महाकाली कटानबाट बच्न स्थानीय अग्रसर

महाकाली कटानबाट बच्न स्थानीय अग्रसर

महेन्द्रनगर : एकपटक पूरै बस्ती बगाएको महाकालीले कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली टोलमा फेरि तटबन्ध बगाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । महाकाली नदी नियन्त्रणका लागि सो क्षेत्रमा निर्माण गरिएको तटबन्ध नदीले निरन्तर कटानी गर्न थालेको छ । गत सातादेखि तीव्र रूपमा नदीले तटबन्ध कटानी गरिरहेको स्थानीय बताउँछन् । पहाडी जिल्लामा निरन्तर वर्षा भइरहेकाले महाकाली नदीमा पानीको बहाव बढेको हो ।

नदीले कटानी गर्न थालेपछि स्थानीय आफैं तारजालीमा ढुंगा भरेर कटानी नियन्त्रणमा जुटेका छन् । ‘हामी आफैं तारजालीमा ढुंगा भरेर नियन्त्रणको प्रयासमा लागेका छौं’, स्थानीय राधिका नेपालीले भनिन्, ‘समयमा ठेकेदारले तटबन्ध निर्माण नगरिदिँदा यो अवस्था भएको छ ।’ तारजालीमा भरेका ढुंगा बाढीले बगाएको छ भने केही स्थानमा स्परसमेत बगाइसकेको छ ।

महाकालीको सो क्षेत्रमा गत आर्थिक वर्षमा सक्ने गरी महाकाली टोल क्षेत्रमा तटबन्ध निर्माणका लागि ठेक्का भए पनि ठेकेदारले पूरा काम नगर्दा कटानी थालेको स्थानीयको बताएका छन् । गत वर्ष ठेकेदारले लन्चिङ मात्रै गरेर काम बीचमै रोकेका थिए ।

‘समयमै यहाँ काम सुरु भइदिएको भए अहिले तटबन्ध बग्ने थिएन’, भीमदत्त नगरपालिका-११ का वडाध्यक्ष प्रेमप्रकाश जैशीले भने, ‘धेरै पुरानो भइसकेका कारण अहिले कटान गरिरहेको छ ।’ उनले नदीले निरन्तर तटबन्ध कटानी जारी राखे नदीको भंगालो गाउँ पस्ने खतरा रहेको बताए ।

कटानी गरेको क्षेत्रबाट नदीको भंगालो गाउँ पसे भीमदत्त नगरपालिकाका ११, १२ र १३ नम्बर वडाका बस्ती उच्च जोखिममा पर्नेछन् । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रण गर्न आर्थिक वर्ष ०७४÷७५ का लागि सो क्षेत्रमा तटबन्ध निर्माणको ठेक्का दिएको थियो ।

जनताको तटबन्ध कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका-११ र १२ को भुजेला र ओदालीमा केएस कन्स्ट्रक्सनलाई १३ करोड ३२ लाखमा १ किलोमिटर १ सय २४ मिटर तटबन्ध निर्माण गर्ने ठेक्का दिइएको थियो । सो क्षेत्रमा करिब ५० मिटर तटबन्ध अहिले नदीले कटानी गरिरहेको स्थानीय वीरेन्द्रबहादुर थापाले बताए ।

‘यो क्षेत्रमा टुक्रे योजना राखेर तटबन्ध निर्माण हुँदैन’, उनले भने । ‘महाकाली नदीबाट बस्ती जोगाउनका लागि राज्यले भरपर्दो प्रविधि र योजना बनाएर तटबन्ध निर्माण गर्नुपर्छ ।’ तटबन्ध पूरै कटान गरेर बाढी बस्तीमा पस्ने हो कि भन्ने चिन्ताले स्थानीय रातभरि जाग्राम बस्न थालेका छन् । कतिबेला बाढीले पूरै तटबन्ध बगाउने र बस्तीमा पस्ने चिन्ता बढेको स्थानीयले पीडा व्यक्त गरे । महाकाली तटबन्ध संरक्षण संघर्ष समितिका अध्यक्ष श्याम थापाले समयमा तटबन्ध निर्माण सुरु नहुने समस्याले हरेक वर्ष क्षति पुर्‍याउने गरेको बताए ।

‘सरकारले वर्षा सकिएलगत्तै ठेक्का गरेर काम सुरु गर्नुपर्छ’, उनले भने, ‘ढिला ठेक्का हुने र ठेकेदारले समेत वर्षा आउन १÷२ महिना मात्रै बाँकी रहँदा काम गर्ने प्रवृत्तिले हरेक वर्ष तटबन्ध कमजोर हुने गरेको छ ।’ तटबन्ध कार्यालयका अनुसार उक्त तटबन्ध चार वर्षअघि बनेको हो । पुरानो भएकाले गत वर्षदेखि उक्त क्षेत्रमा मर्मतको ठेक्का भएको हो ।

महाकालीमा यस वर्ष ३ ठाउँमा जोखिम छ । भीमदत्त नगरपालिका-११ को जिरो प्वाइन्ट रहेको चौकिसोता, सोही वडाको महाकाली टोल र महाकाली नगरपालिका-४ को झोलुंगे पुलनजिकै बढी जोखिम छ ।

महाकाली नदीमा हरेक वर्ष आउने बाढीले क्षति पुर्‍याउँदै आएको छ । प्रत्येक वर्ष नदी नियन्त्रणका लागि भन्दै तटबन्ध निर्माण गर्ने काम भए पनि वर्षामा आउने बाढीले बगाएर लैजाने गरेका कारण सरकारको लगानी बालुवामा पानी हालेझैं हँुदै आएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.