कर्मचारी नहुँदा यातायातमा काम ठप्प
महेन्द्रनगर : गोविन्दराज रेग्मीले सवारीसाधनको नामसारी गर्न महेन्द्रनगरस्थित महाकाली अञ्चल यातायात कार्यालय धाएको दुई साताभन्दा बढी भइसक्यो तर अहिलेसम्म उनको सोरुमबाट बिक्री भएका सवारीसाधनको नामसारी खरिदकर्ताको नाममा हुन सकेको छैन।
नामसारीका लागि उनी दिनहुँ यातायात कार्यालयमा धाइरहेका छन्। उनीजस्तै नामसारीलगायत कामका लागि यातायात कार्यालय महेन्द्रनगर धाउने सयौं सेवाग्राहीले यस्तै समस्या भोगिरहेका छन्। कार्यालयमा गत चैतदेखि मेकानिकल इन्जिनियर र मेकानिकल सुपरभाइजर नहुँदा सेवाग्राहीहरूले दैनिक समस्या भोग्दै आइरहेका छन्। दुई जना प्राविधिकको दरबन्दी रहेको यातायात कार्यालयमा प्राविधिक कर्मचारी नभएको ५ महिना बित्न लाग्दा पनि दरबन्दी रिक्त छ।
‘सवारी नामसारी गर्न धाएको दुई साताभन्दा बढी भइसक्यो’, रेग्मीले भने, ‘तर यहाँ मेकानिकल इन्जिनियर नहुँदा अहिलेसम्म काम हुन सकेको छैन।’ यातायात कार्यालयमा सवारीसाधन सम्बन्धी मुख्य काम नै प्राविधिकको हुन्छ। प्राविधिक नै नहुँदा सेवाग्राहीले सास्ती खेपिरहेका छन्। महिनौंदेखी सवारीसाधनको नामसारी र कागजी प्रक्रिया पूरा नहुँदा गाडी बिक्रेतालाई समेत कठिनाइ भइरहेको छ।
नामसारीका लागि सबै प्रक्रिया भइसके पनि इन्जिनियरको हस्ताक्षरमा आएर काम रोकिएको उनले बताए। उनीजस्ता धेरै सेवाग्राही दैनिक कार्यालय पुगेर त्यसै फर्किन बाध्य छन्। प्राविधिकले गर्नुपर्ने काममा कार्यालय प्रमुखले हस्ताक्षर गर्न पाउने अख्तियारीसमेत नहुँदा सेवाग्राहीको काम रोकिएको छ।
यातायात कार्यालयमा गत चैतदेखि मेकानिकल इन्जिनियर र मेकानिकल सुपरभाइजर नहुँदा सेवाग्राहीहरूले दैनिक समस्या भोग्दै आइरहेका छन्।
गत चैतदेखि यातायात कार्यालयमा सवारी दर्ता, नामसारी, जाँचपास र हेरफेर गर्नुपर्ने सबै काम रोकिएको छ। ‘मैले यहाँको समस्याबारे धेरै पटक विभागमा जानकारी गराइसकें, अहिलेसम्म पनि कुनै सुनुवाइ नै भएको छैन’, कार्यालय प्रमुख केशवदत्त जोशीले भने। उनले कार्यालयमा प्राविधिक नहुँदा सेवाग्राहीहरू समस्यामा परेको बताए। उनका अनुसार केही समय धनगढीबाट प्राविधिकहरू ल्याएर भए पनि काम गराएको तर अहिले धनगढीबाट ल्याउन समस्या भएकाले काम प्रभावित भएको छ।
अहिलेसम्म प्राविधिक आउने कुनै टुंगो नलागेको जोशीले बताए। विभागमा पटक पटक ताकेता गर्दा कसैले पनि आउन नचाहेको जानकारी पाएको कर्मचारीहरू बताउँछन्। प्राविधिक कर्मचारी नहुँदा कार्यालयले सवारीचालक अनुमतिपत्रको परीक्षा लिनसमेत सकेको छैन। लाइसेन्सको ट्रायलदेखि सवारीसाधनका प्राविधिक सबै काम गर्नुपर्ने प्राविधिक कर्मचारी नहुँदा सेवाग्राहीले निकै सास्ती खेपेका छन्।
प्राविधिक कर्मचारी नहुँदा सेवाग्राहीले भोग्नु परेको समस्याका बारेमा प्रतिक्रिया लिन यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालसँग कैयौं पटक सम्पर्क गर्दा पनि उनको फोन उठेन।