आन्तरिक उडानमा जहाज थप्ने प्रतिस्पर्धा

आन्तरिक उडानमा जहाज थप्ने प्रतिस्पर्धा

काठमाडौं : आन्तरिक उडान गर्ने विमान कम्पनीबीच आधुनिक, सुविधासम्पन्न र ठूला जहाज थप्ने प्रतिस्पर्धा भएको छ। चालू आवमामात्रै विभिन्न जहाज कम्पनीले झन्डै एक दर्जन जहाज भित्र्याइसकेका छन्। चालु आवमा नेपाल एयरलाइन्स, बुद्ध, यती, श्रीले नयाँ जहाज भित्र्याइसकेका छन्।

जहाज थप्ने प्रतिस्पर्धा चलेसँगै हवाई यात्रुलाई भने केही सहज भएको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्ज्वल थापा बताउँछन्। ‘विगत एक÷दुई वर्ष अगाडिसम्म जहाजको टिकट पाउनु भनेको असाध्यै ठूलो काम हुन्थ्यो’ थापाले भने, ‘जहाज थप्ने प्रतिस्पर्धा चलेसँगै सिजनमा पनि सहजै टिकट पाउने अवस्था आएको छ।’

जहाज कम्पनीबीच सुरु भएको जहाज थप्ने प्रतिस्पर्धाले साना र थोरै जहाज भएका कम्पनीमा भने समस्या सुरु भएको यती एयरलाइन्सका मिडिया प्रबन्धक भीमराज राई बताउँछन्। आन्तरिक उडानमा प्रतिस्पर्धा सुरु भएसँगै हवाई टिकटमा पनि प्रतिस्पर्धा सुरु भएको उनको भनाइ छ।

विमानबाट यात्रा गर्ने संख्या बढेपछि विमान कम्पनी सेवा विस्तारको होडमा उत्रिएका हुन्। साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला (धेरै सिट) विमान भित्र्याइरहेका छन्। यसले सिट संख्या अझ बढाएको छ।

‘केही वर्षअघिसम्म सिजनमा १५ दिन अगाडि नै टिकट बुकिङ हुन्थ्यो, पछि टिकट पाइँदैनथ्यो’, सिम्रिक एयरका बजार प्रबन्धक थापाले भने, ‘अहिले त्यस्तो अवस्था अन्त्य भएको छ, प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइन थालेको छ।’

वाई प्रतिस्पर्धा बढ्नु यात्रुका लागि राम्रो हो। यात्रु बढ्नासाथ महँगो र यात्रु घट्नासाथ सस्तोमा टिकट बिक्री गर्ने प्रवृत्ति प्रतिस्पर्धाले केही घटाएको छ। तर, ‘फेयर वार’ चलेमा कम्पनी समस्यामा पर्ने देखिन्छ। ‘वार्षिक औसत ९० प्रतिशत अकुपेन्सीमा उडिरहेका विमानमा यात्रु घट्दै जाने अवस्था देखिएको छ’, थापाले भने।


आन्तरिक उडानमा अहिले ५० भन्दा बढी जहाजले सुगम, दुर्गम र पहाडी क्षेत्रमा सेवा दिँदै आएका छन्।

हवाई भाडा घटेमा यात्रुसंख्या बढ्ने सम्भावना पनि उत्तिकै देखिन्छ। आन्तरिक उडानका विमान थपिएका छन्। तर, गन्तव्य थपिन सकेका छैनन्। सरकारले विभिन्न ठाउँमा विमानस्थल निर्माण गर्ने बताए पनि प्रगति देखिएको छैन। आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुचाप भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, पोखरा, सिमरा, भद्रपुर र लुक्लमा छ। यसबाहेक नेपालगन्ज विमानस्थललाई बेस बनाएर रारा, सिमिकोटलगायत कर्णाली अञ्चलमा केही सीमित कम्पनीले उडान भरिरहेका छन्। विमान कम्पनीका लागि माउन्टेन फ्लाइट पनि राम्रो आम्दानी हुने उडान बनेको छ।

