मधेस आन्दोलका घाइतेहरुलाई राहत वितरणमा विभेद

मधेस आन्दोलका घाइतेहरुलाई राहत वितरणमा विभेद

वीरगन्ज :  मधेस आन्दोलनका घाइतेहरुले राहत वितरणमा प्रदेश नम्बर २ को सरकारले विभेद गरेको आरोप लगाएका छन्। मधेस आन्दोलनका दुई जना घाइते उपेन्द्र यादव र नगीना पासवानले वीरगन्जमा आइतबार पत्रकार सम्मेलन नै गरेर राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप लगाएका हुन्।

 दोश्रो मधेस आन्दोलनका क्रममा २०७२ साल भदौ १५ गते वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीले हानेको गोली देब्रे खुट्टामा लागेर घाइते भई अपाङग भएका वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीका उपेन्द्र यादव बैशाखीको भरमा हिडडुल गर्न बाध्य छन्। 
 यस्तै दोश्रो मधेस आन्दोलनका क्रममा २०६२ साल माघ २० गते वीरगन्जमै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोलीको छर्रा टाउकोमा लागेर घाइते भएका वीरगन्ज महानगरपालिका–२३ प्रसौनीका नगीना पासवानको टाउको भित्र रहेको गोलीको छर्रा उपचारको अभावमा अझै निकाल्न सकिएको छैन। 

प्रदेश सरकारले मधेस आन्दोलनका घाइतेहरुलाई उनीहरुको अवस्था हेरेर अधिकतम तीन लाख रुपैयाँसम्म राहत दिने निर्णय गरको छ। त्यहीँ निर्णय अनुसार असार पहिलो साता मुख्यमन्त्री लालबाबु राउतले आफ्नो गृह जिल्ला पर्साका दुई जना घाइते मुन्सी पटेल र पन्नालाल यादवलाई जनही तीन÷ तीन लाख रुपैयाँ राहतका रुपमा वितरण गरिसकेका छन्। 

तर अन्य घाइतेहरुलाई भने मुख्यमन्त्री राउतले राहत वितरणमा विभेद गरेको आइतबारको पत्रकार सम्मेलनमा घाइते उपेन्द्रले गुनासो गरे।   पर्साका दुई जना घाइतेलाई मुख्यमन्त्री राउतले जनही तीन÷ तीन लाख रुपैयाँका दरले राहत वितरण गरेपनि आफूलाई भने एक लाख मात्र दिएकाले उक्त रकम फिर्ता गरि दिएको उपेन्द्रले बताए।

 ‘मलाई पनि मुख्यमन्त्री राउतले आफनै घरमा बोलाएर एक लाख रुपैयाको मात्र चेक दिए, तर मैले तीन लाख किन नपाउने भनेर प्रश्न गर्दा उनले तिमीलाई एक लाख मात्र दिन सकिन्छ भनेपछि मैले एक लाखको चेक फिर्ता गरिदिए, उपेन्द्रले भने,‘ राहत वितरणमा पनि मुख्यमन्त्रीले विभेद गरेका छन्।’  

 आन्दोलनका क्रममा गोली लागेका देब्रे खुटटाको घाउ देखाउदै उपेन्द्रले भने,‘ गोली लागेर अपांग भएको छु , खुट्टाभित्र स्टिल लगाइएको छ,बैशाखीको भरमा हिडिरहेको छु , तीन वर्षदेखि मेहनत मजदरीको कुनै काम गर्न सक्ने अवस्थामा पनि छैन, कर्जा काढेर बालबच्चा र परिवार पालिरहेको छु।’

आन्दोलनका बेला गोली लागेर घाइते भएका उनको उपचारमा नेताले चासो नदेखाएपछि पैतृक सम्पतिका रुपमा रहेको खेत बेचेर काठमाण्डौको ट्रमा सेन्टर र स्टार अस्पतालमा ३० महिनासम्म भर्ना भएर उपचार गराएको उपेन्द्रले बताए। 
 उपचारमा १५ लाख रुपैयाँ खर्च भएको र त्यो उपचार खर्च पनि आफूले अहिलेसम्म नपाएको गुनासो उनले गरे। उपचारमा लागेको खर्चको सबै बिल र रसिद मुख्यमन्त्री राउतलाई दिइसकेको भएपनि उपचारमा लागेको खर्चको पनि अहिलेसम्म एक रुपैयाँ नपाएको उनले बताए।

