विशेषज्ञ सेवाका लागि भारतकै भर

विशेषज्ञ सेवाका लागि भारतकै भर

बैतडी : दशरथचन्द नगरपालिका–५ का विनोदबहादुर चन्दका छोरा नेत्रबहादुर चन्दको एक वर्षअघि लडेर हात भाँचियो। उपचारका लागि उनले छोरालाई जिल्ला अस्पताल बैतडी पुर्‍याए। तर विशेषज्ञ डाक्टरको अभावमा थप उपचारका लागि उनले छोरालाई भारतको पिथौरागढ पुर्‍याए।

छोराको हातको अप्रेशन गरे। उनले भने, ‘जिल्ला अस्पतालमा समान्य एक्सरे बाहेकका अरु सेवा पाउन मुस्किल छ। विशेषज्ञ डाक्टरको अभावमा अस्पतालले रेफर गरेपछि मैले छोरालाई उपचारका लागि पिथौरागढ लगेको हुँ।’

शिवनाथ गाउँपालिकाका जयराज ओझाका १३ वर्षीय छोरा २०७३ को वैशाखमा सडकबाट लडेर घाइते भए। खुट्टा भाँचिएका ओझाको जिल्ला अस्पतालमा सामान्य उपचार मात्रै भयो। छोराको खुट्टाको अप्रेशनका लागि उनले पनि भारतको पिथौरागढ नै लग्नुपर्‍यो।

जयराज जस्तै २०७१ सालको वैशाखमा मेलौलीका शुक्रसिंह भाटकी ८ वर्षीया छोरी दीपा भाटको लडेर हात भाँचियो तर जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा उनले त्यहाँ छोरीको सामान्य उपचार बाहेक केही गर्न पाएनन्। अन्ततः उनले पनि भारतीय अस्पतालमै दौडाउनु पर्‍यो। 

जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा उपचारका लागि भारत पुगेका उदाहरण धेरै छन्। यहाँका नागरिक दैनिकजसो उपचारका लागि भारतको पिथौरागढ जाने गरेका छन्। डडेल्धुरा र धनगढीभन्दा नजिक र भरपर्दो स्वास्थ्योपचार हुने भएकाले उनीहरु भारतको पिथौरागढ जाने गरेका हुन्। जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टरको दरबन्दी नहुँदा जटील खालका बिरामी सीमावर्ती पिथौरागढमा गएर उपचार गर्न बाध्य भएका छन्। 

‘जिल्ला अस्पातलमा नवौं तहको एकजना र आठौं तहका दुईजना गरी तीनजनाको डाक्टरको दरबन्दी छ तर अहिले दरबन्दीमा म एक्लै छु’, जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर जगदीश विष्टले अन्नपूर्णसँग भने, ‘हाम्रो रेफरल सेन्टर उपक्षेत्रीय अस्पताल र सेती अञ्चल अस्पताल हो। जुन यताबाट निकै टाढा छन्। त्यसैले पनि हामीले नै भारतको पिथौरागढ गएर उपचार गराउनुहोस् भन्नुपर्ने बाध्यता छ।’

सडक दुर्घटना लगायतका एक दुई घण्टाभित्रै विशेषज्ञ डाक्टरको सल्लाहमा उपचार गराउनुपर्ने बिरामीलाई भारतीय अस्पतालहरुमा रेफर गर्नुको विकल्प छैन। ‘विशेषज्ञको कुरो त परै छ किनभने विशेषज्ञको दरबन्दी अस्पातलमै छैन तर दरबन्दी भएका डाक्टरसमेत पूर्ति भएका छैनन्’, डा. विष्टले भने, ‘छात्रवृत्ति करारका डाक्टर पनि सुगममै पठाउने प्रवृत्ति छ। स्वास्थ्य सेवा विभागले दुर्गमका अस्पतालमा डाक्टर नै पठाउन सकेको छैन।’


जटीलतायुक्त प्रसुती सेवा पनि बन्द
गएको ६ वर्षयता जिल्ला अस्पताल बैतडीमा सञ्चालनमा रहेको जटीलतायुक्त प्रसुती सेवा बन्द भएको छ। सो सेवा बन्द हुँदा अप्रेशन गरेर बच्चा जन्माउनुपर्ने आमालाई अन्यत्र रेफर गर्नु परिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश विष्टले बताए।

विष्टले भने, ‘जिल्ला अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्टको दुई महिनाअघि दुःखद् निधन भयो। केही महिना उहाँ बिरामी भएर सेवा रोकियो। एनेस्थेसिया ऐसीस्टेन्टको पदपूर्तीका लागि विभागमा जानकारी गराउँदा समेत कुनै पहल भएको छैन।’

प्रसुती सेवा बन्द हुँदा मासिक आठ सय १० जनालाई अप्रेशनका लागि रेफर गर्नु परेको विष्टको भनाई छ। उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निकै समस्या भएको छ। अस्पतालमा सेवा पाउने भनेर टाढाबाट आउँछन् तर अस्पतालमा जनशक्तिको अभावमा सेवा दिन सकिएको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.