राष्ट्रिय पहिचानको एयरलाइन्स साइनो

राष्ट्रिय पहिचानको एयरलाइन्स साइनो

अन्नपूर्ण पोस्ट् दैनिकको तीनकुनेस्थित कार्यालयबाट उत्तरपूर्व फर्केर हेर्दा चन्द्र र सूर्यअंकित वाइड बडीका नवआगन्तुक हवाईजहाज देख्दा गौरव लाग्छ। संसारमै नेपाललाई चिनाउने हाम्रो राष्ट्रिय झन्डा फेर्नुपर्ने आवाज संविधान निर्माणका क्रममा तीव्ररूपमा उठेको थियो। माओवादी नेताहरूले झन्डा फेर्नुपर्ने प्रस्ताव संवैधानिक समितिको बैठकमा पटकपटक राखे। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा हिन्दु राष्ट्रको हाम्रो सांसारिक पहिचान त गुमायौं, झन्डाको पहिचान पनि गुमाएको भए सायद फ्रान्सलाई हाम्रो ध्वजावाहक जहाजमा ऐतिहासिक झन्डा राख्न पाउने सुविधा प्राप्त हुने थिएन। नेपाल एयरलाइन्सले आफ्नो गुमेको साख फर्काउन भन्दै दुइटा वाइड बडी जहाज भित्र्याएको छ। मौलिक पहिचान जोगाउने नेपाल एयरलाइन्सको यो प्रयास सराहनीय छ।

६१ वर्षअघि स्थापित नेपाल एयरलाइन्स (तत्कालीन शाही नेपाल वायु सेवा निगम) को इतिहास गौरवपूर्ण र सुखद् थियो, नेपाल शान्ति क्षेत्रको प्रतिष्ठा र पहिचानमा रहँदासम्म। स्वदेशी तथा विदेशी पाहुना यही एयरलाइन्सबाट यात्रा गर्दा आफूलाई भाग्यमानी ठान्दथे। नेपाल एयरलाइन्सजस्तो गुणस्तरीय सेवा हामीले कसरी दिन सकिएला भन्ने चाहना र उत्सुकता थियो, एसियालगायत नेपाल आउने अन्य विमानहरूलाई। नेपाल एयरलाइन्सको त्यो ठाउँ आज कतार, सिंगापुर, मलेसिया र थाइल्यान्डका विमान सेवाले लिएका छन्। ती देशको हवाई सेवाको चमत्कारकै कारण त्यहाँ पर्यटकको ओइरो लाग्ने गरेको छ। मुलुकलाई समृद्ध र समुन्नत बनाउन विमान सेवाको महत्वपूर्ण भूमिका हुन्छ भन्ने ती मुलुकलाई कुनैबेला नेपालले सिकाएको थियो। यतिबेला यो प्रसंग कोट्ट्याउँदा व्यंग्यजस्तो लाग्न सक्छ, तर यथार्थ त्यही थियो।

यतिबेला दैनिक २६ मुलुकका विमानले नेपालमा उडान भर्छन्। त्रिभुवन विमानस्थलबाट उब्जिएको अन्तर्राष्ट्रिय हवाई सेवाको करिब ९५ प्रतिशत व्यापार अहिले पनि विदेशीको नियन्त्रणमा छ भने जम्मा पाँच प्रतिशत व्यापार मात्र मुस्किलले नेपालको कब्जामा छ भन्नुपर्दा लज्जाबोध हुन्छ। नेपाली भूमि प्रयोगबाट अन्य देश मात्र लाभान्वित भइरहनु सुखद् होइन। त्यो हामै्र कमजोरीको उपज हो। अहिलेको हाम्रो शासन व्यवस्थाले पनि त्यस्तै संकेत गरिरहेको छ। विमानस्थलबाट हुने सबैजसो व्यापारको फाइदा विदेशीले मात्र उठाए पनि शासन व्यवस्थाको फाइदा नउठाऊन् भन्नेमा हामी नेपाली नागरिक सजग र सचेत हुन आवश्यक छ।

