नेपाल-चीन संयुक्त सैन्य अभ्यास असोज १ मा

नेपाल-चीन  संयुक्त सैन्य अभ्यास असोज १ मा

काठमाडौं : नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने सैनिक स्रोतले बताएको छ। गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो।

प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए। प्रधानमन्त्री ओली र त्यसलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणले संयुक्त सैन्य अभ्यासको टुंगो लगाएको हो।

प्रधानसेनापति क्षत्री चीन भ्रमणमा गएका बेला त्यहाँका रक्षामन्त्री र सेना प्रमुखसँग समेत संयुक्त सैन्य अभ्यासलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए। संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद व्यवस्थापनलगायतमा केन्द्रित हुने छ। सैनिक जनसम्पर्क निर्देशनालयका सहप्रवक्ता महासेनानी विजय थापाले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दुमा हुने बताए। महासेनानी थापाले अन्नपूर्णसँग भने, ‘सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीहरूबाहेक नेपाली सेनाको तर्फबाट पर्यवेक्षक टोलीसमेत त्यसतर्फ प्रस्थान गर्ने छ।’

संयुक्त सैन्य अभ्यासको मिति तय भएसँग दुवै मुुलुकका सैनिक अधिकारी त्यसको तयारीमा जुटेका छन्। नेपाली सेनाले संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीलाई विभिन्न विषयमा तालिम दिइरहेको छ।

गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म महाराजगन्जस्थित विशेष बाहिनीमा दुई देशका विशेष सेनाले सैन्य अभ्यास गरेका थिए। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए। दोस्रो संस्करणमा समेत नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित हुने छ।

नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको पहिलो संयुक्त सैन्य अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप—२०१७’ नाम दिइएको थियो। गत वर्ष चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली संयुक्त सैन्य अभ्यासका लागि काठमाडौं आएको थियो। सेनाले सैन्य कुटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

नेपाली सेनाले अमेरिकी सेनासँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। नेपाली र भारतीय सेनाबीच पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आइरहेको छ। नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज सूर्यकिरण’को १२ औं संस्करण अघिल्लो वर्ष भदौमा रूपन्देहीको सालझण्डीस्थित सेनाको ब्याटल स्कुलमा भएको थियो।

सेनाले पछिल्लो समय द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम र अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ र मजबुत पार्दै आएको छ। नेपाल र चिनियाँ जनमुक्ति सेनाबीच गत वर्ष भएको संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली मुलुकले असहजता प्रकट गरे पनि नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.