प्रावि शिक्षककै भरमा माध्यमिक विद्यालय

प्रावि शिक्षककै भरमा माध्यमिक विद्यालय

बुटवल : विद्यार्थीको तुलनामा निकै कम शिक्षक हुदा रुपन्देहीका दक्षिण क्षेत्रका माध्यमिक विद्यालयहरु प्राथमिक दरबन्दीका शिक्षकै भरमा चलेका छन् । विद्यालयहरुमा विद्यार्थी अनुपातको तुलनामा निकै कम दरबन्दी र शिक्षकहरु छन् ।

रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ६ मा रहेको थर्की माविमा यो वर्ष ११ सय ४० विद्यार्थी भर्ना भएका छन् । तर विद्यालयमा मावि त परै जाओस् निमावि दरबन्दी समेत छैन । प्रावि दरबन्दीले नै काम चलाउनुपरेको विदालयका प्रअ बलराम यादबले बताए । ‘३ पटक विद्यार्थीले एसएलसी दिइसकेका छन्, विद्यार्थीले पनि राम्रै गरेका छन्, दरबन्दी ल्याउन पाइएको छैन,’ उनले भने–‘प्रयास बहुत गरियो, शिक्षा कार्यालयले दरबन्दी नै छैन भन्छ ।’

थर्की माविमा प्रावि तहमा ५ वटा दरबन्दी त्यस बाहेका २ वटा राहात दरबन्दी छ । दरबन्दी तर्फ एउटा र राहात तर्फ एउटा गरी २ दरबन्दी रिक्त छ । थर्की जस्तै मर्चवारी गाउँपालिका कै बगौली मावि, अमवा माविले पनि दरबन्दी विना नै मावि तह चलिरहेको छ ।

रुपन्देहीको मर्चवार क्षेत्रमै पर्ने सम्मरीमायी गाउँपालिकामा ४ वटा माध्यमिक विद्यालय छन् । ४ वटा मध्ये एउटा विद्यालयमा मात्र मावि तहको दरबन्दी रहेको छ । बाँकी ३ वटा विना दरबन्दी मावि तहसम्म चलेका छन् । सम्मरीमायीको ज्ञानज्योती मावि र जनता माविमा निमाविको समेत दरबन्दी छैन । मुडिला माविमा निमावि तहको एउटा मात्र राहात दरबन्दी छ ।

सम्मरीमायीको जनता माविले यस वर्ष मात्र मावि तह सुरु गरेको हो । चालु शैक्षिक सत्रमा ६ सय ५० विद्यार्थी भर्ना भएका छन् । तर एउटा राहात सहित ४ वटा प्राविका मात्र दरबन्दी रहेको छ । ‘राहत सहित ४ शिक्षक छौं, बाँकी पिसीएफ अन्तर्गत ४ जना र २ जना बाल शिक्षा अन्तर्गतका गरी १० जना शिक्षक छौं,’ जनता माविका प्रअ राकेश मुराउले भने । निमावि तह सञ्चालन भएको ५– ६ वर्ष भएको भएपनि अझैसम्म विद्यालयले दरबन्दी पाउन सकेको छैन । यो वर्ष भने निमाविको लागि अनुदान परेको प्रअ मुराउले बताए ।

दरबन्दी नहुनु एउटा समस्या त छ । त्यसबाहेक जनता माविमा शिक्षक संख्या पनि पर्याप्त छैन । १० वटा कक्षाकोे लागि मात्र १० जनाले पढाउन पर्दा शिक्षकहरुलाई भार परेको छ । ‘म आफू पनि ८ वटै पिरियड पढाइरहेको छु,’ जनताका प्रअ मुराउले भने–‘पर्याप्त शिक्षक राख्न नपाउँदा समस्या भएको छ ।’ दरबन्दी अनुसारको शिक्षक नहुनु भनेको कम शैक्षिक योग्यताका शिक्षकबाटै विद्यालय सञ्चालन हुनु हो ।

माध्यमिक तह पढाउने शिक्षक स्नातक तह वा सो सरहको हुनुपर्छ । तर विद्यालयमा एसएलसी मात्रै पास गरेका शिक्षकले कक्षा १० लाई पढाउने गरेका छन् । दरबन्दी बाहेकका शिक्षकले न्युन पारि श्रमिक पाउने गर्दछन् । केही समय काम गर्ने र बढी सुविधा भएको ठाउँमा जान्छन् । त्यसले बालबालीकाको पढाइमा पनि असर पुग्ने गर्दछ । रुपन्देहीमा कक्षा सञ्चालन भएर पनि दरबन्दी नपाउने अन्य थुपै्र विद्यालय छन् ।

निमावि तह सञ्चालन भएर ५० भन्दा बढी सामुदायीक विद्यालयमा त्यस अनुसारको दरबन्दी छैन । त्यस्तै मावि तह सञ्चालन भएका ३० भन्दा बढी विद्यालयमा माविको दरबन्दी नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । तह अनुसार दरबन्दी नभएका विद्यालयहरु धेरै जसो दक्षिण भेगमा रहेका छन् । ‘समुदायले विद्यालय माग गर्छन् विद्यालय खुल्छ’ जिल्ला शिक्षा समन्वय कार्यालय रुपन्देहीका विद्यालय निरिक्षक हरि विष्टले भने ‘शिक्षा मन्त्रालयले विगतदेखी नै दरबन्दी थप गरेको छैन, पहिले जे थियो त्यही छ ।’

जिल्लाको उत्तरी भेगतर्फका माविमा निमावि तहसम्मकोसम्म दरबन्दी विद्यालय छन् । प्राविकै भरमा मावि चलाउन परेका विद्यालय दक्षिण भेगमै बढी छन् । उत्तरी भेग र बजार क्षेत्रमा धेरै बालबालिका निजि विद्यालयतर्फ जाने हुँदा सामुदायिकमा विद्यार्थी संख्या कमी छ । तर दरबन्दै यतै बढी छ । विद्यार्थी बढी भएका दक्षिण भेगका सामुदायीक विद्यालयमा भने विद्यार्थी संख्याको अनुपातमा निकै कम दरबन्दी उपलब्ध छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.