चुनावका बेला नेताहरु घर घरमै आएर अनेक आश्वासन दिए, हाम्रै पिडा र घाउको फोटो बेचेर चुनाव पनि जिते गहभरि आशु झार्दै उपेन्द्रेले भने,‘चुनाव जितेर सांसद, विधायक, मन्त्री, मेयर पनि बने तर अहिले हामीलाई धोका दिएका छन्।’  बालबच्चाको पालनपोषण र पठनपाठन तथा रोजगारीको प्रबन्ध मिलाइ दिन उनले प्रदेश सरकारसँग माग गरे।   

 यस्तै मधेस आन्दोलनकै अर्का घाइते वीरगन्ज महानगरपालिका–२३ प्रसौनीका नगीना पासवानले पनि अहिलेसम्म आफूले पनि राहतका नाममा एक रुपैयाँ पनि नपाएको  बताए।   पहिला मधेस आन्दोलनका क्रमममा टाँउकोमा गोलीको छर्रा लागेर घाइते भएका पासवानले उपचारका अभावमा अहिलेसम्म पनि गोलीको छर्रा आफनो टाँउको भित्रै रहेको बताए। 

राहतका लागि सांसद, विधायक र नेताहरुलाई पटक पटक गुहारे पनि एक रुपैयाँ पनि राहत नपाएको भन्दै उनले भने,‘अहिले प्रदेश सरकारले घाइतेहरुलाई राहत दिइरहेको सुनेको छु तर मसँग भने कसैले पनि सम्पर्क गरेको छैन।’
 १२ वर्षदेखि टाँउको भित्र रहेको गोलीको छर्रा निकाल्न नसक्दा सधैभरि बिरामी परिरहेको भन्दै उनले भने ,‘ आन्दोलनमा गोली लागेर घाइते भएछि काठमाडौंको वीर अस्पतालमा दुई महिनासम्म आफ्नै खर्चमा उपचार गराए, राहतको त कुरै छाडौ, उपचारमा गरेको खर्च पनि अहिले सम्म मैले पाएको छैन।’

 गोली लागेर घाइते भएपछि उपचारमा आफनो जायजेथा बेचेर खर्च गरेको र थप रकम नहुँदा १२ वर्षदेखि टाँउको भित्र रहेको गोलीको छर्रा निकाल्न नसकेको भन्दै पासवानले भने ,‘टाँउकोभित्र गोलीको छर्रा छ, सधैंभरी बिरामी परिरहन्छु, कामधाम गर्न सकेको छैन, आम्दानी नभएपछि दुइ छोरालाइ बोर्डिङ स्कुलबाट झिकेर सरकारी स्कुलमा भर्ना गरेको छु। 
 आन्दोलन र चुनावमा नेताहरुले आफूहरुलाई प्रचार सामाग्रीको रुपमा प्रयोग गरेको भन्दै पासवानले भने ,‘ जुन सपना लिएर आन्दोलनमा ज्यान फाल्यौ त्यो सपनामाथि अहिले नेताहरुले धोखा दिइरहेका छन्, उनीहरु आफनो स्वार्थमा मात्रै डुबेका छन्। प्रदेश नम्बर २ को सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको प्रदेश २ का सचिव सलाउदीन अहमदले भने घाइतेहरुको अवस्था हेरेर अधिकतम तीन लाख रुपैयाँसम्म राहत दिने निर्णय प्रदेश सरकारले गरेको बताए। 

 त्यही निर्णय अनुसार मुख्यमन्त्री राउतले अहिलेसम्म पर्साका दुई जना घाइतेलाई जनही तीन÷तीन लाख रुपैया राहत हस्तान्तरण गरेको उनले बताए।  घाइते उपेन्द्र यादवलाई पनि उहाँको अवस्था हेरेर मुख्मन्त्री राउतले एक लाखको चेक दिनु भएको थियो तर उहाँले थोरै भयो भनेर लिन मान्नु भएन , अहमदले भने ,‘ तै पनि हामी उहाँको चित्त बुझाउनेछौ , अरु घाइतेहरुलाई पनि प्रदेश सरकारले क्रमशै राहत रकम दिने तयारी गरिरहेको छ।’

 घाइतेहरुलाई राहत वितरणका लागि मुख्यमन्त्रीको कार्यालयले कर्मचारीहरु नै सम्मिलित समिति बनाउने र उक्त समितिले घाइतेहरुको अवस्था हेरेर राहत रकमको निर्धारण गर्ने अहमदले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.