राष्ट्रपति रनिङ सिल्ड आजदेखि
काठमाडौं : १६औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रतियोगिताको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उद्घाटन गर्ने छन् ।
शुक्रबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशबाट ९८ का दरले ६ सय ८६ खेलाडी सहभागी हुने छन् । विभिन्न ६ खेल समावेश प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत एथलेटिक्समा २६, भलिबल र कबड्डीमा दुई/दुई तथा कराते, तेक्वान्दो र उसुमा १२/१२ स्वर्णका प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । यस्तै भलिबल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्र, कराते कीर्तिपुरस्थित कभर्डहल, तेक्वान्दो सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सञ्चालन गरिने जनाइएको छ ।
प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद्, बागमती, नेपालय इन्टरनेसनल प्रालि र केआईईसीको सहयोग रहेको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !