सडकको दुर्दशाले सर्वसाधारण हैरान

सडकको दुर्दशाले सर्वसाधारण हैरान

भोजपुर : बर्खा सुरु भएसँगै भोजपुर सदरमुकामको मुख्य सडक यतिबेला हिलाम्मे र सवारीसाधन चल्नै नसक्ने भएपछि सर्वसाधारणलाई बाटोमा हिँड्न सास्ती भएको छ। भोजपुर नगरपालिकाले समयमै सडक मर्मतमा ध्यान नपुर्‍याउँदा स्थानीयलाई आवतजावतमा समेत निकै कठिनाइ भएको हो।

पैदल यात्रु, विद्यार्थी र स्थानीयलाई सदरमुकामकै सडकमा यस्तो सास्ती खेपेर हिँड्नुपर्दा जनप्रतिनिधिले कुनै चासो नदिएको भोजपुर–९, पानीट्यांकीका रमन राईले आक्रोश पोखे। उनले भने, ‘नगपालिकाभित्रैको मुख्य सडकको यस्तो बेहाल छ, मर्मत गर्न जनप्रतिनिधि र अन्य सरकारी निकायले समेत ध्यान दिएका छैनन्।’ भोजपुर नगरपालिका–६ देउरालीका चक्रप्रसाद राईले पनि बर्खा सुरु भएसँगै सदरमुकामकै सडकमा हिलोमा डुबेर हिँड्नुपरेको समस्या सुनाए। बाटोमा हिँड्दा चिप्लिने, लड्ने र घाइते नै हुने अवस्थासमेत सिर्जना भएको बताए। गन्तव्यमा ढिलो पुगिने समस्या सामान्यजस्तै भएको उनले गुनासो गरे।

विगतमा बर्खाका बेला अत्यधिक समस्या हुने गरेको ६६ किलोमिटर भोजपुर–लेगुवा सडकखण्डमा अहिले सडक स्तरोन्नति गरिएकाले पहिलेजस्तो धरान–भोजपुर यात्रा गर्ने यात्रुलाई सास्ती छैन। तर, सदरमुकाम रहेको नगरपालिकाले मुख्य बजार क्षेत्रकै करिब दुई किलोमिटर सडकखण्ड मर्मतसम्हार र स्तरोन्नतिमा नगरपालिकाले समेत चासो लिएको छैन। बर्खा सुरु हुनुअगावै मर्मत सम्भारमा ध्यान नदिँदा स्थानीय र विद्यार्थीले बढी सास्ती खेप्दै हिँड्नुपरेको छ। मुख्यबजार क्षेत्रकै सडक हिलाम्मे बनेपछि बसपार्कबाट छुटेका यात्रुवाहक बस तथा गाडी २० मिटर गुडेपछि हिलोमा फस्ने गरेको छ। जसकारण टाढा–टाढा यात्रा गर्ने यात्रु घण्टौंसम्म गाडी कुरेर बस्नुपर्ने बाध्यता छ।

नगरपालिकाले समयमै सडक मर्मत नगर्दा विशेषगरी सर्वसाधारण र स्कुले विद्यार्थी बढी मारमा परेको सुनाउँदै भोजपुर नगरपालिका–१२ टक्सार मालबाँसेका रोबर्ट सुवेदीले भने, ‘सदरमुकामजस्तो सुविधासम्पन्न क्षेत्रकै सडक हिलाम्मे हुनुमा नगरपालिकाको चरम लापरबाही भएको महसुस गरेको छु। जनप्रतिनिधिले यसतर्फ ध्यान दिनु पर्दैन ? बर्खा लाग्नुअगावै राम्रो मर्मत गरिदिएको भए सर्वसाधारणलाई सास्ती हुने थिएन।’

नगरपालिकाका कार्यालयबाट करिब ५० देखि एक सय मिटर दूरीमा रहेको सडक नै बढी हिलाम्मे र आउजाउ गर्न समस्या हुने गरेको छ। सरोकारवाला निकायले यस्तो दुर्दशाप्रति खासै ध्यान गएको देखिँदैन। ‘बाह्रहात नापेर भित्तामा हार्नु’ भनेजस्तै मुख्य बजारक्षेत्रै सवारीसाधन घण्टाैसम्म फस्ने गरेका छन् भने पैदल यात्रुलाई पनि समस्या हुने गरेको छ। तर, यता मेयर कैलाशकुमार आलेले आगामी वर्षमा बजेट विनियोजन गरी सडक स्तरोन्नति गरेर सुधार गरिने बताए। उनले भने, ‘बर्खामा बिग्रने यी कच्ची सडकमा ओहोरदोहोर गर्ने सवारीसाधन, पैदलयात्रुको समस्यालाई ध्यानमा राख्दै इस्टिमेट गरिसकेका छौँ। आगामी वर्षदेखि स्थानीयले यस्तो सास्ती भोग्नु पर्ने छैन।’

चालु आर्थिक वर्ष ०७५÷७६ का लागि नगरपालिकाले असार पहिलो साता दोस्रो नगरसभाबाट ३९ करोड बजेट विनियोजन गरेको थियो। गत आर्थिक वर्षमा कर्मचारी अभाव र योजना सञ्चालनमा देखिएका अन्योलका कारण आँटेजति सडक, खानेपानीलगायत भौतिक पूर्वाधारका योजना तथा विकास निर्माण अगाडि बढाउन नसकिएको नगरपालिकाले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.