करवृद्धि फिर्ता लिन अल्टिमेटम

करवृद्धि फिर्ता लिन अल्टिमेटम

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले वृद्धि गरेको करको विरोध गर्दै राजपाले आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

करवृद्धिको विरोधमा वीरगन्ज उद्योग वाणिज्य संघ आइतबारदेखि सडकमा ओर्लिएका बेला राजपाले पनि महानगरपालिकालाई आन्दोलन गर्ने चेतावनी दिएको हो। संघीय समाजवादी फोरमका तर्फबाट विजयकुमार सरावगी वीरगन्जको मेयरमा निर्वाचित भएका थिए। प्रदेश २ को सरकारमा फोरम र राजपा गठबन्धन छ। करवृद्धिको निर्णय नगरवासीको अहितमा रहेको ठहर राजपाले गरेको छ।

राजपाले सोमबार वीरगन्जमा पत्रकार सम्मेलन गरी वृद्धि गरिएको कर एक साताभित्र खारेज नगरिए मेयर सरावगीविरुद्ध सडकमा उत्रिने चेतावनी दिएको हो। राजपा महासचिव शिव पटेलले जनताको हितमा काम गर्ने भनेर निर्वाचित जनप्रतिनिधिले आफूखुसी करवृद्धि गरी जनताको शोषण गरेको आरोप लगाए। ‘पहिला सेवा दिएर त्यसबापत कर उठाइनुपर्छ’, उनले भने, ‘तर, मेयर सरावगीले नगरवासीलाई सहज सेवा दिनुको सट्टा करवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेका छन्।’

उनले जनतामाथि करको भारी थोपरेर महानगरका जनप्रतिनिधिले संघीयता नै असफल पार्ने षड्यन्त्र गरिरहेको जिकिरसमेत गरे। ‘संघीयतामा नानाथरीका कर तिर्नुपर्ने रहेछ भन्ने सोच जनतामा पैदा भएको छ’, उनले भने, ‘त्यसैले गर्दा संघीयतालाई बदनाम गरेर असफल पार्ने काम जनप्रतिनिधिबाट भइरहेको छ।’

राजपाका अर्का महासचिव राजेशमान सिंहले मेयर सरावगी सेवामुखीभन्दा करमुखी बनेको आरोप लगाए। विकास निर्माणका काममा व्यापक अनियमितता भइरहे पनि मेयर सरावगी कानमा तेल हालेर बसेको जिकिर उनले गरे। ‘नगरवासीलाई कसरी सेवा दिनुपर्छ भन्ने विषयमा चासो र चिन्ता छैन’, उनले भने, ‘उहाँलाई कसरी हुन्छ बढीभन्दा बढी कर उठोस् भन्ने मात्र चिन्ता छ।’ उनले करवृद्धिको निर्णय फिर्ता लिन एक साताको अल्टिमेटम दिएको सुनाउँदै यो निर्णय फिर्ता नलिइए राजपा पनि चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने बताए।

संघले पनि आइतबार करवृद्धिको निर्णय फिर्ता लिन एक साताको अल्टिमेटम दिँदै मेयरलाई ज्ञापनपत्र बुझाएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.