पूर्ण खोप जिल्ला पर्सामा भेटिए जिरो डोजको बालक, लगाइयो खोप
वीरगन्ज : आठ महिना पहिले नै पूर्ण खोप जिल्ला घोषणा भइसकेको पर्सामा जिरो डोजको (नियमित कुनै पनि खोप नलगाएको) एक बालक भेटिएका छन् । जन्मेदेखि १५ महिनासम्मको बच्चालाई डिपिटी, बिसिजी ,पोलियो लगायतका गरी १३ प्रकारका खोप लगाउने गरिन्छ ।
स्वास्थ्य कार्यालय पर्साले २०८१ जेठ ३ गते पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरेको थियो । तर पूर्ण खोप जिल्ल घोषणा भइसकेको ८ महिनापछि पर्सामै जिरो डोजको एक बालक भेटिएका हुन्। पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर ५ हरिहरपुरमा १ वर्ष ६ महिना उमेरका बालकले नियमित १३ मध्ये एउटा पनि खोप नलगाएको भेटिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
ती बालकलाई शनिबार हरिहरपुरमै पुगेर स्वास्थ्यकर्मीले खोप लगाएका स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।
उनका अनुसार जिल्लामा अहिले जारी महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एच.पि.भि. खोप अभियानका क्रममा विद्यालयका पँहुच बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीहरूको पहिचानका लागि गत शुक्रबार स्वस्थ्यकर्मीहरूको टोली हरिहरपुरमा पुगेको थियो ।
हरिहरपुरस्थित गाँउपालिका कार्यालय अगाडिको चौरमा अस्थायी पाल टाँगेर बसेका फिरन्ते नेटुवा र बढई समुदायमा स्वासथ्यकर्मीको टोली पुग्दा त्यही समुदायमा १ वर्ष ६ महिनाका एक बालक फेला परेको ठाकुरले बताए । पूर्ण खोप घोषणा भइसकेपछि पर्सामा जिरो डोजको पहिलो बच्चा भेटिएको उनले बताए ।
त्यसपछि शनिबार स्वास्थ्य कार्यालय पर्सा, युनिसेफ र पालिकाकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुगेर ती बालकलाई खोप लगाएको ठाकुरले जानकारी दिए ।
ठाकुरले भने, ‘हरिहरपुरको चौरमा पाल टाँगेर बसेको फिरन्ते समुदायका मानिसहरू पर्सा जिल्लाका नभइ बारा जिल्लाका हुन् । उनीहरू एकै ठाँउमा यसरी बस्दैनन् । ठाँउ फेरेर घुमिरहन्छन् । त्यसै कारण ती बालक नियमित खोप लगाउनबाट वञ्चित भएको हुनुपर्छ।’
नियमित खोपबाट वञ्चित बालक भेटिएका उक्त फिरन्ते समुदायमै एच.पि.भि. खोपको लक्षित उमेर समूहका तीन जना किशोरीहरू भेटिएको ठाकुरले बताए । फिरन्ते समुदायकै ११, १३ र १२ वर्षका ती किशोरीहरुलाई पनि शनिबार नै एच.पि.भि. खोप लगाइएको ठाकुरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !