खेलमैदान बन्ने भयो बीपी वनवाटिकामा
दमौली : दमौलीको बीपी वनवाटिका खेलमैदान निर्माण तथा सञ्चालनका लागि व्यास नगरपालिकाले तनहुँ जिल्ला फुटबल संघ एन्फाको जिम्मा लगाएको छ। बुधबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पाँच वर्षसम्मका लागि मैदान एन्फाको जिम्मामा दिने समझदारीपत्रमा हस्तक्षर भएको छ। व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
यसअघि जिल्ला समन्वय समितिले खेलमैदानसहितको ५३ रोपनी जग्गाको भोगाधिकार पाँच वर्षसम्मका लागि व्यास नगरपालिकालाई दिएको थियो। अब व्यास नगरपालिकाले पाँच वर्षका लागि जिम्मा दिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। समझदारीअनुसार एन्फाले मैदानमा तारबारका साथै खेलमैदानका लागि आवश्यक संरचना बनाउन पाउनेछ। एन्फाको गोल प्रोजेक्टअन्र्तगत खेलमैदान विकास र सुधारका काम हुने एन्फा जिल्ला अध्यक्ष श्रेष्ठले बताए। एन्फाले एक जिल्लामा एक प्रोजेक्ट सञ्चालन गर्ने नीतिअनुसार तनहुँलाई पनि छनोट गरेको उनले जानकारी दिए। प्रोजेक्टअन्र्तगत मैदान सुधारका लागि पाँच लाख रुपैयाँ एन्फा तनहुँलाई विनियोजन गरेको छ। थप बजेट पनि क्रमिक रूपमा आउने र खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने श्रेष्ठले बताए।
एन्फालाई व्यास नगरपालिकाले सम्झौतामा पाँच वर्षभित्र गर्ने विकास कार्यमा पनि सघाउने उल्लेख गरिएको छ। नगरपालिकाले तारबारका लागि कुल लागतको एक प्रतिशत सहयोग गर्ने तथा मैदानका अन्य पूर्वाधार विकासमा सघाउने सम्झौतामा उल्लेख छ।
यसअघि मैदान विकासका लागि व्यास नगरपालिकाको ३ नम्बर वडा कार्यालयले समेत बजेट विनियोजन गरेर काम गरेको थियो। यसअघि मैदान सम्याउने काम भएकामा थप विकास गर्ने योजना वडा कार्यालयको थियो। अब भने सबै काम एन्फामार्फत नै अघि बढ्ने एन्फा अध्यक्ष श्रेष्ठले बताए। दमौलीको पहिलेको खेलमैदान फुटबलका लागि उपयुक्तसमेत नभएको र तत्कालीन जिल्ला विकास समितिले अनुमतिसमेत नदिएपछि व्यास नगरपालिकाले बीपी वनवाटिका मैदानलाई नै विकल्पका रूपमा अघि सार्न लागेको थियो।
हालैको जिल्ला सभाले दमौली अस्पताल अघिको मैदानलाई पार्कका रूपमा विकास गर्न नगरपालिकालाई अनुमति दिएपछि बीपी वनवाटिका मैदान नै खेल मैदानका रूपमा रहने चर्चा चलेको थियो। अब मैदानको विकास गरेर फुटबलसँगै अरू खेलका लागिसमेत उपयोगी हुने गरी विकास हुनुपर्ने माग खेलप्रेमीले गरेका छन्।
प्रतिक्रिया दिनुहोस !