जनप्रतिनिधिले फिर्ता गरे बिरामीको पैसा

जनप्रतिनिधिले फिर्ता गरे बिरामीको पैसा

 बेनी : बेनी नगरपालिका–९ घतानका वडासदस्य भेषबहादुर सेनले धुपिबोटका कर्णबहादुर विकको उपचारका लागि प्रवासबाट आएको सहयोग रकम फिर्ता गरेका छन् ।

एक वर्षअघि सडक बोर्ड र स्थानीय जन श्रमदान गरी १ लाख रुपैयाँको लागतमा तोरीपानी–ढोल्ठान सडक मर्मतका क्रममा रूख ढल्दा विक गम्भीर घाइते भएका थिए । उनै घाइते विकको उपचारका लागि म्याग्दी उद्धार समिति बहराइनले दुई महिनाअघि संस्थागत र व्यक्तिगत गरी ३२ हजार ६ सय रुपैयाँ पठाएको थियो । तर, वडासदस्य सेनको नाममा प्रभु मनी ट्रान्सफरमार्फत पठाइएको रकम पीडित विकले पाउनुपर्नेमा उनको उपचार र सडक मर्मतका क्रममा उपभोक्ता समितिलाई ऋण लागेको भन्दै सेनले आफैंसँग रकम राखेका थिए ।

सडक मर्मतका लागि स्थानीय खिमबहादुर कार्की अध्यक्ष भए पनि व्यवस्थापनको सम्पूर्ण काम भने वडासदस्य सेनले नै गर्दै आएका थिए । पीडित विकले सहयोग रकम नपाएपछि गत आइतबारको अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको गण्डकी प्रदेश पृष्ठमा ‘बिरामीलाई आएको रकम जनप्रतिनिधिको खल्तीमा’ नामको शीर्षकमा समाचार प्रकाशन भएपछि उद्धार समिति बहराइन र वडासदस्य सेनबीचको छलफलले रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।

सोहीबमोजिम सेनले फिर्ता गरेको उक्त रकम मंगलबार वडाध्यक्ष बेलबहादुर चोखालको रोहबरमा उद्धार समितिका सहसचिव प्रवीन छन्त्याल र खेलकुद सहसचिव आनन्द बानियाँले पीडित विकलाई हस्तान्तरण गरेका हुन् ।

सहसचिव छन्त्यालले संस्थाको कुनै पनि सडक उपभोक्ता समितिलाई सहयोग गर्ने नीति नरहेकोले पीडितले नै रकम पाउनुपर्ने मान्यताका आधारमा सहयोग फिर्ता लिएर हस्तान्तरण गरिएको बताए । ‘भेषबहादुर सेनज्यू लामो समयसम्म बहराइन बसेर उद्धार समितिमा काम गर्दै आउनुभएको मान्छे, उहाँले दुर्घटना हुँदा उपभोक्ता समितिलाई आर्थिक समस्या परेको बेहोराको पत्र पठाउनुभएको रहेछ’, उनले भने, ‘उक्त सहयोग उहाँमार्फत पीडितकहाँ पुग्नुपर्ने थियो तर बुझाइ फरक प¥यो ।’ समाचार प्रकाशन भएपछि उद्धार समिति बहराइनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक सहयोग पीडित विकले नै पाउनुपर्ने किटान गरेको थियो । समितिका खेलकुद सहसचिव बानियाँले बुझाइमा कमजोर हुँदा पीडितले समयमै रकम नपाएको बताए ।

‘यस विषयमा हाम्रो बैठकमा पनि नियमित कुरा उठ्यो तर, समस्याको समाधान भएको थिएन्, अहिले सबैले भनेजस्तै भयो’, उनले भने । दुर्घटनामा ढाड भाँच्चिएर गम्भीर घाइते विकको प्रहरीको रोहबरमा उपभोक्ता समिति र डोजर मालिकले सम्पूर्ण उपचार खर्च बेर्होने सहमति भएको थियो । बेनी अस्पताल र पोखरास्थित मनिपाल अस्पतालमा गरी विकको उपचारका लागि १ लाख ४ हजार रुपैयाँ खर्च भएको छ ।

वडाध्यक्ष चोखालले वडासदस्य सेनको काम गराइमा कुनै स्वार्थ नभए पनि प्रक्रियागत कमजोरी भएको बताए । ‘जनताको कामका लागि जतिबेला पनि तयार हुने उहाँले आर्थिक हिनामिना त सोच्न पनि सकिन्न, तर प्रक्रिया नमिल्दा यस्तो देखियो’, उनले भने, ‘कमजोरी सबैबाट हुन्छ, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ ।’ सहयोग रकम बुझ्दै पीडित विकले आफूलाई मृत्युको मुखबाट जोगाउने सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद दिए । सामान्य आरन पेसाबाट जीविका चलाउँदै आएका विक उपचारपछि लौराको सहाराले हिँड्डुल गर्न सक्ने भएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.