हप्तैपिच्छे बलात्कार

हप्तैपिच्छे बलात्कार

 महेन्द्रनगर : साउन ११ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटियो ।

अघिल्लो दिन साथी रोशनी बमको घरमा गृहकार्य गरेर फर्किएकी उनको बलात्कारपछि हत्या कसले ग¥यो भन्ने अझै खुलेको छैन । साथीको घरबाट दिउँसै फर्किएकी उनको एकाएक अर्को बिहान हत्या गरिएको अवस्थामा शव भेटियो ।

हत्या गरिएको ६ दिन बितिसकेको छ तर अहिलेसम्म हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय हत्याको अनुसन्धानमा लागिरहेको छ ।

निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको अघिल्लो दिन कञ्चनपुरमै अर्की एक २० वर्षीया महिला बलात्कारको सिकार भइन् । शुक्लाफाँटा नगरपालिका–८ स्थित नौखुरी शिविरमा बस्दै आएकी २० वर्षीया महिला राति घरमा सुतिरहेको अवस्थामा ढोका फोडेर भित्र पसेका एक युवकबाट बलात्कृत भएकी हुन् ।

स्थानीय र प्रहरीले खोजी गरेपछि अर्काे दिनै बलात्कारी पक्राउ परे । स्थानीय ३२ वर्षीय बिन्तीराम चौधरीलाई प्रहरीले पक्राउ गरी अदालतबाट १० दिन म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

साउन ४ गते पुनर्वास नगरपालिका–६ नमुना सामुदायिक वनमा ९ वर्षीया बालिका बलात्कृत भइन् । बालिकामाथि बलात्कार गर्ने पुनर्वास–३ आईबीआरडीका सलिम अन्सारीलाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाएर कारबाही थालेको छ ।

त्यसको तीन दिनअघि मात्रै साउन १ गते पुनर्वासमै एक महिलामाथि बलात्कारको प्रयास भयो । गाईबाख्रा चराउन गएकी ३९ वर्षीया महिलामाथि पुनर्वास ६ परासनका ३० वर्षीया नरेश रानाले बलात्कार प्रयास गरे । उनलाई पनि पक्राउ गरेर प्रहरीले अहिले जबर्जस्ती करणी उद्योगअन्तर्गत मुद्दा चलाएर कारबाही अघि बढाएको छ ।

असार मसान्तकै दिन कृष्णपुर नगरपालिका ८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको सामूहिक हत्यापछि शव गाढिएको अवस्थामा फेला प¥यो ।

लालझाडी संरक्षित वनभित्रको अमखैया खोलामा उनको शव उत्खनन गरी निकालियो । त्यस घटनाका सम्बन्धमा समेत स्थानीय दुई युवकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रत्येक महिनामा घटेका अपराधको तथ्यांक हेर्ने हो भने हप्तैपिच्छे बलात्कार भएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक हेर्ने हो भने वैशाख पहिलो साता कृष्णपुर नगरपालिकाकै एक पुरुषले १४ वर्षीया आफ्नै छोरीको बलात्कार गरे । बलात्कृत बालिका आफैं प्रहरी कार्यालय पुगेर जाहेरी दिएपछि उक्त कुरा सार्वजनिक भयो ।

चैत अन्तिम साता भीमदत्त नगरपालिका–१० जिमुवामा एक युवकले दुई बालिकालाई पैसा दिएर नजिकैको जंगलमा लगेर बलात्कार गरे । १०÷११ वर्षे ती बालिकालाई छिमेककै युवकले घरनजिकै बलात्कार गरेका थिए ।

यी जिल्ला प्रहरी कार्यालयसम्म पुगेका घटना हुन् । कतिपय घटना प्रहरीसम्म नपुग्ने गरेको समेत अवस्था छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेटी पनि जिल्लामा बलात्कारका घटना बढ्दै गएको बताउँछन् ।

‘अहिले हप्तैपिच्छे बलात्कारका घटना बाहिर आइरहेका छन्’, उनले भने, ‘यसले समेत समाजमा अपराध बढ्दै गएको देखाउँछ ।’ उनका अनुसार कतिपय बलात्कारका घटना प्रहरी कार्यालयसम्म नपुगेर बीचमै मिलापत्र हुने गरेका छन् ।

प्रहरीका अनुसार कतिपय सहमतिमा शारीरिक सम्बन्ध कायम हुने र पछि कुरा नमिल्दा बलात्कारमा परिणत हुने घटनासमेत बढ्दो अवस्थामा रहेका छन् । बढ्दो सामाजिक विकृति, इन्टरनेट र दुव्र्यसनीका कारण अहिले बलात्कारका घटना बढेको ठम्याइ प्रहरीको छ ।

नाबालिकादेखि किशोरीसम्म बढी बलात्कारको सिकार भएका छन् भने कतिपय वृद्धा अवस्थाका महिलासमेत बलात्कारको सिकार हुन पुगेका छन् । घरपरिवार र आफन्तबाटै कतिपय बलात्कारको सिकार हुनुपरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका समाजशास्त्र विषयका सहायक प्राध्यापक हरिप्रसाद बडु पीडकको मनोविज्ञान उच्च हुँदै जानु नै बलात्कारका शृंखला बढ्नु कारण रहेको बताउँछन् । ‘बलात्कारमा संलग्न अपराधीले पहिला त कारबाही नै भोग्नुपरेन, पक्राउ परे पनि सामान्य रूपमा छुट्न थाले, यसले उनीहरूको मनोबल बढेको मान्न सकिन्छ’, सहायक प्राध्यापक बडुले भने ।

उनले समाजले महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आइनसकेकाले समेत त्यस्तो भइरहेको बताए । ‘समाजमा बढ्दै गएको विकृति र विसंगतिले समेत बलात्कारका घटना बढेको देखिन्छ’, मानवअधिकारकर्मी कोमल निरञ्जन भाटले भने । अभिभावकले पनि आफ्ना छोराछोरीको ध्यान राख्नुपर्ने अवस्था आएको उनले बताए । राज्यका निकायले समेत सामाजिक चेतना फैलाउनेदेखि महिला तथा बालबालिकाको सुरक्षामा संवेदनशील हुनुपर्ने उनी बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा जबर्जस्ती करणीका १७ र जबर्जस्ती करणी उद्योगका १५ घटना बाहिर आए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.