सुगमको उडानमा प्रतिस्पर्धा बढे पनि दुर्गममा खासै प्रतिस्पर्धा नरहेको यती एयरलाइन्सका मिडिया प्रबन्धक भीमराज राईले बताए। सुगम गन्तव्यमा पनि सिजनमा राम्रै यात्रु पाइरहेको कम्पनी बताउँछन्।

अफ सिजनमा विमान कम्पनीले सस्तो भाडामा यात्रु बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिने क्रम बढ्दो छ। ‘आन्तरिक उडानमा विमान थपिनु राम्रो पक्ष हो’, उनले भने, ‘विमान थपिएसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढ्ने सम्भावना उत्तिकै छ।’ सिट बढेपछि पहिलाजस्तो टिकट नै नपाउने अवस्थाको अन्त्य भइसकेको छ।

तर, विमान सञ्चालक विमान थपिए पनि ९० प्रतिशत अकुपेन्सी रहेको दाबी गर्छन्। आन्तरिक उडानका यात्रु बढ्दै गएपछि विमान थपेको उनीहरूको तर्क छ। सडकयात्रा कष्टकर बन्दै गएपछि पछिल्लो समय हवाई यात्रा गर्ने यात्रु बढिरहेका छन्। सन् २०१५ र १६ को तथ्यांकले हवाई यात्रु बढ्दै गइरहेको देखाउँछ।

कसले कति जहाज थपे

आन्तरिक उडानकै लागि भन्दै नेपाल राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सले दुईवटा वाई १२ र एउटा एमए ६० जहाज नेपाल ल्याइसकेको छ भने आन्तरिक उडानमा खस्कँदो बजार हिस्सा सुधारका लागि भन्दै फेरि ६ वटा ट्विनअटर र दुईवटा ७० सिट क्षमताको जहाज खरिद प्र्रक्रिया थालेको छ। निगमले अहिले आठवटा जहाजमार्फत आन्तरिक उडानमा सेवा दिँदै आएको छ।

साथै नेवानिले चालू आवमा मात्रै एउटा वाइडबडी जहाज भित्र्याएको छ भने अर्को वाइडबडी पनि आउने क्रममा छ। साथै अन्तर्राष्ट्रिय उडानकै लागि नेवानिले २०१९ सम्म दुईवटा एयरबस किन्ने तयारी गरेको छ।

यसैगरी निजी हवाई सेवा प्रदायक बुद्ध एयरलाइन्सले पनि चालू आवमा मात्रै दुई वटा एटीआर जहाज भित्र्याएको छ। योसँगै बुद्धले ११ वटा जहाजमार्फत आन्तरिक उडानमा सेवा दिँदै आएको छ। यस्तैगरी, यती एयरलाइन्सले पनि चालु आवमा मात्रै दुईवटा एटीआर जहाज नेपाल ल्याइसकेको छ। फेरि यतीले अर्को जहाज पनि ल्याउने तयारी गरेको छ। आन्तरिक उडानमै दुईवटा जहाजमार्फत सेवा दिँदै आएको सिम्रिक एयरलाइन्सले पनि जहाज थप्दै सेवा विस्तारको योजना ल्याइसकेको छ।

यसस्तैगरी एक वर्ष अगाडि मात्रै आन्तरिक उडानमा प्रवेश गरेको श्री एयरलाइन्सले पनि चालू आवमा ७० सिट क्षमताको सीआरजे जहाज भित्र्याउँदै सेवा विस्तार गरिरहेको छ। श्रीले फेरि टब्रोपव जहाज थप्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिइसकेको छ।

साथै तारा एयरले पनि आउँदो सोमबार दुर्गम क्षेत्रको उडान विस्तारकै लागि नयाँ ट्विनअटर जहाज ल्याउन लागेको छ। यी सबै गरी अहिले आन्तरिक उडानमा ५० भन्दा बढी जहाजले सुगम, दुर्गम र पहाडी क्षेत्रमा सेवा दिँदै आएका छन्। आन्तरिक उडानमा नेपाल एयरलाइन्स, बुद्ध, यती, सिम्रिक, सौर्य, श्री, समिट, तारा, सीता र मकालु एयरले सेवा दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.