पुल निर्माणकाे आठ वर्ष : काम ३० प्रतिशत मात्रै

पुल निर्माणकाे आठ वर्ष : काम ३० प्रतिशत मात्रै

 तुम्लिङटार : भोजपुर र संखुवासभा जोड्ने लम्सुवाको पुल निर्माण सुरु भएको आठ वर्षसम्म ३० प्रतिशत मात्र काम भएको छ। समयमा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्। निर्माण कम्पनीले भने पुनः डिजाइनपछि मात्र थप काम गर्न सक्ने बताउँदै आएको छ।

लम्सुवा घाटस्थित अरुण नदीमा तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी २०६७ साल असार २५ गते सम्झौता भएको थियो। पुलको जग खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेपछि डिजाइन परिवर्तन गरिएको थियो। स्वच्छन्द निर्माण कम्पनीले २०७० असार २५ सम्ममा काम सक्नुपर्ने भए पनि समय थपिमागेको थियो। २०७४ असार २४ सम्म थप समय दिइए पनि कामको प्रगति भने उल्लेख्य नरहेको जनाइएको छ। त्यसपछि भने म्याद थप नगरी निर्माण कम्पनीले गत असार पहिलो सातासम्म काम गरिरहेको थियो। पिलरका लागि प्रयोग हुने ‘वेल फाउन्डेसन’लाई आवश्यक गहिराइ पुर्‍याउनका लागि चट्टानले अवरोध गरेकाले यस्तो अवस्थामा काम गर्न नसकिने कम्पनीका साइट इन्चार्ज विजय लामिछानेले बताए। पुनः डिजाइन परिवर्तन गरिनुपर्ने उनको भनाइ छ।

‘बढी ब्लास्टिङ गर्दा वेल फाउन्डेसन कमजोर हुन्छ। त्यसकारण डिजाइन परिवर्तनपछि मात्र पुल निर्माणको काम अगाडि बढाउन सकिनेछ’, उनले भने।

अहिलेको डिजाइनअनुसार चारवटा पिलर १६ मिटर गहिराइसम्म गाड्नुपर्ने हुन्छ। तर, आधा भागदेखि नै चट्टान भेटिएको र त्यसलाई ब्लास्टिङ गर्दा पनि फुटाउन नसकिएकाले डिजाइन परिवर्तन प्रक्रियामा रहेको सडक डिभिजन कार्यालय तुम्लिङटारका इन्जिनियर सुरजहरि अधिकारीको भनाइ छ। ‘पुल रिभ्युको प्रक्रियामा रहेकाले त्यसपछि मात्र कुन प्रक्रियाबाट पुल बन्ने भन्ने टुंगो लाग्छ’, उनले भने। इन्जिरियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसबाट विज्ञको टोली आएर स्थलगत अध्ययन गरी सुझावका आधारमा प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

समयमा पुल नबन्दा भोजपुरका षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागिरक समस्यामा परेका छन्। हिउँदमा लम्सुवाबाट जोखिपूर्ण रूपमा डुंगामा आवतजावत गर्नुका साथै महँगोमा सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ। नदीमा बाढी आए झोलुंगे पुलमार्फत बोकेर दैनिक उपभोग्य सामान तथा निर्माण सामग्री लैजाने गरेका छन्। झोलुंगेबाटै जोखिम मोलेर मोटरसाइकलसमेत तार्ने गरिएको छ।

१ सय ५७ मिटर लम्बाइको पुल १३ करोड ५ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको थियो। थप डिजाइनपछि निर्माण खर्च १६ करोड ६३ लाख पुर्‍याइएको छ। दुई प्रकारको डिजाइन रहेको यो पुलको ७७ मिटर स्टिल ट्रस्ट र ८० मिटर आरसीसी ढलान हुनुपर्नेछ। थप डिजाइनमा पुलको लम्बाइ २ सय ४७ मिटरको बन्ने भए पनि थप ९० मिटरको ठेक्का लाग्न बाँकी छ।

पुलको विकल्पका रूपमा कात्तिके घाटमा सडक डिभिजनले फेरी निर्माणका लागि मना कन्स्ट्रक्सन तनुहँलाई जिम्मेवारी दिएको थियो। मनाले काम सुरु नै नगरी २०७३ मै अवधि सकिएको थियो।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.