सप्तरीको सेरोफेरो
सैर कर दुनियाँ की गाफिल, जिन्दगानी फिर कहाँ ?
जिन्दगी गर कुछ रही तो नौजवानी फिर कहाँ ?
-कपोतराज
उज्यालोमा यात्रा गर्दा अँध्यारोभित्र शिला खोजिएका सपना, लिइएका आ श्रय, ज्यान जोगाइदिँदै करले डरले, दयाले खान÷बस्न दिने भलमानुष चहार्दै अहिले सप्तरी पुगेको छु । मेरो हिस्साको कर्तव्य मैले पूरा गर्नैपर्छ । पाइतालाका डोबले कोरिएका बाटा, बाटाले नै नयाँ बाटा देखाउँदै जाँदो रहेछ । हाम्रा विविधता गजबका छन् । इतिहास, भाषा, संस्कृति, चालचलन, स्वाभिमानी गौरवगाथा यत्रतत्र छरपष्ट । सोच साँघुरा भए बाटा साँघुरा देखिँदा रहेछन् ।
लागें गड्गडाउँदा कोसीको पश्चिम किनारैकिनार । कोसी कहिले जीवन बनेर मान्छे र धर्तीको प्यास मेटाउँछ । कहिले आतंक र काल बनेर ताण्डवनृत्य मच्याउँछ । त्यसै सप्तरीकोे नामाकरण भएको हैन । जन श्रुति छ, सप्तकोसीले ज्यादै दुःख दिएकाले यस थलोलाई सप्तअरी (सात शत्रु) भन्न थालियो । अर्को श्रुति भन्छ, सप्त तरी अर्थात् सात वनले ढाकिएको ।
उर्लंदो कोसीले सनातनी बाटो फेर्दै जाँदा कोसी किनाराका वासिन्दा प्रकृतिसँग पौंठेजोरी खेल्दै जान्छन् । कहिले नदीले ल्याएको लेदो भेलले खेतलाई उर्वराभूमि बनाइदिन्छ, कहिले त्यहीं नदी महाकाल बनिदिन्छ । महाजिम्दारी थलो । ठूला सामन्तका ठूलाठूला कामत । वर्ग संघर्षमा होमिने किसान र जिम्दारबीच मनमुटाव र अनेकांै भिडन्त । उदार जिम्दार प्रजातान्त्रिक आन्दोलनमा, अनुदार सदा सत्ताका वैशाखी । अहिले तिनै अनुदार बहुसंख्यक फोरम र राजपामा । सीमा रक्षाका स्वतस्फूर्त अभियान । दलितहरूका प्रतिरोधी आन्दोलन, कामतमा बहुबेटी नपठाउँदा भएका हत्या र प्रतिरोधी भिडन्त, माओवादी जनयुद्ध र मधेस विद्रोहका नालीबेली ।
पूर्व-पश्चिम राजमार्गमा अन्यत्र ठूला बजार र उद्योग कलकारखाना छन् तर सप्तरी लागेपछि स्यालका सिङ हुन्छन् । एक समय थियो- उपत्यकापछि सबैभन्दा शिक्षित थलो । अहिले भने धेरैजसोको जन्म सप्तरी, बसाइँ वा सेवा अन्यत्र । ७४ जिल्लामा झाँगिएका छन्, सप्तरिया उच्च र मध्यमखाले जनशक्ति । तिनैले शिक्षाको ज्योति बाले, कृषि तथा पशुपालनलाई आधुनिकीकरण गरे, जनस्वास्थ्य सेवालाई टेवा दिए । त्यसको फसल अहिले सुदूरबस्तीले चाख्दै छ ।
सहरीयालाई यी बहस छलफलका विषय बन्दैनन् । व्यवस्थाले धेरैजनाको मस्तिक खसी पार्दिसक्यो, पचाउँदै छ । मिडियालाई पनि गाउँ, देहात, पहाड र हिमाली बस्ती बहसका विषय बन्दैनन् । बरु बन्न सक्छन्, एनजीओका विज्ञापन । सिद्धान्तको राजनीतिलाई सुविधाको राजनीतिले क्वाप्पै निलिदिँदा उनीहरूलाई इतिहासको गौरव काउसो बन्छ ।
