२ लाखमै बन्यो घर

२ लाखमै बन्यो घर

मकवानपुर(राक्सिराङ) : सरकारले भूकम्पीडितलाई दिएको पैसाले घर बनाउन नसकिरहेको गुनासो आइरहेका बेला जगतदेउ चेपाङ (कछाडे बा) ले दुई लाखमै घर बनाएका छन्। उनले बजारबाट जस्ता, किला काँटा ल्याउन निकै महँगो ज्याला तिर्नुपरे पनि आफैं मिस्त्री भएकाले धेरै ज्यालामा खर्च गर्नु नपरेको बताए। उनको परिवारले हालसम्म पहिलो किस्ताबापत ५० हजार र दोस्रो किस्ताबापत एक लाख ५० हजार रुपैयाँ बुझेका छन्।

स्याउलाले बारेको घर, बर्सातमा तप तप खरको छानोबाट चुहिएको पानी। कछाडबाहेक ज्यानमा अरू कपडा लगाउने बानी नभएका जगतदेउ चेपाङ (कछाडे बा) ले बर्सातका अनगिन्ती कष्टकर रात भुलेका छैनन्।

तर, ०७२ साल वैशाखको भूकम्पले मकवानपुरको राक्सिराङ गाउँपालिका-७ गाईबाङस्थित झुप्रो घरको पनि पर्खाल भत्काइदिएपछि उनले थप कष्टकर रात बिताउनुपर्‍यो। भत्किएको घरमा स्याउला बारेर तीन बर्खा र जाडो कटाएका ६९ वर्षीय चेपाङलाई गत वर्षामा भने बाँचिँदैन कि भन्ने लागेको थियो।

दुःखपछि सुखको दिन आउँछ भनेझैं चेपाङको हकमा सावित भयो। चिसोका कारण निमोनियाले बिरामी परेका उनले यो बर्सातमा भने स्वास्थ्यचौकी धाउनु परेन। बर्सातको दर्कने पानीमा जस्ताले छाएको नयाँ घरभित्र ओत लाग्न पाएपछि चेपाङ दंग छन्।

बर्सातमा घरको छानोबाट पानी चुहिँदा नुन-तेल किन्न सहर पुग्दा जस्ताले धपक्क बलेका घरहरू सम्झन्थे उनी। चुली भीरमा घर छाउन खर काट्न जाने बेला पनि उनलाई लाग्थ्यो, ‘मेरो पनि घरमा जस्ता छाउन पाए।’ तर, भूकम्पले केही दुःख दिए पनि उनको पुस्ताले पहिलो पटक जस्ताले छाएको पक्की घरमा बस्ने अवसर पायो। दुईतले भूकम्पप्रतिरोधी जस्ताले छाएको घरमा उनीसँगै नौ जनाको परिवार बस्दै आएका छन्।

‘भूकम्पले दुःखसँगै यस्तो राम्रो घर पनि दियो’, चेपाङले खुसी हुँदै भने, ‘चिसोले गत वर्ष नै मरिन्छ कि जस्तो लाग्याथ्यो, पक्की घरमा सरेपछि अब मलाई ५÷१० वर्ष केही हुन्न।’

सात रोपनी खोरिया बारीको उब्जनीले उनको परिवारलाई ६ महिना खान पुग्छ। छोराहरू ज्यालादारी गर्छन्, उमेरले सात दशक पार गर्दै गरेका चेपाङ आफैं पनि हात खाली राख्दैनन्। नयाँ घरअघि चोया काड्दै गरेका उनी नाङ्लो, डोको बुनेर बिक्री गर्छन्। ‘चार÷पाँच वर्ष भयो छोरालाई बेच्न पठाउँछु, नत्र म आफंै लोथर र मनहरि बजार पुग्थेँ’, उनले भने, ‘नुनतेल खाने पैसाका लागि मैले छोराहरूलाई आजसम्म दुःख दिएको छैन।’

२८ प्रतिशत भूकम्पपीडितलाई नयाँ घर

हालसम्म मकवानपुरका २८ प्रतिशत भूकम्पपीडिले नयाँ घर निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख सोमराज तिमल्सिनाले बताए। ४९ प्रतिशत लाभग्राहीको भवन निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए।

मकवानपुरका कुल लाभग्राहीमध्ये सात हजार आठ सय ३५ भूकम्पीडितले निजी घर निर्माण गरिसकेको इकाइको तथ्यांक छ। १६ हजार ५६ लाभग्राहीले दोस्रो किस्ता लगेर घर निर्माण गरिरहेको इकाइले जनाएको छ।

इकाइको तथ्यांकअनुसार गुनासो फस्र्याेट भएर थपिएकासहित मकवानपुरमा ३३ हजार दुई सय ६६ लाभग्राही छन् । तीमध्ये २५ हजार दुई सय ४३ सँग अनुदान सम्झौता भइसकेको इकाइ प्रमुख तिमल्सिनाले बताए। अनुदान सम्झौता भएकामध्ये पहिलो किस्ता २४ हजार दुई सय चार लाभग्राहीले बुझेको उनले बताए।

कार्यालयको तथ्यांकअनुसार तेस्रो किस्ता सात हजार नौ सय ४८ लाभग्राहीले बुझेका छन् भने अझै पनि मकवानपुरमा आठ हजार २३ लाभग्राहीसँग अनुदान सम्झौता हुन सकेको छैन । ‘लालपुर्जाविहीन, सुकुम्बासीलगायत कारण उनीहरूसँग घर निर्माणको सम्झौता हुन सकेको छैन’, इकाइ प्रमुख तिमल्सिनाले भने। कार्यालयको तथ्यांकअनुसार मकवानपुरमा ३३ हजार दुई सय ६६ लाभग्राही छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.