उपकरणविहीन क्षेत्रीय अस्पताल

उपकरणविहीन क्षेत्रीय अस्पताल

पोखरा : असार २२ गते २० जनाको ज्यान जाने गरी मुस्ताङमा भएको टिपर दुर्घटनाका घाइते उपचारका लागि पोखरास्थित निजी लगानीको मणिपाल अस्पताल पुर्‍याइयो । साउन ११ गते पृथ्वीराजमार्गमा भएको दुर्घटनाका घाइते लालबहादुर ज्वारचनलाई पनि निजी अस्पतालै लगियो । ४ अस्पताल चहारेपछि उनको फिस्टेल हस्पिटलमा उपचार गरियो । कारण थियो—उनलाई लगेजति अस्पतालमा सीटीस्क्यान मेसिन नहुनु ।

ठूला दुर्घटनाका घाइते सामान्यतया प्रदेशकै सबैभन्दा ठूलो ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल’ लगिनुपर्ने हो । तर, २ दुर्घटनामा त्यस्तो भएन । त्यसको कारण हो, क्षेत्रीय अस्पतालमा सीटीस्क्यान मेसिन नहुनु । ‘कतिपय घाइते ल्याउनासाथ सीटीस्क्यान गरेर उपचार गर्नुपर्ने हुन्छ तर हाम्रो मेसिन बिग्रिएको छ’, क्षेत्रीय अस्पतालको मातृसंस्था पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. नरेन्द्र गुरुङले भने, ‘यस्तो अवस्था हुँदा भित्रैदेखि लाज लाग्छ ।’

सीटीक्यान मेसिन १० महिनादेखि बिग्रिँदा पनि किन बनेन त ? डा. गुरुङ भन्छन्, ‘हामी आफैं मर्मत गर्न सक्दैनौं, मर्मतका लागि मन्त्रालयलाई ताकेता गरेको गर्‍यै छौं ।’ खरिद र मर्मतसम्बन्धी काम आफूहरूको अधिकार क्षेत्रबाहिर रहेको जानकारी उनले दिए । स–साना सामान किन्न पनि केन्द्रकै भर पर्नुपर्ने कानुनी व्यवस्था रहेको उनले बताए ।

स्वास्थ्योपचारमा सीटीस्क्यानभन्दा महत्वपूर्ण अर्काे उपकरण एमआरई अहिलेसम्म क्षेत्रीय अस्पतालमा छैन । त्यो भने किन्ने तयारीमा रहेको अस्पतालका निमित्त निर्देशक डा. राजेश अधिकारीले सुनाए ।

अप्रेसनका लागि चाहिने अत्यावश्यक उपकरण पनि अस्पतालसँग नभएको डा. गुरुङ बताउँछन् । ‘कतै प्वाल नपारी मिर्गाैलाको पत्थरी निकाल्न सकिने प्रविधि विश्वबजारमा आइसकेको छ’, उनले भने, ‘त्यस्तो उपकरण हामीसँग छैन ।’ दक्ष जनशक्ति हुँदाहुँदै पनि उपकरणकै कारण सेवा दिन नसकेको उनी बताउँछन् ।

बहिरंग सेवा (ओपीडी) मा बिरामीको अचाक्ली भिड लाग्दा असहज भएको अस्पताल सञ्चालक समितिका सदस्य तीर्थलाल श्रेष्ठले बताए । उनकै भनाइमा अहिले प्रशासनिक भवन रहेको ठाउँमा पनि ओपीडी विस्तार गर्ने योजना छ । ‘क्षेत्रीय स्वास्थ्य निर्देशनालय बसेको भवन मागिरहेका छौं, त्यो पायौं भने सजिलो हुनेछ’, उनले भने, ‘ओपीडीमा दिनकै २ हजार २५ सय बिरामी आउँछन्, अझ फलो अपका लागि पनि आउनेहरू जोड्दा ४ हजार पुग्छ ।’ धेरै बिरामी र कुरुवाकै कारण शौचालय सफाइ कठिन भइरहेको उनले बताए । ‘बाहिरपट्टि पब्लिक ट्वाइलेट बनाउन पाए हुन्थ्यो’, उनले भने, ‘ट्वाइलेट नहुँदा बाहिरबाहिरै दिसापिसाब गरिदिएको पनि भेटिन्छ ।’ प्रसूति वार्डमा बिरामीको भीड लाग्दा बेन्चमै राखेर उपचार गर्नुपर्ने अवस्था आइरहेको अस्पताल सञ्चालक समितिका सदस्य श्रेष्ठले सुनाए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार उक्त अस्पतालको निरीक्षण गरेका थिए । प्रदेश सांसद मनबहादुर गुरुङ र अस्पताल सञ्चालक समितिको अनुरोधमा उनले अस्पतालका समस्या सुने । प्रतिष्ठानका डिन डा.नरेन्द्र गुरुङले सीटीस्क्यान मेसिन किन्न र क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवन उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग माग गरे । मुख्यमन्त्री गुरुङले क्षेत्रीय अस्पताल प्रदेश सरकारको नभई संघीय सरकारमातहत भएको जानकारी गराए । ‘केन्द्रसँग समन्वय गर्ने सहयोग हामी गर्छाैं’, उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.