पुल नहुँदा सास्ती

पुल नहुँदा सास्ती

बैतडी : बैतडीको पुरचौंडी नगरपालिकाका विभिन्न वडाका स्थानीय बासिन्दालाई बागागाड नदीमा पुल नहुँदा समस्या भएको छ। नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका स्थानीयलाई समस्या हुने गरेको हो। पुरचौंडीको मुख्य बजार हाट वसन्तपुर नजिक पुल नहुँदा वर्षातमा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको पुरचौंडी नगरपालिका-१ हाटका वीरबहादुर गडालले बताए।

उनले भने, ‘पुरचौंडी नगरपालिकाको मुख्य बजार हो, हाट वसन्तपुर। तर, वर्षातमा हामीलाई आवतजावत गर्न निकै कठिन छ। खोलामा बाढी आएको दिन तर्नै सकिँदैन। पुल नभएका कारण मुख्य काम पनि छुट्ने गरेका छन्।’

बागागाड नदीमा पुल नहुँदा वर्षातमा विद्यार्थीलाई पनि विद्यालय तथा क्याम्पसमा पुग्न असजिलो भइरहेको छ। क्याम्पस पढ्ने विद्यार्थी जोखिम मोलेर खोला तर्ने भए पनि स-साना बालबालिकालाई भने निकै समस्या हुने गरेको पुरचौंडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र नेगीले बताए। उनले भने, ‘वर्षातमा भूमिराज र कोटिलाबाट कम मात्रामा विद्यार्थी आउँछन्। बागागाड नदीमा पुल नहुँदा विद्यार्थी नियमित विद्यालय आउन सक्दैनन्।’

बागागाड नदीमा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले पनि सास्ती भोग्नुपरेको पुरचौंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले बताए। उनले भने, ‘पुलको बाटो स्वास्थ्य संस्था आउँदा झन्डै एक घण्टा बढी हिँड्नुपर्छ। बाटो पनि भीर भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन्। नजिकको बाटोमा खोला छ। खोलामा पुल नहुँदा सेवाग्राही घरमै बस्छन्।’

बागागाड नदीमा पुल नहुँदा व्यापारीलाई समेत सामान ढुवानीमा समस्या हुने गरेको छ। नदी बढेको दिन सामान नै ढुवानी गर्न नसकिने व्यापारी जनकराज जोशीले बताए। उनले भने, ‘वर्षातमा ढोल्यामोडबाट सामान ढुवानी गर्नुपर्छ। बागागाड खोलामा पुल नहुँदा झन् समस्या भएको छ।’

पुरचौंडी नगरपालिकाको केन्द्र पनि हाट नै भएकाले धेरैजसो मानिस आवतजावत गर्ने गर्छन्। तर, साविकका दुई÷तीन गाविसका नागरिकलाई भने निकै सास्ती हुने गरेको छ। बागगाड नदीनजिक झोलुंगे पुल हाल्न सकिने अवस्था नभएको स्थानीयले बताएका छन्। सो ठाउँमा सडक पुगिसकेकाले अब मोटरेबल पुल नै बनाउनुपर्ने पुरचौडी नगरपालिकाका डम्मरबहादुर कुँवरले बताए। उनले भने, ‘आधारभूत भौतिक पूर्वाधारमा जनप्रतिनिधिले ध्यान दिएर काम गर्नुपर्छ। कम्तीमा नगरपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने संरचना निर्माण गरिनुपर्छ।’

बागागाड नदीको ५ सय मिटरमाथि झोलुंगे पुल भए पनि पहिरोका कारण झोलुंगे पुलसम्म पुग्ने बाटोसमेत अवरुद्ध भएको पुरचौंडी नगरपालिका-१ का वडाध्यक्ष गणेशबहादुर गडालले बताए। उनले भने, ‘बजारभन्दा माथितिर झोलुंगे पुल थियो। त्यो पुलसम्म पुग्ने बाटो पनि पहिरोका कारण अवरुद्ध भएको छ। यसका कारण नागरिकलाई धेरै सास्ती भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.