बहुदलीय व्यवस्था स्थापनापछिको जहाज–राजनीतिले नेपाल एयरलाइन्सलाई तहसनहस बनायो भने विकृत राजनीतिले देशलाई नै। ०५१ को मध्यावधि निर्वाचनपछि बनेका हरेकजसो मिलिजुली सरकारका कर्के आँखा त्यही हवाई अड्डामा पर्न थाल्यो। लाउडा र चेज एयर काण्ड क्रमशः कांग्रेस र एमालेनेतृत्वको कार्यकालमा भए। ती सबै कमिसनकै खेलका लागि भए÷गराइए। एकपछि अर्को जहाज खरिद काण्डले त्यो अड्डा धराशायी भयो। जापान र युरोप यात्रा गरिरहेका जहाज पनि कौडीको मूल्यमा बेचिए। विकृत राजनीतिका कारण उब्जिएको कमिसनप्रकरणपछि जहाज खरिदबिक्रीमा एकपछि अर्को गरी भएका खेलले नेपाल एयलाइन्सलाई गन्तव्य मुलुकले हेर्ने दृष्टिकोण नकारात्मक बन्यो।

टिकट बिक्रीमा एयरलाइन्सका कर्मचारीबाटै हुने गरेका अस्वस्थकर खेल र आन्तरिक उडानका लागि चीनबाट ल्याइएका जहाजको गतिका कारण एयरलाइन्स थला पर्‍यो। युरोप, जापान र मध्यपूर्वसम्म आफ्नो उडान भर्ने जहाज खुम्चिएर ६ मुलुकमा सीमित हुन पुगे। यतिबेला तीनवटा जेट विमानले छिमेकी भारतसहित आठवटा गन्तव्य मुलुकसँग हवाई सम्पर्क कायम राखिरहेका छन्। क्रमशः गुम्दै गएको एयरलाइन्सको त्यो छवि माथि उठाउने प्रयास अहिलेको व्यवस्थापनबाट भइरहेको देखिन्छ। त्यसो त वाइड बडी भिœयाउँदा अनियमितता भएका समाचार आएका छन्। यतिबेला सरकार, नेपाल एयरलाइन्स र निर्माता कम्पनीले पनि अनियमितता भएको छैन भन्ने प्रमाण पेस गर्न सके सुनमा सुगन्ध हुन सक्छ।

राष्ट्रिय ध्वजावाहक विमान नेपालको गौरव हो, यसको गौरव मेटिँदा राष्ट्रको प्रतिष्ठामा आँंच आउँछ भन्ने दायित्वबोध राज्यमा पनि हुनुपर्छ।

नेपाल एयरलाइन्सले भर्खर भित्र्याएका दुइटामध्ये एउटा वाइड बडी जहाजले कतारबाट आफ्नो पहिलो व्यावसायिक उडान सुरु गरेको छ। दुई सय ७४ सिट क्षमताका ती जहाजले विनाअवरोध नियमित उडान गर्न सके भने वार्षिक सात अर्ब कमाउने लक्ष्य व्यवस्थापनको दाबी छ। वाइड बडीले जापान, दक्षिण कोरिया साउदी अरेबियासहित थप केही मुलुकसँग पनि हवाई सम्पर्क जोड्दै छ। उत्तरको विशाल छिमेकी चीनसँग पनि हवाई सम्पर्क जोड्ने विषयमा अध्ययन भइरहेको छ। यो नेपालको पर्यटन उद्योगका लागि गौरवको विषय हो। तर फेरि राजनीतिक ऐंजेरू प्रवेश गर्‍यो भने कहिल्यै माथि नउठ्ने गरी एयरलाइन्स थला पर्नेछ।

जहाज र उडानका गन्तव्य थपेर मात्र एयरलाइन्सको भविष्य उज्ज्वल बन्दैन। व्यवस्थापन र कर्मचारीमा पनि संस्थासँग मेरो सम्बन्ध जोडिएको छ, यसको उन्नति भए मेरो पनि उन्नति भई देशकै नाम रहनेछ भन्ने भावना विकास हुन जरुरी छ। व्यवस्थापन र कर्मचारी प्रशासनमा नैतिक मूल्य र दायित्वबोध अभावकै कारण विगतमा थला परेको अवस्था पनि स्मरण गर्नु आवश्यक छ किनकि गिरेको साख फर्काउन निकै समय लाग्न सक्छ।

