गाइखुरे छहराले तान्यो पर्यटक

गाइखुरे छहराले तान्यो पर्यटक

बेंसीसहर : पोखराबाट बेंसीसहर आउँदै गरेका सन्तोष गुरुङको मन अचानक उदिपुरको गाइखुरे झरनाले खिच्यो। १२ जना युवासहति बेंसीसहर आउँदै गरेका उनीहरू मनमोहक झरनामा नबसी अघि बढ्नै सकेनन्।

‘अति सुन्दर झरना, हेर्दा मात्र पनि धेरै आनन्द मिल्दो रहेछ’, गुरुङले भने, ‘हामीले त हेरेर मात्र चित्त बुझाउन सकेनौं, मस्त भिजियो, धेरै रमाइलो भयो।’ झरनाको आकर्षणले गोरखाका सुजन थापाको पनि मन थामिएन। उनले भने, ‘बेंसीसहर जाँदा÷आउँदा झरनामा नखेली मनै मान्दैन।’ गुरुङ र थापा मात्र होइनन् गर्मीको समयमा बेंसीसहर–भोटेओडार सडक भएर हिँड्ने जोकोही गाइखुरे झरनाको मज्जा लिएरै जाने गर्छन्।

पछिल्लो समय डुम्रे बेंसीसहर सडकखण्डअन्तर्गत उदिपुरको गाइखुरे झरनामा रमाउनेहरूको भीड बढेको छ। निरन्तरको वर्षापछि झरना पनि ठूलो भएको छ। झरनामा पानीको मात्रा बढेसँगै यहाँ रमाउनेहरूको भीड पनि बढ्न थालेको हो। प्रत्येक वर्षायाममा आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने झरना हेर्न, भिज्न जानेहरूको निकै भीड लाग्न थालेको छ। झरनालाई पृष्ठभूमि बनाएर सेल्फी लिनेको पनि त्यत्तिकै भीड लाग्ने गर्छ।

वर्षाको बेलामा मात्र झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई निकै तानेको छ। अन्य जिल्लाबाट लमजुङ आउने पर्यटकलाई पनि यो झरनाले लोभ्याउने गरेको छ। लमजुङ आएका यात्री पनि झरनाको दृश्य अवलोकन गरेर फर्किने गरेका छन्।

छोटो समयको लागि लमजुङ आउनेहरूको मन पनि यो झरनाले जित्न थालेको छ। उक्त झरनामा क्यानोनिङसमेत गर्न सकिन्छ। अघिल्लो वर्ष सोही झरनामा व्यावसायिक क्यानोनिङ गरिएको थियो। उक्त झरनाको प्रचारप्रसार गर्न सके थप पर्यटक भिœयाउन सकिने सरोकारवालाहरू बताउँछन्। साहसिक पर्यटकीय खेलमा रमाउन चाहने पर्यटक वा स्थानीय जोकोहीले पनि उक्त झरनामा सुरक्षित तरिकाले क्यानोनिङ गर्न सक्ने हुँदा सम्भावित क्यानोनिङ स्पटको रूपमा प्रवद्र्धन गर्नुुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा बताउँछन्। उक्त झरनामा सदरमुकाम बेंसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायत स्थानबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्छन्। सदरमुकाम बेंसीसहर आउने बाटोमा भएको कारण कतिपय यात्री सवारी रोकेर पनि यहाँको प्रकृतिसँग रमाउने गर्छन्।

पर्यटकहरूको संख्या बढेपछि नेपाली सेनाको पशुपतिप्रसाद गणले झरनासम्म पुग्ने बाटो मर्मत, प्रतीक्षालय र पोखरी निर्माण गरेको थियो। बेंशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले झरनालाई व्यवस्थित गरी पर्यटकीय स्थल बनाइने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.