आफन्तकै योजनामा अंकितको अपहरण र हत्या
![आफन्तकै योजनामा अंकितको अपहरण र हत्या](https://annapurnapost.prixacdn.net/media/albums/Simara-Ankit-Gupta_20180726002100_vlAnaDVz3X.jpg)
सिमरा : बारा जितपुरका ९ बर्से बालक अंकित गुप्ताको अपहरणपछि हत्याको घटनामा उनकै आफन्तको संलग्नता रहेको रहस्य खुलेको छ । इलाका प्रहरी कार्यलय सिमराले आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले घटनाको मुख्य योजनाकार वीरगन्ज महानगरपालिका–१३ रानीघाटका ३५ बर्से प्रदीपकुमार कलवार गुप्तासहित तीन जनालाई सार्वजनिक गरेसँगै आफन्तकै योजनामा घटना भएको रहस्य सार्वजनिक भएको हो ।
घटनाका मुख्य योजनाकार गुप्ता बालक अंकितका भिनाजु हुन् । उनकै योजना सफल बनाउन अन्य तीन जना घटनामा संलग्न थिए । उनीहरूले गत जेठ २२ गते अंकितलाई अपहरण गर्दै एक करोडभन्दा बढी रकम फिरौती लिएर हत्या गरेका थिए । पहिचान खुल्ने डरले प्रदीपकै योजनामा अंकितको हत्या भएको खुलेको थियो । अंकितको अपहरण र हत्यामा संलग्न रहेको पुष्टि भएका अन्यमा पर्साको पोखरिया नगरपालिका ७ घर भई हाल वीरगन्ज महानगर–२४ बस्ने २२ बर्से सिपाही भनिने रामप्रवेश साह, उनकी भाउजू पर्सा गोविन्दपुरकी ५३ वर्षीया पार्वती देवी र भारत विहार राज्य पश्चिम चम्पारण जिल्लाको जोगापट्टी डुमरिया घर भएका १८ बर्से सुरज गिरी रहेका छन् ।
प्रदीपकै योजनामा यी तीन व्यक्ति अपहरणमा जोडिएका थिए । प्रदीप र साहले अंकितलाई जितपुरबाट अपहरण गरेको खुल्न आएको छ । पक्राउ परेकामध्ये साह र पार्वती नाताले देवर–भाउजू हुन् । साहले नै पार्वतीलाई घटनामा संलग्न गराएका थिए । बालक अपहरणका लागि प्रदीपसँगै जितपुर आएका साहले अंकितको परिवारलाई फोन गर्दै फिरौती रकम मागेका थिए ।
आफन्तक योजनामा अंकितको अपहरण र हत्या
भारतीय नम्बर प्रयोग गर्दै परिवारसँग निरन्तर सम्पर्कमा रहेका साह पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । साहको वीरगन्जस्थित कोठाबाट प्रहरीले भारतीय र नेपाली गरी सात लाख १५ हजार नगद, अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र दुई राउन्ड गोली बरामद गरेको छ । साहलाई साउन ७ गते पक्राउ गरेपछि उनकै बयानका आधारमा पार्वती र गिरीलाई साउन ८ गते र प्रदीपलाई साउन १८ गते प्रहरीले पक्राउ परेको हो । पक्राउ परेका चार जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेका चार जनालाई प्रहरीले अपहरण तथा कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र हातहतियार खरखजाना मुद्दामा कारबाही थाल्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)