‘मास्टरसाहेब’ सभामुख
जनकपुरधाम : राजर्षि जनक विश्वविद्यालयमा कानुनशास्त्र संकायको पढाइको तरखर हुँदै थियो। सधैंझै कक्षामा शिक्षक उपस्थिति भए। तर उनले आज (बुधबार) आफूले नपढाउने बताए। र, भने ‘आज अतिथि व्याख्याता’ आउँदै हुनुहुन्छ। उहाँले ‘संघीय शासन प्रणाली, यसका अभ्यास, समावेशिताको सकारात्मक प्रभाव’ का विषयहरूमा अध्यापन गराउनु हुनेछ।’ लगत्तै कोठामा अतिथि पुगे। उनले कक्षामा कसरी घुलमिल हुने विषयमा विद्यार्थीलाई जानकारी गराए। अनि, साना देश र ठूला देशमा संघीयता कार्यान्वयनका प्रयासबारे अध्यापन गराए। विद्यार्थीले रोचक पाराले सुने। ४५ मिनेटको कक्षा लम्बिएर साढे एक घण्टा पुग्यो।
कक्षाकोठामा ‘अतिथि व्याख्याता’का रूपमा उपस्थित थिए– मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल। तर, सुरुमा प्रदेश सभामुख मण्डलले ‘कक्षा लिने’ कुरा विद्यार्थीलाई जानकारी गराइएको थिएन। कक्षा सञ्चालनको बीचतिर मात्रै मण्डलले आफ्नो परिचय खुलाए।
सभामुख मण्डलका लागि कक्षाकोठाको अनुभव भने नौलो थिएन। शिक्षण पेसा छाडेको २३ वर्षपछि जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयमा पढाउन जाँदा सभामुख मण्डलले नेताको भन्दा शिक्षकको अनुशासन र अध्यापन पद्धतिको पूर्ण प्रयोग गरेर आफ्ना कुराहरू राखे।
विद्यार्थी र सभामुख ‘मास्टरसाहेब’ बीचको कुराकानी यतिधेरै रोचक र गहन भयो कि, ४५ मिनेटको कक्षा लम्बिएर १ घण्टा ३० मिनेट चल्यो। समय बितेको कसैलाई पत्तो नै भएन। ‘केहीबेर त सरले कक्षाकोठामा घुलमिल हुने खालका कुराहरू गर्नुभयो। त्यसपछि संघीयता कार्यान्वयनका प्रयास, साना देश र ठूला देशमा संघीयताका के कस्ता प्रयासहरू भएका छन्, लोकतन्त्रको अवधारणा र प्रदेशसभाको बारेमा अलिअलि कुराहरू गर्नुभयो,’ विद्यार्थी श्याम साहले भने, ‘उहाँको अध्यापन शैली निकै सहज र बुझिने खालको थियो। व्यक्तिगत रूपमा उहाँलाई नचिन्नेले त कुनै विद्यालयको शिक्षक नै हुनुहुन्छ भनेर बुझ्छन्।’
विद्यार्थीलाई पढाउन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको बताए– सभामुख मण्डलले। ‘मलाई सबैभन्दा बढी मनपर्ने काममा लागियो भनेर निकै आत्मसन्तुष्टि भयो,’ सभामुख मण्डलले भने, ‘प्रदेशसभा आफैंमा कानुनको विश्वविद्यालय हो। जहाँ कानुन निर्माण हुन्छन्। अर्कोतर्फ विश्वविद्यालय छ, जहाँ विद्यार्थीले कानुन पढिरहेका छन्। यस्तो अवस्थामा यी दुवैलाई कसरी एकअर्कासँग साक्षात्कार गराउने भन्ने सोचका साथ मैले आफ्ना जानेका कुरा र अनुभवहरूलाई नयाँ पुस्तासँग साझेदारी गर्ने निर्णय गरें। त्यसैकारण कक्षाकोठा पुगें।’ यस्तो कामलाई आगामी दिनमा पनि निरन्तरता दिने मण्डलले बताए।
‘नेतृत्वप्रतिको जनगुनासो र युवाहरूमाझ बढेको वितृष्णालाई कम गर्नका लागि नेतृत्वको महŒव बुझाउन पनि सही शिक्षणको आवश्यकता छ,’ उनले भने, ‘यही कुरा मनन् गरेर कक्षाकोठामा पुगेको हुँ।’
राजर्षि जनक विश्वविद्यालयका प्रमुख सरोज ठाकुरले शिक्षण पेसाप्रति सभामुखको लगाव र अध्यापनका लागि देखाएको रुचिको सराहना गरे। सभामुख आफैं उपस्थित भएर विद्यार्थीलाई कानुनी र व्यावहारिक विषयको जानकारी गराउँदा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल बढ्ने र नेतृत्वप्रति विद्यार्थीमा सकारात्मक भावना विकास गर्ने ठाकुरको भनाइ छ।
२०५४ सालदेखि २०५९ सालसम्म औपचारिक रूपमै शिक्षण पेसा अँगालेका सभामुख मण्डलले त्यसअघि पनि निजी विद्यालयहरूमा पढाउने गर्थे। राजनीतिमा आउनुपूर्व शिक्षण पेसामै रहेको हुनाले मण्डललाई ‘नेताभन्दा पनि मास्टर साहेब’ भनेर राजनीतिमा चिन्ने बढी छन्। माओवादी सशस्त्र युद्धको सुरुवातमै मण्डल माओवादीको गतिविधिमा लागेका थिए। त्यसैकारण शिक्षण पेसा छोडेका थिए। २ ०६५ सालमा जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षको रूपमा कार्यभार सम्हाले। नेकपाको विभाजनसँगै एमाले पार्टी रोजे। २०७९ सालको प्रदेशसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएर सभामुखको जिम्मेवारी सम्हाले। शिक्षण पेसाप्रतिको मोह भने अझै नछुटेको उनको भनाइ छ। त्यसैकारण प्रदेशसभाको जिम्मेवारीसँगसँगै विश्वविद्यालयमा अध्यापन गराउन अग्रसर भएका हुन्।
प्रतिक्रिया दिनुहोस !