भारतीय अवरोधले पुल प्रयोगविहीन

भारतीय अवरोधले पुल प्रयोगविहीन

वीरगन्ज : भारतले पटक–पटकको अवरोध गरे पनि झन्डै आठ वर्षपछि पर्साको ठोरीस्थित ठुटे खोलामा पुल बनेको छ। तर, पुल बनेको दुई महिना बितिसक्दा पनि भारतीय पक्षकै अवरोधका कारण स्थानीयले प्रयोग गर्न पाएका छैनन्।

वीरगन्ज–ठोरी हुलाकी राजमार्गअन्तर्गत पर्ने ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँ लागतमा १ सय दुई मिटर लम्बाइको पुल बनेको हो। पूर्वतर्फको एप्रोच सडक (पुलसँग हुलाकी सडक जोड्ने बाटो) भारतको अवरोधका कारण बन्न नसक्दा ठुटे खोलाको नवनिर्मित पुल प्रयोगमा आउन नसकेको जनाइएको छ।

सीमावर्ती भारतीय गाउँ धमौरा र सुभद्राका स्थानीयले ठुटे खोलाको कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद गरेका कारण ठेकेदार कम्पनीले काम गर्न पाएको छैन। उनीहरूले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहान प्रयोग गरी वर्षौंदेखि दुई वटा कुलो सिँचाइका लागि लगेका छन्। कुलो पुरेर एप्रोच सडक बनाउँदा सिँचाइ गर्न नपाउने भन्दै भारतीयले काम गर्न नदिएका हुन्।

ठोरीका स्थानीयले भने एप्रोच सडक निर्माणका लागि वर्षौंदेखि आफूहरूले प्रयोग गर्दै आएको कुलो पनि पुर्न सहमति दिइसकेका छन्। पुलको आडमै दुईवटा कुलो सञ्चालन गर्न दिँदा पुल जोखिममा पर्ने भन्दै कुलो पुरेरै एप्रोच सडक बनाउनुपर्ने दबाब ठोरीका स्थानीयले दिएका छन्। भारतीय पक्षले भने साबिक स्थानबाटै ह्युमपाइप राखेर कुलोको पानी लैजान पाउनुपर्ने अडान लिएको छ।

ठोरीका स्थानीय शिक्षक प्रेम लामाले ह्युमपाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुल जोखिममा पर्ने बताए। एप्रोच सडक नबन्दा पुलबाट सवारी साधन ओहोरदोहोर गर्न नपाएको उनको भनाइ छ।

‘सुरुमै एसएसबीले सीमा विवाद झिकेर सात वर्षसम्म पुलको कामै गर्न दिएन’, ठोरीका हरिशरहण लामिछानेले भने, ‘अहिले जसोतसो गरी पुल त बनाइयो तर फेरि भारतीय पक्षले अर्को बखेडा झिकेका कारण प्रयोग गर्न पाएका छैनौं।’

ठुटे खोलामा पुल नहुँदा वर्षायाममा वीरगन्ज–ठोरी सडकमा सार्वजनिक यातायातका सवारी साधन ठप्प हुने गरेको थियो। पुल बनेपछि वर्षौंदेखि सास्ती खेप्दै आएका ठोरीवासीले यसपालि भने राहत मिल्ने अपेक्षा गरेका थिए। तर, पुल प्रयोगमा नआउँदा यसपालि पनि ठुटे खोलामा बाढी आएका बेला ठोरी र सदरमुकाम वीरगन्जबीचको सडक सम्पर्क विच्छेद हुने लामाले बताए।

ठोरी गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष रामप्रकाश कँुवरले भारतीयको विवादका कारण पुल सञ्चालनमा आउन नसकेको बताए। समस्या समाधानका लागि छलफल गर्दा भारतीय पक्ष अडानबाट पछि नहटेको उनले सुनाए। ‘हामीले सुभद्रा र धमौराका मुखियासँग छलफल ग¥यौं तर उनीहरूले कुलो पुर्न मानेनन्’, उनले भने, ‘हामीले यो समस्या समाधानको जिम्मा स्थानीय प्रशासनलाई दिएका छौं।’

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले गत जेठ १५ गते ठुटे खोला क्षेत्रको निरीक्षणसमेत गरेका थिए। पुलसँग जोड्ने सडक निर्माणमा समस्या देखिएपछि आफूले स्थलगत निरीक्षण गरेको उनले सुनाए। यसबारे आफूले गृह र परराष्ट्र मन्त्रालयमा जानकारी गराएको उनको भनाइ छ। ‘ भारततर्फ गइरहेका कुलाको पानीमा कुनै व्यवधान खडा नहुने गरी कल्भर्ट राखेर पुललाई सडकसँग जोड्नुपर्छ’, उनले भने, ‘तर, स्थानीयले कृत्रिम समस्या खडा गरेका छन्।’

सुरुमा पुल निर्माणका लागि सर्भे गरिएको ठाउँलाई एसएसबीले भारतीय भन्दै अवरोध गरेपछि सात वर्षसम्म काम अघि बढ्न सकेको थिएन। सडक विभागले २०६७ साल जेठ ४ गते अमर एन्ड मृत सञ्जीवनी निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौता गरे पनि एसएसबीले सीमा विवाद झिकेका कारण पुल निर्माण कार्य रोकिएको थियो। २०७४ साल वैशाखमा सीमा अधिकारीबीचको वार्तामा सहमति भएपछि मात्र पहिले सर्भे गरिएकै स्थानमा पुल निर्माण सुरु गरिएको थियो।

०००

पर्साको ठोरीस्थित ठुटे खोलामा बनाइएको पुल। क्रान्ति शाह


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.