फोहोरको समस्या विकराल बन्दै
काठमाडौं : उपत्यकामा फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ । सडकछेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य बन्दै गएको छ । यसले उपत्यकालाई दुर्गन्धित एवं फोहोर बनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्न थालेको हो ।
नुवाकोटको साबिक ककनी गाविसअन्तर्गत ओखरपौवाको सिसडोलस्थित ल्यान्डफिल साइट भरिएको छ । १३ वर्षअघि निर्माण सुरु भएको बन्चरे डाँडाको ल्यान्डफिल साइट अलपत्र छ । सिसडोल भरिइसकेको र बन्चरेडाँडा नबनिसकेकाले तत्काल फोहोर व्यवस्थापनका लागि विकल्प खोजिनुपर्ने काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन शाखाका विभागीय प्रमुख हरिबहादुर कुँवरको भनाइ छ ।
सुक्खा मौसममा जेनतेन फोहोर व्यवस्थापन भए पनि पानी परेको समयमा भने समस्या हुने काठमाडौं महानगरपालिकाको भनाइ छ । देशमा संघीयता आएसँगै फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय तहको भन्दै संघीय सरकार पन्छिएर बन्चरे डाँडामा काम रोकेका कारण समस्या विकराल बनेको काठमाडौं महानगरपालिकाको निष्कर्ष छ ।
‘सुक्खा मौसममा जेनतेन बाटो बनाउँदै सिसडोलमा लगेर फालिरहेका छौं, पानी परेको बेला भने बाटो बिग्रिएर समस्या हुन्छ’, उनले भने । फोहोरमैला प्रविधि सहयोग केन्द्रले २०६२ सालमै बन्चरेडाँडामा दीर्घकालीन ल्यान्डफिल साइट बनाउन सुरु गरेको हो । तर १३ वर्षसम्म त्यसको निर्माण सकिएको छैन । स्थानीय र संघीयताको कुराले दुई वर्ष सरकारले निर्माण नै रोकेको थियो ।
दुई वर्षसम्म सिसडोलमा अस्थायी रूपमा राख्ने र सिसडोलभन्दा १ दशमलव ९ किलोमिटर टाढा बन्चरेडाँडामा स्थायी पूर्वाधार तयार पारेर सार्ने योजनाका साथ काम अघि बढेको कुँवरको भनाइ छ । काठमाडौंबाट सिसडोल २६ किलोमिटर टाढा छ ।
फोहोर व्यवस्थापनमा सरकार पन्छिएको भन्दै काठमाडौं र ललितपुर महानगरले रोष प्रकट गरेका छन् । केन्द्रीय र प्रदेश सरकारले पनि फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए । ‘काठमाडौं १०, ललितपुरमा ४ र भक्तपुरमा ४ गरी उपत्यकामा १८ स्थानीय तह छन्, सबैमा फोहोर व्यवस्थापनको समस्या छ, यसमा सरकारले समन्वय गरिदिनुप¥यो, फोहोर अनुपातमा काठमाडौं महानगर लगानी गर्न तयार छ’, उनले भने ।
सरकारलाई सबै नगरपालिकासँग समन्वय गरिदिन पूर्वाधार डिजाइन तयार पारिदिन स्थानीय तहको आग्रह
फोहोर व्यवस्थापन गर्नबाट सरकार पन्छिएको भन्दै काठमाडौं र ललितपुर महानगरको रोष
उता ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पनि फोहोर राख्ने ठाउँ नभएका कारण समस्या भएको बताए । फोहोर व्यवस्थापन स्थानीय तहको भन्दै सरकार पन्छिइरहेको उनको भनाइ छ । फोहोर व्यवस्थापन गर्न आफ्नो भागमा पर्ने लगानी गर्न ललितपुर महानगर तयार रहेको उनले बताए । तर त्यसका लागि सरकारले समन्वय गरिदिनुपर्ने उनको भनाइ छ ।
ललितपुरको बालकुमारीस्थित डम्पिङ स्टेसनमा समेत अत्यधिक फोहोर भएर त्यसले स्थानीयलाई प्रभावित गर्न थालेको छ । ‘फोहोर राख्ने ठाउँ नै छैन, साह्रै समस्या भएको छ’, उनले भने, ‘बालकुमारीको डम्पिङ स्टेसनमा समेत अत्यधिक फोहोर थुप्रिएको छ ।’ तत्काल फोहोर व्यवस्थापनको विकल्प नखोजिए बिमस्टेक बैठकमा फोहोरले नकारात्मक सन्देश जाने उनको भनाइ छ । यता लगानी बोर्डले फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई दिने भनेर पीडीए गर्ने तयारी गरेको छ । काठमाडौं महानगरपालिकालाई सहमत बनाएर फोहोर व्यवस्थापनको जिम्मा नेपवेस्ट प्रालिलाई दिने तयारी गरेको हो ।
काठमाडौं महानगरपालिकामा ५ सय मेट्रिक टन र ललितपुरमा १ सय ५ मेट्रिक टन फोहोर दिनहँु संकलन हुने गरेको छ । काठमाडौंमा फोहोर व्यवस्थापन हुन नसक्दा महामारीको पनि उत्तिकै खतरा रहेको चिकित्सक बताउँछन् । फोहोरका कारण फैलिने दुर्गन्धले मानव स्वास्थ्यमा नराम्रो असर पारेको वरिष्ठ फिजिसियन प्राडा. करबिरनाथ योगीले बताए । हैजा, झाडापखाला, दम, श्वासप्रश्वास र छालासम्बन्धी रोग महामारी फैलिने उत्तिकै जोखिम छ । फोहोरका कारण पानीसमेत दूषित बनेको छ ।