थप गरिएको समयमा गोल व्यहोर्दा पहिलो हाफमा बराबरीमा रोकियो नेपाल
काठमाडौं : साफ महिला च्याम्पियनसिप–२०२६ को सेमिफाइनलको पहिलो हाफ नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको छ । पहिलो हाफको ४० औं मिनेटसम्म दबदबा बनाएको नेपालले खेलको पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा गोल व्यहोर्यो ।
नेपालका लागि २३ औं मिनेटमा गीता राना मगरले गोल गर्दै अग्रता बनाएको नेपालले अग्रता जोगाउन सकेन । पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा बंगलादेशकी फर्वाड रितु पोर्ना चक्माले कर्नरबाट दोस्रो बारमा च्याप्दै उत्कृष्ट गोलमार्फत बंगलादेशलाई खेलमा फर्काइन् । खेलको दोस्रो मिनेटबाट नै नेपालले बंगलादेशलाई दबाब दिन थालेको थियो । रेखा पौडेलले वान बाइ वानको स्थितिमा कम्पोज फिनिस गर्न सकिनन् । तेस्रो मिनेटमा रश्मीकुमारी घिसिङको प्रहार किपरको हातमा पर्यो ।
खेलको १८ औं मिनेटमा प्रिती राईले हानेको हाइ बल किपरको हातमा पर्यो । खेलको २२ औं मिनेटको अन्तिम सेकेन्डमा नेपालले कर्नर पायो । दिपा शाहीको कर्नरमा अनमार्क रहेकी गीता राना मगरले उत्कृष्ट फिनिस गरिन् । २३ औं मिनेटमा गीताले गरेको गोलमार्फत अग्रता बनाएको नेपालले पहिलो हाफको ४० औं मिनेटसम्म नेपालले एकतर्फी अग्रता बनाएको थियो । तोहिरा खातुन र साम सुनाहारलाई परिवर्तन गरेपछि नेपालको मोमेन्टम बंगलादेशको पक्षमा आयो ।
खेलको ४४ औं मिनेटमा रितु पोर्ना चक्मालाई सरु लिम्बुले फाउल गर्दा बंगलादेशले डि बक्स अगाडि फ्रि किक पाएको थियो । उक्त फ्रि किक डिफेन्ड गर्दै बाहिर पठाउँदा बंगालदेशले पहिलो हाफको अन्तिम समयमा कर्नर जितेको थियो । पहिलो हाफको थप गरिएको पहिलो मिनेटमा रितु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै साविक विजेताको फाइनल यात्रा कायमै राखेकी हुन् ।
प्रतिक्रिया दिनुहोस !