पैकेला खोज्दै जुम्ला
राख कितनी राख है ...चारों तरफ बिखरी हुई,
राख में चिनगारिया देख्, अंगारे न देख्
–दुश्यन्त कुमार
यात्रासखा हेन्स वाल्टर क्रुजीले ३५ वर्षपहिला भनेको स्विजरल्यान्डको जुम्लीब्युटी अहिले दारेले (डोजर) डाँडाकाँडा कोपरेर छियाछिया पारिसकेछ। आधुनिकताले बलात्कृत जुम्लामा अब जुम्लीब्युटी भने हरायो। मौसम छयांङ छ, हावामा सुस्कता छैन्, हुरी चलिरहेछ। डाँफे र भुरीचुलाका लेकमा तलसम्म हिउँ परेर डाँडा चाँदीमय भएका छन्। हिउँ पर्नु सकाल आउनु हो। यस चार दशकमा तिला, जावा र हिमामा धेरै पानी बगे। कर्णाली अझै गडगडाउँदो छ। उज्यालोको खोजीमा अँध्यारोमा बढेका पैताला आठ वर्षपछिको खुला आकाशमुनि जुम्ली सूर्यप्रकाशमा अहिले नै हो।
खलंगाबाट हुनुमानढोकाको दूरी १६९ कोस हो। जुम्लामा सात सालको क्रान्ति आठ सालमा दैलेखी शेर सिंहले पुर्याए, हुम्लाबाट जुम्लागौंडा पुर्याइएका पहिलो माओवादी कामी बुढाको भने एक वर्ष जेलमै रहेर २०१० साल चौभानमै हत्या भयो। कामीसँगै जोडेर कमलराज रेग्मीलाई अड्डासार गर्दै गुल्मीबाट जुम्ला गौंडामा पुर्याइयो। जनयुद्ध भने ०५२ सुरुमै जुम्ला पुग्यो। तुफानी यामका प्रतिकूलताले उनको अन्त्यथलोमा पुग्ने समय मिलेको थिएन। जनयुद्धको खबरदारी गर्न पहिलो पंक्तिका परान धराला, हरिकृष्ण भण्डारी र हरिप्रसाद पाण्डे पनि बचेनन्। कामी–अध्ययन बिट मार्ने यस यात्रामा उनकै नातिनी वृन्जा पुन र जुम्ली कवि एवं अनुसन्धानकर्ता राजबहादुर कुँवरसँगै छौं। राष्ट्रिय दैनिकका पत्रकार डीबी बुढा र एलपी देवकोटाको सहयोग उल्लेखनीय नै रह्यो।
आठ वर्ष पहिलाको घामेयात्रा कालीकोटे माल्कोटबाट माछालेक छिचोल्दै पातर खोलैखोला २०५७ साल जेठ २५ गते रारालिही पुग्याथ्यौं। जनसरकार घोषणा कार्यक्रम थियो। उहिल्यै जुम्ला जाँदा टोप्ला, महावु वा हाउडीलेक छिचोलेर जानुपथ्र्यो। ०५७ मा भने सत्ताबाट जोगिन माछालेक काट्यौं। सुरक्षा एवं पथप्रदर्शनमा स्क्वायड कमान्डर विशाल (महेन्द्रबहादुर शाही, कर्णालीका मुख्यमन्त्री) थ्री नट थ्री राइफलसँगै हुन्थे। रारालिहीमा सपना बाँडिए, क्रान्तिका नक्सा देखाइयो, जुम्ली गौरवगाथा गाइयो। माल्कोटजस्तै पत्रकारकै आवरणमा भाषण ठोकें। अर्को दिन हामी पत्रकार/मानवअधिकारवादी दिउँसै खलंगाबाट नेपालगन्ज फर्कियौं। अहिले भने पिच बाटैबाटो गाडीमै जुम्ला सररर...।
जुम्लाको इतिहास पैकालामय (वीरगाथामय) छ। अझ लछालकृति पैकेला त त्यहाँको राजनीतिक सांस्कृतिक महाकाव्य नै हो। जुम्लाका शासक जातिमा सिजापति, शाही र मल्ल हुने गर्थे। बहादुर शाहको मुख्तियारीकालमा सूर्यभान शाहीलाई १८३१ असोज ३ गते पर्वर राना र शिवनारायण सिंह बस्न्यातको गोरखाली फौजले पराजित गरी जुम्ला सर गर्यो। जुम्लीले अझै सो इख सजाएकै छन्– पूर्वको गोरखाली पश्चिम ध्यायो, कैकरपुत रूपा कैकर जायो।’ जुम्लाका लागि भिन्नै लालमोहरबाट १९८७ मा ४ थानी (न्यौपाने, देवकोटा चौलागाईं, धिताल र तिमल्सना) र ४ थरी (रावल, कार्की, बिष्ट र महत) भए। अन्तिम राणा प्रशासकमा बडाहाकिम लोकविक्रम राणा थिए भने राणशासनपछिको पहिलो बडाहाकिम श्रीबहादुर बस्नेत भए।
पाका जुम्ली हात बाँधेर बसेको कतै देखिँदैन। ऊन कातिरहेको, स्विटर बुनिरहेको या सुल्पा तानिरहेका हुन्छन्। कवितामै बात मार्न खप्पिस हुन्छन्, उखानमै अवस्थाको चित्र कोर्छन्। कामीका अन्तिम एक मात्र जीवित साक्षी कुँडारी रावतवाडाका ८४ वर्षीय रणबहादुर शाही पनि त्यस्तै हुन्। उनी कर्णालीको जनइतिहास, १० सालको चौभान जेल, कामीका कथा, दाजु दीपबहादुर शाहीलाई सामल पुर्याउन चौभान जाँदाका सास्ती, देखेका, भोगेका कुरा कवितामै सुनाउँछन्। नीलो तिरुवाको साहस र कलाको बखान गरेर थाक्दैनन्। समग्र जुम्लाको इतिहास मुखाकार नै छ। अगेनु हाम्रो कचहरी थलो बन्यो।
शाही बड्डालाई माओवादी, कामीअध्येता र वृन्जालाई कामीकी नातिनी थाहा पाउनेबित्तिकै आखाँबाट हर्षका तिला बग्न थाल्यो। अनुहारमा एकाएक कान्ति छायो। केहीबेर सुस्ताए।
अहिलेका माओवादीबारे कुरा भए। बड्डा भन्छन्– रगत दिन तमी हिँड्या... हामले त कम्मल, रोटो त दिया हौं। अब त क्या कुरा गद्दा हौं– काखी बज्याउने, रंग फेन्र्या, चित्त दुखाई बस्न्या जताततै। हिजाका पाठ सिक्न्या कति छन्...! क्या। हिजाँ रोटा खोज्न्न्या, आज त मान खोज्न्याँ भया... भाउअ। ककस्का नाम लिन्या हो। खस नेपाली भाषाको उद्गम थलोमा बड्डा टेपरिकर्ड झैं धारा प्रवाह खसानीमै बात मार्छन्।
आधुनिक बन्दै गएको जुम्ला खलंगामा मात्रै हैन, गाउँगाउँमा पनि रक्सी मैमत्त छ। सडकका किनारामा फास्टफुड पसल प्रशस्त देखिन्छन्।
७ गाउँपालिका (२१८ गाउँ) र १ नगरपालिका रहेको ११ पर्वत २२ पाटनको जुम्लाब्युटीको चर्चा गर्नुपर्ने धेरै विषय छन्। बली राजाका महात्म्य, लक्षालकृति पैकला, सिँजा र खसान राज्य, दत्तात्रय अर्थात् चन्दनाथ, भैरवनाथका, भोटेलामाका कथा, त्यहाँका संस्कृति र कृषिप्रणाली। पाटनका प्राकृतिक रंगिन फूलका बगैंचा, सिँजा खसभाषाको उद्गम थलो। कालीमार्सी, चिनो, कागुनु फापर, गहत र गुराँस जस्ता खाद्यानको खेती। चौंरी, यार्सा, स्याउ, अमिलो प्रजातिका फलफूल, नेपालकै पहिलो प्राविधिक विद्यालय केटियस, कृषि केन्द्र, रामकृष्ण माडसावको रडीखेल्ला एकीकृत बनस्पति खेती, दोस्रो चरणको कम्युनिस्ट आन्दोलन अगुवा बुद्धिकुमार गोसाईको भूमिका। पञ्चायतकालमै हरिश्चन्द्र महतले देखाएको स्वाभिमान र ब्रान्ण्ड एम्बेस्डर धावक हिमचितुवा हरिबहादुर रोकाया, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लैका सन्दर्भ सामग्री हुन्।
