मुसहरलाई उपचार पाउन मुस्किल

मुसहरलाई उपचार पाउन मुस्किल

गौर : पक्षाघातका कारण १० वर्षदेखि थला परेका कटहरिया–९ डुमरियाटोलका ८४ वर्षीय हंसराज माझी मुसहरले सामान्य उपचारसमेत गराउन सकेनन्। तीन वर्षदेखि हातखुट्टा नचलेर ओछ्यान परेका चन्द्रपुर–९ डुमरियाका ३६ वर्षीय सुरेश माझी मुसहरको पीडा पनि उस्तै छ। चन्द्रपुर–८ सन्तपुरका ४५ वर्षीय रितलाल माझी मुसहर पनि पक्षाघात भएपछि हिँडडुल गर्न नसेकेको चार वर्ष भइसकेको छ।

यी उदाहरण मात्र हुन्, रौतहटका विभिन्न स्थानमा बसोवास गर्दै आएका मुसहर बस्तीमा यस्ता गम्भीर प्रकृतिका रोग लागेका अरू पनि छन्। सामान्य उपचारसमेत नपाएका हंसराज मुसहरका सन्तान छैनन्, वृद्धा       श्रीमतीको सहारामा उनको बिरामी जिन्दगी वर्षाैंदेखि चल्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेको उनको गुनासो छ।

झुपडीमा फोहोरसँग लटपटिएको अवस्थामा भेटिएका हंसराजले भने, ‘उपचार गर्न पैसा छैन, मृत्यु कुरिरहेको छु।’ बस्तीका अन्य मुसहरको अवस्था पनि पीडादायी छ। उनको टोलमा करिब ६० घरमा मुसहर बस्दै आएका छन्। तर कसैको पनि सहयोग गर्न सक्ने अवस्था छैन।

कमाएर ल्याउने कोही छैनन्। ७० वर्षीया    श्रीमती सीतादेवी मुसहरले छरछिमेक गुहारेर खानेकुराको जोहो गर्दै आएकी छन्। उनीहरूको बिरामी वृद्ध शरीर त्यसैले बचाएको छ। सन्तान नभएका गरिब तथा वृद्ध मुसहर दम्पतीलाइ केही मनकारीले बेलाबेलामा खाद्यान्न सहयोग भने गर्दै आएका छन्। हंसराजका छिमेकी कालिचरण माझी मुसहर भन्छन्, ‘हंसराजको बोली प्रस्ट भए पनि हातखुट्टा चल्दैनन्। दिसापिसाबसमेत अर्कैले गराउनुपर्ने बाध्यता छ।’

चन्द्रपुर–९ स्थित डुमरियाका ३६ वर्षीय सुरेश माझी मुसहरले पनि उपचार पाएका छैनन्। उपचार गराएर ठमठमी हिँड्न सक्ने हुन उनलाई मन छ। तर पैसा छैन।

कमाएर ल्याउने सक्ने मान्छे घरमा छैनन्। तीन छोराछोरी र  श्रीमती गरी उनको पाँच जनाको परिवार छ। सुरेशकी ३० वर्षीया  श्रीमती सन्ध्या मुसहर इँटाभट्टामा काम गर्थिन्, अहिले त्यो काम पनि बन्द छ। उनी पनि ६ महिनादेखि बिरामी छिन्।

सामान्य रोगलाई बेवास्ता गरेकाले मुसहर बस्तीका अधिकांश बासिन्दा दीर्घरोगको सिकार भएका छन्।

‘कमाएको बेला खान्छौं, नत्र भोकै बस्छौं,       श्रीमान्को उपचार गर्न पैसा छैन’, उनले भनिन्। एैलानी जमिनमा बनाएको झुपडी छ। लगाउने लतापडा राम्रो छैन। ओढ्नेओछ्याउने छैन। पढ्ने उमेरका तीन जना छोराछोरी विद्यालय जान पाएका छैनन्।

सुरेशको कम्मरमुनिको भाग र दुवै हात चल्दैनन्। उनलाई खानेकुरा खुवाउनेदेखि दिसापिसाब गराउन अर्कै मान्छेको सहारा चाहिन्छ। तीन वर्षअघि ससुराली गएर फर्कंदै गर्दा बाटोमा अचानक लडेका सुरेश त्यसपछि उठ्न सकेका छैनन्।

बिरामी भएपछि शिवनगरमा रहेको क्लिनिकमा उपचार गर्दा करिब १८ हजार खर्च भयो। त्यसपछि राम्रो अस्पतालमा गएर उपचार गराउन सकेका छैनन्।

‘उपचार पाए बाँच्ने थिएँ होला’, उनले भने।

अपांगता भएकाले पाउने सेवासुविधासमेत उनले स्थानीय तहबाट पाउन सकेका छैनन्। आवश्यक कागजपत्र वडा कार्यालयमा बुझाए पनि सुविधा नपाएको उनको गुनासो छ। चन्द्रपुर–८ सन्तपुरका ४५ वर्षीय रितलाल माझीको पीडा पनि उस्तै छ। इँटाभट्टामा काम गरिरहेका बेला चार वर्षअघि लडेका उनी उठ्न सकेका छैनन्।

सामान्य बिरामी हुँदा बेवास्ता गर्ने र खानपानमा ध्यान नदिँदा मुसहर जातिमा पक्षाघातलगायत गम्भीर रोगले आक्रमण गर्ने गरेको नेपाल राष्ट्रिय मुसहर उत्थान संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरको भनाइ छ। ‘मुसहर जातिमा टीबी, दम, पक्षाघात जस्ता रोग बढी देखिएका छन्’, उनले भनिन्। उचित खानपान अभाव, सरसफाइको कमी तथा सामान्य रोगको समेत उपचार गर्न नसक्दा मुसहर बस्तीका बासिन्दा पीडित छन्।’

राज्यले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरे पनि मुसहरले त्यस्तो सेवा नपाएको रौतहटका मुसहरका अगुवा अनुप माझी मुसहरको भनाइ छ। जिल्लामा ६० वटा मुसहर बस्तीमा करिब दुई हजार झुपडी छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.