बालिकाको हत्यापछि महेन्द्रनगर तनावग्रस्त

बालिकाको हत्यापछि महेन्द्रनगर तनावग्रस्त

 महेन्द्रनगर : बलात्कारपछि बालिकाको हत्या गरिएको घटनाले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको छ। शनिबार दिनभर हत्याको विरोधमा महेन्द्रनगर बजार बन्द हुनुका साथै प्रदर्शनसमेत भएको छ। यसअघि शुक्रबार बेलुकी पनि महेन्द्रनगर बजार तनावग्रस्त बनेको थियो। स्थानीयले बलात्कार गरी हत्या गर्ने अपराधीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने, हत्या गरिएकी बालिकाका परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने, घटनास्थल क्षेत्रमा सुरक्षाका लागि प्रहरी चौकी स्थापना हुनुपर्नेलगायत माग राखेका छन्।

हत्याको विरोधमा कांग्रेसका भ्रातृसंगठनले महेन्द्रनगर बजारमा दिनभर प्रदर्शन गरे भने दिउँसोदेखि चक्काजाम गरे। महेन्द्रनगरको ट्राफिक चोकमा उनीहरूले दिउँसो १ बजेदेखि चक्काजाम गरेका हुन्। चक्काजामका कारण यातायात सेवा साँझसम्म अवरुद्व बनेको छ। कांग्रेसनिकट तरुण दल, नेविसंघ र महिला संघको संयुक्त अगुवाइमा प्रदर्शन भएको हो। प्रदर्शन क्रममा आन्दोलनरत पक्षले सरकारविरुद्व नाराबाजी गरेको थियो।

पटक–पटक प्रदर्शन क्रममा आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको छ। झडप क्रममा प्रहरी र आन्दोलनकारीतर्फ केही मानिस सामान्य घाइतेसमेत भएका छन्। आन्दोलरत कांग्रेसका भ्रातृसंगठनले भीमदत्त नगरपालिकाका नगर प्रमुखविरुद्धसमेत प्रदर्शन गरेको छ।

नगरप्रमुख सुरेन्द्र विष्टले बलात्कारपछि बालिकाको हत्या हुँदा पनि घटनामा चासो नदिएको भन्दै उनीविरुद्ध नारावाजीसहित प्रदर्शन भएको हो।

घटनाको संघसंस्था, नागरिक समाजलगायत सामाजिक सञ्जालमा समेत चर्को विरोध भएको छ। हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी सजाय दिनुपर्ने माग चौतर्फी उठेको छ। महिला अधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाले बलात्कारका घटना बढेको भन्दै बलात्कारीलाई फाँसीको सजाय हुने कानुन निर्माण गर्नुपर्ने माग उठाएका छन्।

नागरिक समाज कञ्चनपुरकी सचिव एवं अधिवक्ता पुनमसिंह चन्दले कञ्चनपुरमा बढ्दै गएको हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक गतिविधि रोक्न प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने माग गरेकी छन्।

एमाले नेता उर्वादत्त पन्त र कांग्रेस नेता रमेश लेखकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। दुवैले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

भीमदत्त नगर कार्यपालिकाले समेत बालिकाको हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिन गरी संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध युवा संगठन र विद्यार्थी संगठनले बालिकाको हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका हुन्।

भीमदत्त नगरपालिका–२ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षीया निर्मला पन्तको बिहीबार हत्या भएको हो। बिहीबार दिउँसो साथी रोशनी बमको घरबाट गृहकार्य गरेर फर्किएकी उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान शव फेला परेको हो।

प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले घटनाको अनुसन्धान तीव्र रूपले अघि बढेको बताए। प्रहरीले शंकास्पद मानिसलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जनाएको छ। ‘हामीले ५÷६ जनालाई हिरासतमा लिएर सोधपुछ गर्दै छौं’, उनले भने, ‘घटनाबारे अनुसन्धान गरिरहेकाले चाँडै दोषी पत्ता लाग्छ।’

 शव अस्पतालमै
बलात्कारपछि हत्या गरिएकी बालिकाको शव अस्पतालबाट उठाइएको छैन। शुक्रबार बेलुकी पोस्टमार्टम गरेर परिवारले कागज गरे पनि शव भने बुझेका छैनन्। आफ्ना माग पूरा नभएको भन्दै परिवारले शव बुझेका छैनन्। शनिबार दिनभर पटक–पटक वार्ता भए पनि सहमति नभएपछि परिवारले शव बुझेनन्। हत्या गरिएकी बालिकाका परिवारले घटनाको सत्यतथ्य छानबिन भई दोषीलाई कारबाही गर्ने विषयमा लिखित प्रतिबद्धता आउनुपर्ने, क्षतिपूर्ति र राहत उपलब्ध गराउनुपर्ने र हत्या भएको क्षेत्र सुरक्षाका दृष्टिले संवेदनशील रहेको र त्यहाँ प्रहरी बिट स्थापना हुनुपर्नेलगायत माग अघि सारेका छन्। ‘हामीले राखेका माग पूरा गर्नेतर्फ खासै पहल भएन’, बालिकाका दाजु लक्ष्मी पन्तले भने, ‘अरू मागमा लगभग सहमति भए पनि क्षतिपूर्ति र राहतका विषयमा सहमति हुन नसकेपछि शनिबारसमेत वार्ता सफल हुन सकेन।’ भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित पीडित परिवारबीच शनिबार दिनभर वार्ता भएको थियो।

              

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.