलुङमा अन्डाको उत्पादन कम हुने भएकाले बिक्रीका लागि कुनै समस्या छैन। अन्डा निर्यातका लागि उनले आफ्नै गाडीसमेत खरिद गरेका छन्। गलकोट नगरपालिका–५ हरिचौर लाम्पाटामा ८ रोपनी जग्गामा कुखुरापालन गरेका श्रीसले १ रोपनी जग्गामा सुन्तला र तरकारी खेतीसमेत गरेका छन्। जापानको सफल सुन्तला खेती देखेर गाउँमा सुन्लता खेती गर्ने लक्ष्यका साथ गाउँ पसेका श्रीसले सुन्तला खेतीसँगै कुखुरापालन गरेर गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। ‘जापानमा लटरम्मै फलेका सुन्तला देखेपछि सुन्तला खेती गर्ने उद्देश्यले घर फर्केको थिएँ’, उनले भने, ‘यहाँ आएपछि सुन्तलासँगै कुखुरा पाल्ने योजना बन्यो। सुन्तलाबाट आम्दानी हुन केही समय लाग्छ, कुखुराले राम्रो आम्दानी दिएको छ।’
बाहिरबाट आउने अन्डाभन्दा यहाँ उत्पादित अन्डा बढी स्वादिलो हुने भएकाले उनले उत्पादन गरेका अन्डा गाउँघरमै बिक्री हुने गरेको छ। गलकोट नगरपालिका हरिचौर, हटिया, नरेठाँटी, मल्म, काँडेवास तथा ताराखोला गाउँपालिकाअन्तर्गत तारा, हिल, अर्गलमा अन्डा बिक्री हुने गरेको छ। ‘जापानमा मासिक दुई लाख रुपैयाँ आम्दानी हुन्थ्यो तर धरै दुख थियो’, श्रीस भन्छन्, ‘अर्काको काममा खटाए अह्राएको काम गर्नुपर्ने, समयमा खान र सुत्नसमेत नपाइने अवस्था थियो। यहाँ परिवारसँगै बसेर त्यहीँकै जति कमाउन सकिन्छ भने किन बिदेसिनुप¥यो ? ’, फरक ढंगले काम गर्न सके स्वदेशमै पैसा कमाउन सकिने भएकाले यहीँ स्वरोजगारमूलक काममा लाग्न उनले युवाहरूलाई सुझाव दिने गरेका छन्।
जिल्लामै भित्रिने रेमिटेन्सलाई केन्द्रित गरेर खुलेका प्रशस्त बैंक तथा वित्तीय संस्थाहरूको शाखाले अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरेको उनको गुनासो छ। ‘यहाँका वित्तीय संस्थाहरूले उत्पादन नहुने क्षेत्रमा धेरै लगानी गरेका छन्,’ श्रीसले भने, ‘कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा बढी लगानी गर्न सक्ने हो भने नेपालका युवा विदेश जाने होइन, विदेशका युवा हाम्रो देशमा काम गर्न आउँछन्। तर यहाँको वातावरण काम गर्नका लागि सहज हुने बनाउनुपर्छ।’ युवा पलायन रोक्न राज्यले उत्पादनमा लाग्नेहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ। श्रीसले व्यावसाय गर्न गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जन एकता कृषि तथा पशुपालन सहकारी संस्था हरिचौरबाट कर्जासमेत लिएका छन्।’
पछिल्लो समयमा गाउँगाउँमा खुलेका सहकारी संस्थाले स्थानीयलाई स्वरोजगार बनाउँदै लगेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीको भनाइ छ। ‘अहिले सहकारीले गाउँमा सामूहिक व्यक्तिगत रूपमा आत्मनिर्भर कामका लागि ऋण प्रवाह गर्दै आएका छन्’, जिसीले भने, ‘जसले बढ्दो विदेश पलायनलाई रोक्न सहयोग गर्छ।’