पाउडर दूध कारखाना धराशायी
ठिमुरा (चितवन) : भारतीय उत्पादनले विस्थापित गरेपछि नेपालको एक मात्र धुलो दूधको कम्पनी धराशायी बनेको छ । भारतबाट कम गुणस्तरको धुलो दूध सस्तोमा आएपछि ‘चितवन मिल्क उद्योग’ प्रभावित भएको हो । उक्त कम्पनी आंशिकरूपमा मात्रै चल्ने गरेको छ । मुलुकको सबैभन्दा ठूलो धूलो दूध उत्पादन कारखाना सरकारको बेवास्ताका कारण धराशायी बनेको हो । कुनै बेला नेपाली बजारमा आफ्नो उत्पादनलाई बजारमा सर्वसुलभ बनाएको कारखानाले आफ्नै उत्पादन बजारसम्म लैजान सकेको छैन ।
कारखाना नियमित सञ्चालन हुँदा दैनिक एक लाख लिटर दूधको पाउडर उत्पादन हुन्थ्यो । सञ्चालन भएको पाँच वर्षमा कम्पनी बन्द भयो । कारखानाले ०६६ चैत २७ बाट उत्पादन थालेको थियो । दैनिक डेढ लाख लिटर पाउडर दूध र ५० हजार लिटर दूधजन्य सामग्री उत्पादन गर्ने क्षमता भए पनि क्षमताअनुसार उत्पादन भने हुन सकेन । निजी क्षेत्रको लगानीमा चितवनको भरतपुरमा सञ्चालित चितवन मिल्क लिमिटेड कच्चा पदार्थको अभाव, अस्वस्थ बजार प्रतिस्पर्धा, विद्युत् भार कटौती, बन्द हडताललगायत महाभूकम्पका कारण घाटा भएपछि कम्पनी बन्द भएको थियो । नेपालमा सी ग्रेडको पाउडर आउने गरेको कम्पनीले जनाएको छ । गुणस्तर नभए पनि सस्तोमा पाउने हुनाले भारतीय पाउडर बढी बिक्री हुने गरेको छ । ‘ पाउडर दूधको तुलना गर्दा भारतको भन्दा नेपाली प्रतिबोरा ४० देखि ३० लिटर बढी फाइदा हुन्छ’, उद्योगका म्यानेजर दुर्गा पराजुलीले भने ‘ बाहिरबाट आउने दूध नेपालको तुलनामा गुणस्तरहीन हुन्छ तर भन्सारमा निर्वाध भित्रिँदा हाम्रो कम्पनी धराशायी छ ।’
गत वर्षको कात्तिकदेखि फेरि पाउडर दूध उत्पादन सुरु भएको छ । अहिले नेपाल डेरी एसोसिएसन नेपालका लागि मात्र धुलो दूध उत्पादन गरेको छ । करिब ४० देखि ६० हजार लिटर मात्रै पाउडर बनाउन थालिएको छ । पाउडरलाई भ्याटबाहेक प्रतिकिलो एक सय पाँच र बटरलाई भ्याटबाहेक ४७ रुपैयाँमा डेरी एसोसिएसनले किन्ने गरेको छ । २२ जना कर्मचारी राखेर कम्पनीमात्रै सञ्चालन गरिएको छ ।
भरतपुर महानगरपालिका–१ ठिमुरामा २०६९ सालमा कम्पनी स्थापना भएको हो । घाटा भएपछि २०७२ भदौबाट कम्पनी पूर्ण रूपमा बन्द भएको थियो । भूकम्प र कच्चा पदार्थका अभावले कारखाना बन्द भएको थियो । तर भारतीय उत्पादनका कारण नेपाली उत्पादनलाई विस्थापित भएका कारण उद्योग बन्द भएको हो । उक्त कम्पनीमा डेढ लाखसम्म दूध प्रशोधन गर्ने क्षमता छ । राज्यले चासो नदिएपछि उत्पादन हुन नसकेको सञ्चालकले बताए । नेपालमा बाह्य मुलुकबाट आयात हुने उत्पादनको गुणस्तरीयताको परीक्षणमा कडाइ नहुँदा नेपाली उत्पादनले बजार नपाएको चितवन मिल्कका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए । गैरकानुनी रूपमा आयात हुने विदेशी पाउडर दूधलाई रोके नेपाली उत्पादनले बजार नपाउने उनले बताए । ‘ गुणस्तरमा मात्रै ख्याल गरे हाम्रो उत्पादनले बजार पाउँछ’, श्रेष्ठले भने, ‘ प्रोत्साहन गर्ने राज्यको नीति नहुँदा नेपाली उद्योग धराशायी बनेका छन् ।’ कात्तिक महिनाबाट कम्पनीले उत्पादन सुरु गर्ने योजना रहेको उनले बताए ।
बटर र एसएमपी (डेरी, आइसक्रिम उद्योगमा प्रयोग हुने पाउडर दूध), हाइटनर (चियामा प्रयोग गर्ने पाउडर दूध), घिउ र बटर उत्पादन हुन्छ । करिब एक अर्बको लागतमा सञ्चालित उद्योगले खपत गर्न समस्या भएपछि कम्पनीले क्षमताअनुसार उत्पादन गर्न पाएन । बाह्य मुलुकबाट भित्रिएको उत्पादन लागत मूल्य कम हुने र कमजोर गुणस्तरका दुग्धजन्य पदार्थ आयात हुँदा समस्या भएको कम्पनीले जनाएको छ ।
नेपालमा चार हजार टन धुलो दूध विदेशबाट आयात हुने गरेको छ । लागत र गुणस्तर राम्रो भए पनि नेपाली उत्पादन महँगो पर्ने भएपछि भारतीय उत्पादनले असर गरेको छ ।