ढाकामा भविष्य बुन्छन् ग्रामीण महिला
तेह्रथुम : कोशी राजमार्गमा पर्ने सिधुवा बजारको ठ्याक्कै पारि पर्छ हमरजुङ । तमोरनदी र तेलिया खोलाको काखमा रहेको यो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यही प्राकृतिकको काखसँगै हरियाली बनपाखामा गाइबस्तुहरु सँगै घाँस,दाउरा,मेला,पर्ममा रमाउनु छथर गाउँपालिका–२ हमरजुङकी धनमाया तोलाङगीको दैनिकी थियो । बस्तुभाउ हेर्ने, खाना पकाउने, सरसफाई गर्नेलगायतका घरायसी काममै व्यस्त हुन्थिन् ।
आर्थिक रुपमा विपन्न परिवारमा जन्मिएकी तोलाङगीले चाहेर पनी राम्रो अध्ययन पाइनन् । १६ वर्षीया तोलाङगीले कक्षा–९ मा अध्य्यन गर्दागर्दै विद्यालय छोड्नुको कारण पनि कमजोर आर्थिक अवस्था रहेको सुनाउँछिन् । घरायसी काममै दैनिकी बिताउँदै आएकी धनमायाले यतिबेला ढाका कपडासँगै आफ्नो भविष्य बुन्न थालेकी छन् । तेह्रथुमे ढाका देश विदेशमा निकै प्रख्यात छ ।
हातमा सीप भए जीवन गुजारा गर्न सहज हुने कुरालाई आत्मसात गर्दै साथीहरुसँगै ढाका बुनाइमा तल्लीन हुन थालेकी छिन् । ‘पहिले त्यतिकै मेलपातमै समय बित्थ्यो’ उनले भनिन्,‘ढाका बुन्न थालेपछि मासिक ३० हजार रुपैयाँसम्म कमाइ हुन थालेको छ ।’ भर्खरै किशोर अवस्थामा टेग्दै गरेका उनी जस्तै दर्जनौ किशोरीहरु ढाकाको तानमा भेटिन्छन् । गाउँमा सञ्चालन भएको ढाका तालिममा सहभागी भएसँगै किशोरीहरुले ढाकाबाट उत्पादन् हुने विभिन्न किसिमका कपडाहरु सँगै बुट्टाका ‘डिजाइन’ सिकी रहेकाछन् । सीपसंगै पैसाको जोहोसमेत हुन थालेको छ ।
छथरगाउपालिका–२ कै अनिता लिम्बु कक्षा–१२ मा अध्ययनरत छिन् ।उनको पनि दैनिकी ढाका कपडासंग जोडिएको छ । विद्यालयबाट फर्किए सँगै आफ्नो तानमा उनको आँखा पुग्छ । पढाई भएपनि हातमा सीप नभए जीवन निर्वाहमा समस्या हुन्छ भन्ने उनको ध्येय छ । आधारुभत तालिम सँगै एडभान्स तालिममा सहभागी भएकी लिम्बु घरमै तान राखेर ढाका बुनाइ तथा पढाइलाई साथसाथै लैजाने उद्देश्य रहेको सुनाउँछिन् ।
केही बर्षअघिसम्म पानीपँधेरोे घाँसदाउरा मेलापातमा अल्झदै आएका यसक्षेत्रका किशोरीहरु यतिबेला सीपमुलक काममा व्यस्त बन्न थालेका छन् ।
ढाकाका रुमाल,चौबन्दी,पछ्यौरा,मफलर, कुर्तासलवारलगायतका सामग्री उत्पादन गर्न थालेका छन् । गाउँमा उत्पादन भएको बस्तुलाई बजारसम्म लग्न कोसेली घर स्थापनाले टेवा पुगेको छ । स्थानीय झुमा लिम्बुले भन्छिन्,‘सीप लिनुअघि घरको काम र नानीहरुको हेरचाहमै समय बित्ने गरेको थियो । ढाका बुनेर बेच्न थालेपछि आम्दानी पनि हुन थालेको छ ।’
श्रीमानको कमाइको भरमा मात्र परिवार चलाउनु भन्दा आफैं आम्दानी गर्नु उचित भएको बताउँदै भनिन्,‘घरमा केही सरसमान चाहिंदा अब श्रीमानलाई पैसा दिनुस भन्दै माग्नु परेको छैन ।’ कोसेली घरकी सञ्चालक मनकुमारी लिम्बुले स्थानीय स्तरमा उत्पादन हुने ढाकाका सामग्रीलाई बजारसम्म लगने वातावरण बनायएको बताउँछिन् । उत्पादन गर्नेलाई बजार खोज्नुपर्ने झन्झट नहोस भनेर कोसेली घर खोलिएको बताउँदै भनिन्,‘तालिमलगायत सीपमुलक काममा पनि समन्वय गर्ने गरेका छौं ।’
एक्सनएड नेपालको सहयोगमा देउराली सोसाइटी तेह्रथुम र दलित सचेतना समाजले बर्सेीन ढाका बुनाइ सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएका छन । एक दशकअघिसम्म ढाकाको कपडा किन्न विभिन्न स्थान पुग्नु परेको स्थानीय विष्णु कुमार सिंह बताए । तर यतिबेला प्रायजसो धेरै महिला ढाकासँगै आम्दानी लिन थालेका छन् । यहाँ उत्पादन भएको ढाकाका सामग्रीहरु पूर्वको विभिन्न बजारको साथै राजधानीलगायत विदेशमासमेत निर्यात हुदै आएको छ ।