अहिले चौधबिस दरा टुहरो छ। आधुनिकताको न्वारन गर्ने नेपाली समाजशास्त्रका पिता डोरबहादुर बिष्ट अझै अलप छन्। काठमाडौंको सुखसयल त्याग्दै के हुटहुटी चलेर जुम्लाको पातरासी हिमालको फेदी डिल्लीचौर कुनुमा त्यस समाजशास्त्रीलाई लग्यो ! उत्तर छैन। मतवाली क्षेत्री अध्ययन गर्न गएका बिष्ट त्यहीं रमाए। ०५२ को सुरुमै राजधानीको एक ठूलो पत्रिकाले एउटा छुद्र खबर लेख्यो, सहन सकेनन्। त्यागको ‘उपहार’ ...असह्य भयो। के भएको थियो भनेर पुख्ता जानकारी दिने कोही छैनन्। बिष्टसँग अलगिएका कोषाध्यक्ष मानव सेजुवाल रहेनन्, न चौधबिस दरा जान निम्त्याउने भीमप्रसाद श्रेष्ठ नै रहे। समाचार प्रकाशनमा बिष्टसँग अलग्गिएका सेजुवालको हात रहेको भन्ने/मान्नेहरूको त्यहाँ कमी छैन। अहिले भने शिक्षा, बिजुली, आधुनिक खेती चौधबिस दरामा विष्टचित्र यत्रतत्र सर्वत्र देख्न सकिन्छ। बिष्टको अन्तिम इच्छा ‘म मरेपछि मेरो लास फोहोर बागमतीमा हैन, अल्कानेटा टाकुरामा गाडेर त्यहाँ डोरबहादुर बिष्ट नामक देवदारको बिरुवा रोपिदिनू’ भन्ने उनको कथन दरामा लोकोक्ति बनेको छ।
पातारासी हिमालको फेदमा छुमचौर संसारकै उचाइमा धान फल्ने ज्यूलो हो। तर त्यहाँका वासिन्दा अहिले मार्सीधान खेतीभन्दा यार्सागुम्बामै रमाइरहेका छन्। ‘किरा’ (यार्सा) खोज्न जाँदा गाउँ नै पाटन पुग्छ, स्कुल नै पाटनमा लाग्छ। देशविदेशका व्यापारी पुग्छन्, लुटेराले पनि त्यही ‘भाग्य’ खोज्छन्।
कालीमार्सी योगी चन्दनाथले सुरु गराएको किंवदन्ती छ। मार्सीधानको खेती सहज र सरल छैन। चैतको १२ गते बीउ भिजाउने, १६ गते पानीमा उतार्ने, ४ दिन फिजेर राख्ने, २० गते ब्याड राख्ने। भनाइ नै छ– ‘चैतको १२ गते पनि घर नपुगेको जुम्ली मर्यो भनेर काजकिरिया गरे हुन्छ।’ जेठमा रोपेर कात्तिक/मंसिरमा पाक्ने मार्सी धानका बाला खेतमा लहलह, अर्कोतिर कान्लामा स्याउ लटरम्म। धानलाई चाहिने गर्मी र स्याउलाई चाहिने ठण्डा... प्रकृतिको यस्तो दुर्लभ दृश्य जुम्लामा मात्र देखिन्छ।
आधुनिक बन्दै गएको जुम्ला खलंगामा मात्रै हैन, गाउँगाउँमा पनि रक्सी मैमत्त छ। सडकका किनारामा फास्टफुड पसल प्रशस्त देखिन्छन्।
एउटैजस्तो रुख गुराँस र चिमालोको हुन्छ। रातो गुराँस ओखती र प्राकृतिक सुन्दरताका गहना हो भने सेता गुराँस अर्थात् चिमालो विष हो। आफ्नै उपलब्धि–बोझको गौरवता ठट्टा बनाइएको टुलुटुलु हेर्न बाध्य जुम्ली माओवादीमा पनि छ। कामीको प्रथम चरणको संघर्ष र गर्भमा पुरिएका नायक सम्झने आवश्यकता नै भएन। वीभत्स सुज अभियान र गुठीचौर भेडाफार्मको अविवेकी कारबाही, विष्ट–पुस्तकालयको दुर्दशा, सिन्डिकेट सहिद उद्यम र भ्रष्टाचार जनयुद्धका कचरा बनेर चिच्याइरहेका छन्। ०५८ कात्तिक २८ गते खलंगाको फौजी कारबाहीले एउटा फरक सन्देश दिएको थियो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रहरी कारबाही, अश्रुग्याँस र गोली प्रहार आफ्नै पहलमा बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैंले शक्ति प्रयोग माओवादी अर्था्त नेकपा नेतृत्वलाई ऐतिहासिक कलंकै बन्यो।
