फोहोर नदीमा, लिजको जग्गा व्यर्थै

फोहोर नदीमा, लिजको जग्गा व्यर्थै

जनकपुरधाम : ल्यान्डफिल साइट बनाउनका लागि जनकपुर उपमहानगरपालिकाले जग्गा लिजमा लिइसके पनि फोहोर भने धार्मिक महŒवका नदीमा थुपार्ने काम भइरहेको छ । जनकपुर–२३ विन्धी टोल बेला भएर बग्ने दूधमती नदी फोहोरमैलाको अव्यवस्थित विसर्जनका कारण प्रदूषित हुनुका साथै थुनिन पुगेको छ ।

ल्यान्डफिल साइट व्यवस्थापनमा चासो नदेखाएका मेयर लालकिशोर साहको निर्देशनमा सफाइ कर्मचारीले नगरभरिको फोहोर उठाएर नदी किनारस्थित तीन बिघा क्षेत्रफलको श्मसानघाटमा थुपार्दै आएका थिए । तीन महिनादेखि फोहोर थुपारिन थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए । उनीहरूले वडाध्यक्ष शत्रुधन पाण्डेलाई घेराउ गरी जथाभावी फोहोर फाल्ने कार्य रोक्न र शमसानघाट सफा गराउन दबाब दिएका थिए । वडाध्यक्ष पाण्डेले असार २६ गते यथाशीघ्र श्मसानघाटको फोहोर हटाउने सम्झौतामा हस्ताक्षरसमेत गरेका थिए । तर, फोहोर उठाए पनि नजिकै बग्ने दूधमती नदीको मुहानमा थुपारिएपछि स्थानीयले आक्रोश जनाएका छन् ।

साउन महिनामा यो नदीमा नुहाएर महादेवस्थानमा जल चढाउन सयौं श्रद्धालु आउने गर्छन् । तर, फोहोरका कारण नदी गनाउन थालेपछि यो वर्ष साउने मेला प्रभावित हुने स्थानीय लक्ष्मी सहनी बताउँछन् । दूधमतीको महŒव रामायण र माता सीताको जन्मसँग जोडिएकाले सरसफाइका लागि स्थानीय बुद्धिजीवीले अभियान सञ्चालन गरिरहेका छन् । तर, मेयर साह र वडाध्यक्ष पाण्डेको मिलेमतोमा नदी प्रदूषण गर्ने काम भएपछि विरोध गरिएको गौं संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले बताए । ‘यस्तो क्रियाकलाप नगर्न अनुरोध गर्दा मेयर साहले मलाई ज्यान मार्ने धम्की नै दिएका छन्’, उनले भने ।

देवस्थल वा श्मसानघाटमा फोहोर फाल्नु उचित नरहेको वडाध्यक्ष पाण्डेले स्वीकार गरे । ‘त्यहाँबाट फोहोर हटाउन उपमहानगरपालिकालाई पत्र पठाइसकेको छु’, उनले भने । दूधमतीको मुहान असली नदीको मुहान नरहेको जिकिर गर्दै उनले यो स्थानीयले सिँचाइका लागि प्रयोग गर्ने पानी रहेको बताए । स्थानीयकै सहयोगका लागि त्यसमा फोहोर थुपारेर बाटो बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

फोहोरमैला व्यवस्थापनका लागि एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ल्यान्डफिल साइट बनाउन २०७३ साल फागुन २० गते उपमहानगरपालिका र केन्द्रीय गुठी संस्थानबीच सम्झौता भई जग्गासमेत उपलब्ध भइसकेको छ । सम्झौताअनुसार धनुषाको प्रको महुवा भोइलमा १२ बिघा १० कट्ठा १६ धुर जग्गा २० वर्षका लागि लिजमा लिइएको छ । यो जग्गामा ल्यान्डफिल साइट निर्माण गर्न आयोजनाबाट ४८ करोड रकमसमेत छुट्याइएको जनाइएको छ ।

सम्झौताअनुरूप उपमहानगरपालिकाले जग्गाको उपयोग गरेबापत वार्षिक ४ लाख ५ हजार रुपैयाँका दरले संस्थानलाई भाडा बुझाउँदै आएको छ । तर, ल्यान्डफिल साइट निर्माणका लागि उपमहानगरपालिकाले पहल नगरेको जनाइएको छ । ल्यान्डफिल साइट बने फोहोरमैला व्यवस्थापनका नाममा उपमहानगरपालिकाबाट हुने अनियमितता र भ्रष्टाचारको बाटो बन्द हुने भएकाले त्यसतर्फ ध्यान नदिइएको सरोकारवालाको जिकिर छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.