माओवादीको राजनीतिक उदासीनता र विफलतासँगै मधेसवादी सोही कित्तामा पुगे । नाराको संवेदनात्मक स्वामित्व नलिने माओवादीजस्तै राजपाको कुरै नगरौं ।
पुरानो छ, सप्तरीको सदरमुकाम हुनमाननगरको इतिहास । सुब्बा पद्मनाथले १९१७ सालमा नेपालगन्ज बजारमा ३६० कोठी सदरिया बसाएजस्तै तत्कालीन बडाहाकिम जितबहादुर कर्णेलले १९५० सालमा हनुमाननगर बसाउन सीमापारिका व्यवसायी ३२ कोठीमा निम्त्याए । कोसी कटानले १९९८ मा सिराहा-सप्तरीको सदरमुकाम हनुमाननगरबाट १० किमी पश्चिमको राजविराजमा सर्योे । भारत जयपुरको नक्सामा आधारित नयाँ सदरमुकाम ६० बिघा (पछि १० बिघा थप) क्षेत्रफलमा बडाहाकिम प्रकाश शमशेरको पालामा इन्जिनियर डिल्लीजंगले बसाए । २०१६ मा नगर घोषणा भयो । नेपालको पहिलो व्यवस्थित सहर । जिल्लाका साथै सगरमाथा अञ्चलको सदरमुकाम पनि । २०१८ मा सप्तरीबाट छुट्टिएर सिराहा नयाँ जिल्ला बन्यो ।
हनुमाननगरको जेलबाट २००० साल ठजेठ ९ गते राति भारतीय स्वतन्त्र संग्रामका नेता जयप्रकाश नारायण र डा. राममनोहर लोहियालाई नेपालीले जेल कब्जा गरेर मुक्त गराए । सोही घटनाका योद्धा कृष्णवीर कामी, अब्दुल मिया, नेबु मण्डलले काठमाडौं जेलमा मृत्युवरण गरे । सप्तरी चेतनाको केन्द्र कोइलाडी र बर्साइन यो जेलबाट दुई किलोमिटर पूर्वतर्फ छ- समाजवादी रामेश्वरबाबु, पहिलो गणतन्त्रवादी रामराजाप्रसाद सिंह र गजेन्द्रनारायण सिंहको जन्मथलो । ००७ सालमा कैलाली धनगडीमा आन्दोलनकारीद्वारा मारिएका बडाहाकिम महिकर नारायणसिंह थारू यहींकै थिए ।
कुनै दिनको वाम÷प्रजातान्त्रिक आन्दोलनको थलो, अहिले त्यो कर्म, आग्रह, आवेग र घृणा उन्मादमा फसाउँदै राजनीतिक फसल काट्नेको बिगबिगी छ । केही कुरा बुझिँदैन, त्यसलाई बिर्सन सकिन्छ, केही कुरा बुझेर पनि बुझिँदैन । छोड्न पनि मुस्किल । तब के भयो ? किन भयो ? कसो भयो ? कसरी भयो ? भनेर व्याकुल बनाउँदो रहेछ ।
अहिले परिवर्तन र पहिचानको राजनीति संघात्मक सोचको फसल कसले कसरी काटिरहेका छन्, आवेगले त्यता ध्यान दिँदैन । तर अजवलाल यादव र वेदप्रसाद भट्टराईलगायत ४० जनाले सशस्त्र संघर्षमा बगाएको रगत र भलौरी ब्यारेक सप्तरी यात्रामा भुलियो भने अहिलेको राजनीति र परिवर्तन बुझ्न कठिन हुन्छ । एन्टोनियो ग्राम्सी सप्तरीमा पनि सान्दर्भिक हुन्छन्, ‘कुल मिलाएर संकट यस तथ्यमा निहित छ, पुरातनको मृत्यु भइरहेको छ तर नवीनले जन्म लिन सकिरहेको छैन । यस संक्रमणकालमा अनेकानेक रुग्ण लक्षण प्रकट भइरहेका छन् ।’ नवीनले जन्म त लियो, चित्र र चरित्र भने पुरानै बोकेर ।