एयरलाइन्सकै कर्मचारीको एकता उसको ठूलो सम्पत्ति हो। विगतमा एयरलाइन्स डुब्नुमा व्यवस्थापन मात्रै नभई कर्मचारीको पनि उत्तिकै भूमिका थियो। टिकट किन्न आएका यात्रुलाई खाली हात फर्काउने तर जहाज खाली उड्नुपर्ने अवस्था आउनुमा कर्मचारी नै जिम्मेवार छन्। त्यो अन्तर्राष्ट्रिय उडानमा मात्र होइन, आन्तरिक उडानमा पनि स्पष्टै देखिन्थ्यो। यात्रुले घरमै बसेर ई–सेवाबाट टिकट पाउने व्यवस्था भएपछि अब त्यस्तो अवस्था अवश्य दोहोरिने छैन।

समयमा उडान नभर्ने, फ्लाइट क्यान्सिलेसन भइरहने, नयाँ विमान हुँदा मर्मतका लागि पटकपटक ग्राउन्डेड हुने आलोचना खेप्दै आइरहेको एयरलाइन्सले अब मर्मतसम्भारको जिम्मा पनि निर्माता कम्पनीलाई नै दिने भएपछि यस्तो समस्याबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ। व्यवस्थापनले केही समयभित्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि १० वटा विमान थप्ने महत्वाकांक्षी योजना पनि अघि सारेको छ। अझ पाँच वर्षमा १७ वटा जहाज पुर्‍याउने लक्ष्यमा पुग्न व्यवस्थापन र कर्मचारीबीच नङ र मासुको सम्बन्ध हुन जरुरी छ, नत्र पुरानो छवि सुधार्न कठिन हुनेछ।

विमान चालक र इन्जिनियरहरूका समस्या समाधान अर्को महत्वपूर्ण पूर्वाधारभित्र पर्दछ। हो, यहाँ विदेशी पाइलट ल्याउनु हुँदैन भन्ने आवाज नउठेको होइन, तर नेपाली पाइलट पर्खेर बस्दा त्यतिबेलासम्म निकै ढिलाइ भइसकेको हुनेछ। सानातिना कुरामा खोचे थापेर एयरलाइन्सलाई माथि उठ्न नदिने तत्वविरुद्ध सरकारले पनि काँधमा–काँध मिलाउनुपर्छ। राष्ट्रिय ध्वजावाहक विमानको सुरक्षा र संरक्षण राज्यको पनि दायित्व हो। राज्यले नेपाल एयरलाइन्सलाई अन्य संस्थानजसरी हेर्नु हुँदैन। पर्यटनको मेरुदण्ड मानिने नेपाल एयरलाइन्सको अस्तित्वसँग राज्यको इज्जत जोडिएको हुन्छ। त्यसको उत्थानका लागि राज्यले आर्थिक सहयोग गर्न पनि तयार हुनुपर्छ। जबसम्म अन्तर्राष्ट्रिय जहाजसँग प्रतिस्पर्धा गर्न सकिन्न तबसम्म एयरलाइन्सले प्रगति गर्न सक्दैन। एसियाकै महँगो गन्तव्य भनेर मानिने काठमाडौंको ट्यागलाई अब कूटनीतिक पहलबाट मेट्ने प्रयास गर्नुपर्छ। नेपाल महँगो होइन, एकपटक आउनैपर्ने गन्तव्य हो भनेर संसारलाई परिचित गराउन पनि अधिकतम मुलुकसँग हवाई सम्पर्क जोड्न सक्नुपर्छ। राष्ट्रिय ध्वजावाहक विमान नेपालको गौरव हो, यसको गौरव मेटिँदा राष्ट्रको प्रतिष्ठामा आँंच आउँछ भन्ने दायित्वबोध राज्यमा पनि हुनुपर्छ।

देशमा दुईतिहाइ बहुमतको सरकार छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ सरकारी लक्ष्य छ। यो लक्ष्य कटाक्षपूर्ण अभिव्यक्तिबाट पूरा हुँदैन। नागरिकले भाषण होइन, काम खोजेको छ। अधिनायकवादी शैली होइन, लोकतान्त्रिक शैली र आचरणको अपेक्षा गरेको छ। यो लक्ष्यलाई पर्यटन क्षेत्रले मात्र मूर्तरूप दिन सक्छ। हामीले नेपाली ध्वजावाहक विमानको प्रयोगबाटै पर्यटक आगमन बढाउनुपर्छ। नेपाल एयरलाइन्सले भिœयाएका वाइड बडी जहाजको प्रयोगबाटै अन्तर्राष्ट्रिय बजार विस्तार गरी पर्यटनकै माध्यमबाट आर्थिक समृद्धिको ढोका खोल्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.