एक भएका, एकीकरण नभएका माओवादी, एमाले हविगत अझ जुम्लामै देख्न पाइयो। तन जोडे पनि मन जोड्न कठिन, हिजाका कटुता अहिलेका तुष। वर्ग संघर्ष र अन्तरसंघर्षसँग जोडिएका कविराज त्यहाँ माओवादी भनेर चिनिएका। राज र बिजुलीपानीले सदा रंगिला रहने एमाले साँपुल्लीका वडाध्यक्षबीच पार्टीगत भनाबैरी रहेछ। हामी पनि घानमा परियो। गाउँ उर्लियो, कलुषता र संकीर्ण आवेगमा देखा परे। जुम्लाको शान्तिकालीन ‘उपहार’ चानचुने रहेन।
अन्त्यमा डेढ वर्षदेखि देशका विभिन्न भाग घुम्दै जाँदा पूर्वीतराई, भित्रीमधेस, पहाड र हिमाली भेगमा विविधता पाए पनि देशैभरि केही समान विषय रहे। जागृतिको उचित व्यवस्थापन हुन नसक्नाले समाजमा महानिराशा छाएको छ। सिंहदरबार गाउँमा भ्रष्टाचार संस्थागत लिएर पुगेको छ, त्रिपत्री करले (संघ, प्रदेश र स्थानीय) संघात्मक व्यवस्थाप्रति नै आक्रोश छ। जुन मर्मले संघीयता त्यसको मर्म कतै देखा परेन, बरु गलत दिशामा जाँदैछ। राजनीतिककर्मीको एउटा नयाँ सामाजिक समूह उपभोक्ता समितिको नाममा स्थानीय सिन्डिकेट राजनीति र भ्रष्टाचारको चोरदुलो बनेको छ। अधिकांश जनप्रतिनिधि पूूर्वएनजीओकर्मी छन्। स्थानीय योजना आईएनजीओले बनाइरहेका छन्। आधुनिकता र ठूले पहिचान फास्टफुडे समाज मात्रै हैन, भत्ता, राम्रो होटेलको खाना/खाजाले आसे एनजीओ–समाज पनि बन्दैछ। फास्टफुडे समाजमा राजनीतिकर्मी, कर्मचारी ठेकेदार र एनजीओकर्मीको नयाँ रसायन बनेका छन्। कर्णालीमा चीनलक्षित एनजीओ फन्डिग बढेको छ भने सञ्चालित १७ सामुदायिक रेडियोमध्यै १४ एनजीओको स्वामित्व छ। घुस नदिई/नखुवाई केही पनि काम बन्दैन भन्ने मान्यता बढ्दो छ। तीव्र गतिमा धर्म परिवर्तन भइरहेका छन्। दलित र जनजातिमा ज्यादै प्रभाव पारेको छ। गाउँबस्तीमा नयाँ अनुहारका जिम्वाल जन्मिरहेका छन्। जनयुद्धले गरेको सामाजिक, सांस्कृतिक, राजनीतिक हस्तक्षेप पूरै उल्टिएका छन्। हिजैका हुकुमे समूह हरेक क्षेत्रमा फेरि हावी भए। राजनीतिक पार्टी र नमस्तेका नारा फरक भए पनि सबैका चित्र र चरित्र एकै छन्। राजनीति अब सेवा रहेन, व्यवसायी र महँगो पनि अचाक्ली नै, पार्टी र नेताहरू अभिभावक अविश्वास बढ्दो छ।
पैकला खोज्दै जुम्लाबाट फर्कनै लाग्दा हान्निएर भेट्न आएका जनयुद्धताका सखा केशरले सोधे–सरजी... हामीले रोपेका विश्वास, आशा र अपेक्षा, आँसु, पसिना र रगतका हाम्रा सपना अहिले कता गए ? ती शक्ति र आदर्श हाम्रा कता बिलाए ? ती अनौठा मण्ठाहरू अहिले कता अलप भए ?
जुम्लीब्युटी र चिहानबाट चिच्याइरहेका इतिहासका गौरवता नै अंगार नभई फिलिंगा जुम्ली पैकला हुन्। [email protected]