गाउँलेले धर्म फेरेपछि एक्लियो महादेव गुफा

गाउँलेले धर्म फेरेपछि एक्लियो महादेव गुफा

राक्सिराङ : घना जंगल र भीरको झाडीमा बाटो हराइसकेको छ। जुका लाग्ने झाडी र जंगलको त्यो बाटोमा हिजोआज मान्छे हिँड्दैनन्। चराचुरुंगी कराउँछन्, जंगली जनावरको ओत लाग्ने ठाउँ भएको छ, भगवान् महादेवको गुफा। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिका–७ दाराङस्थित जंगलमा रहेको भगवान् महादेवको शिवलिंगले भक्त देख्न नपाएको पनि ६ वर्ष बितिसक्यो।

कुनै समय मकवापनपुर, चितवन र धादिङका हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक स्थल रहेको उक्त स्थानमा भक्तजन भगवान् महादेव पुजेपछि मात्र नयाँ बाली लगाउने र उब्जनी हुनेबित्तिकै चढाउन आउँथे। मंसिर पूर्णिमामा भव्य जात्रासमेत लाग्थ्यो।

महादेव गुफाको बाहिरी भाग

तर भक्तहरूले पुज्ने भगवान् परिवर्तन गरेपछि ६ वर्षदेखि मंसिर पूर्णिमामा जात्रा लाग्न सकेको छैन। जंगलबीच गुफामा भगवान् महादेव एक्लिएका छन्। घाँस काट्ने र गोठाला गुफा वरिपरि पुगे पनि भित्र छिर्दैनन्। कुनै समस्या परेर ओत लाग्न खोजे पनि जंगली जनावरको डरले कोही छिर्ने आँटै गर्दैनन्। हिजोआजनयाँ बाली घर भित्याउनुअघि पनि गाउँले मन्दिर जाँदैनन्।

महादेवलाई छाडेर उनीहरू येशु क्रिस्टलाई पुज्छन्, उनकै नाममा प्रार्थना गर्छन्। दाराङसँगै धिराङ, गर्लिङ, दकुबाङ, डिहीटारलगायत सबै बस्तीमा चर्च स्थापना भएको छ। दैनिकजसो ती चर्चमा गाउँलेको भीड हुन्छ। चेपाङ बाहुल्य यस क्षेत्रका ८० प्रतिशतभन्दा बढी स्थानीयले धर्म परिवर्तन गरी क्रिस्चियन धर्म अँगालेपछि हिन्दू धार्मिक स्थल एवं मठमन्दिर अलपत्र परेका हुन् ।

राक्सिराङ–९ धिराङमा रहेको चर्च।

७५ वर्षीय दलबहादुर चेपाङ महादेव मन्दिरका पुजारी हुन्। शारीरिक अस्वस्थताका कारण उनी चाहेर पनि मन्दिर जान सक्दैनन्। परिवारका सदस्यले समेत धर्म परिवर्तन गरे पनि उनी भने हिन्दू धर्मप्रति नै आस्था राख्छन्। ‘बाबुबाजेको पालादेखि पुज्दै आएको भगवान् म यो उमेरमा आएर छाड्न सक्दिनँ’, उनले भने, ‘तर गाउँका धेरै मान्छेले धर्म परिवर्तन गरेपछि सनातन धार्मिक मान्यता हराउँदै गएको छ।’

संरक्षणको पर्खाइमा

धर्म परिवर्तनका कारण यस क्षेत्रका अधिकांश मठमन्दिर अलपत्र परेको पुजारी चेपाङको गुनासो छ। महादेव गुफाभित्र करिब चार फिट अग्लो शिवलिंगसँगै गाईको कल्चौंडा र विभिन्न भगवान्का मूर्तिसमेत छन्। ‘यहाँ कसैले मूर्ति ल्याएर राखेका होइनन्, आफैं बनेका हुन्’, चेपाङले भने, ‘यसलाई संरक्षण गरेर भावी सन्ततिलाई जिम्मा लगाउन पाए हुन्थ्यो।’

गाउँलेले धर्म परिवर्तन गरेका कारण ऐतिहासिक मन्दिर ओझेलमा परेको स्थानीय रामकृष्ण चेपाङले बताए। ‘जसले जेजे धर्म मानेपनि यस्ता महत्वपूर्ण मन्दिर र गुफा हाम्रा सम्पत्ति हुन्’, उनले भने, ‘यसलाई संरक्षण र प्रचार गर्न सके उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ।’

राक्सिराङ–९ धिराङमा रहेको चर्चमा प्रार्थना गर्न जम्मा भएका स्थानीय।

महादेव गुफा संरक्षणका लागि वडाले पहल गर्ने राक्सिराङ गाउँपालिका-७ का वडाध्यक्ष कुलाबहादुर चेपाङले बताए। ‘गाउँमै बाटो पुर्‍याउन मुस्किल परिरहेकाले गुफा संरक्षमा हामीले चासो दिन नसकेका हौं’, उनले भने, ‘जुनसुकै धर्मको पनि मठमन्दिर संरक्षण गर्नुपर्छ। हामी यसतर्फ ध्यान दिन्छौं।’

महादेव गुफाभित्र रहेको शिवलिंगलगायतका विभिन्न भगवान्का आकृति।

सबै तस्बिरः कृष्ण सारु मगर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.