मेरा ज्ञान-भोक, सूचना-प्यास, गौरवको मर्मबोध हिम्मत सिंहको कुटी, गोविन्द सिंहको मिहीन अध्ययन, मदनमोहन चौधरी र माओवादी पूर्वमन्त्री उमेश यादवको राजनीतिक सोच, नेताजी रामाराजाका कान्छा छोरा पंकज सिंहहरूका चस्माले मेटाउँदै थिएँ । भोगेन्द्र यादव त काभ्रे पाँचखालको सांस्कृतिक दूत नै हुन्, गाउँको तिर्सना नै मेटाइदिने । सनातनी चस्मा लगाएर सप्तरी, समय र समाज अध्ययन गर्न गाह्रो पर्छ ।
यस यायावरीको सहयोगी हृदयमित्र भण्डारीजी र सन्तोष यादवसँग मेरो राजनीतिक कुनै साइनो छैन, तर उनीहरूसँग रहेका जिज्ञासाले अझ हौस्यायो । आध्यात्मिक चेतका भण्डारीजीको अपेक्षा मन्दिर गएर पुजा आर्चन गरोस् भन्ने छ । तर म आध्यात्मिकताको विश्वासी हैन पुरातत्वसँग भने लगाव राख्छु । मिथिलाञ्चलमा किराँत, लिच्छवि, कर्नाटक, तिरहुत सेनवंशी, मिथिला कलाका मन्दिरहरू प्रशस्त छन् । बाह्रौं शताब्दीको शिरहीन छिन्नमस्ताको मन्दिरले सत्ता फेरिँदै जाँदा नाम पनि फेर्दै गयो ।
अन्तर्राष्ट्रिय मैथिली संवेलन चलिरहेको छ । सप्तरी राजनीतिक प्रयोगशाला र इतिहासको अध्ययन मात्रै हैन, समाजशास्त्री र नृवंशशास्त्रीको अध्ययनशाला पनि हो । विविध भाषा, भाषी र संस्कृतिका मानिसको बसाइ छ । भाषामा क्रमशः मैथिली, थारू र तेस्रोमा खस नेपाली हो । जनसंख्याका हिसाबले क्रमशः यादव, थारू, मुस्लिम, तेली, धानुक मुसहर, खत्वे र चमार । दलितहरूको जनसंख्यामा क्रमशः मुसहर, खत्वे, चमार, बाँतर, लोहार (सुतिहार), दुसाध (पासवान) तत्मा, धोबी, डोम, कामी, दमाई, सार्की, मेहेत्तर, जोगी (कलर) ताँती, कसाई पर्छन्, विदेश जानेको रोजाइमा कतार, अरब र यूएई पर्छ ।
राजविराजमा गज्जुबाबुको उत्तराधिकारीको लडाइँ विनाटिकटको तमासा बनेको छ । उनको जन्मदिन मनाउनेको होड सो फरक मञ्चमा देखा पर्छ । सामान्यजनलाई पुग्न कठिन उनको समाधिको स्वरले ‘मलाई मेरा अनुयायीबाटै बचाऊ, दुस्मन त यसै पनि अस्तित्व नष्ट गर्न खोज्दै थिए ।’ त्यत्रो किसान आन्दोलनको थलो, प्रजातान्त्रिक आन्दोलनको कारखाना विवेकीको संगठित प्रयास । कसरी घृणा र उन्मादमा फेरिन सक्छ ! समाजवादी रामेश्वरबाबुको कांग्रेसको हविगत किन यस्तो भयो ! पराइभन्दा किन आफ्नैबाट मान्छे सबभन्दा धेरै आतंकित हुन्छन् ? के औपचारिक प्रजातन्त्रको संसदीय भीडको राजनीतिले भुइँमान्छेको नेतृत्व गर्न सक्छ ?
नारालाई स्वामित्व लिन नसक्दा अरुकै अपहरणमा पर्दो रहेछ । क्रान्ति वा विद्रोहपछि फस्टाउने महत्वाकांक्षाको व्यवस्थापन गम्भीर विषय रहेछन् । माओवादीको राजनीतिक उदासीनता र विफलतासँगै मधेसवादी सोही कित्तामा पुगे । नाराको संवेदनात्मक स्वामित्व नलिने माओवादीजस्तै राजपाको कुरै नगरौं । अब फोरमको अवस्था पनि बिहारी यमवाई समीकरण जस्तै (यादव र मुस्लिम) अस्तित्व धान्नु परिरहेको छ ।