बाँससँग रमाइरहेकी रुका

बाँससँग रमाइरहेकी रुका

काठमाडौं : चाबहिलको रामहिटी चोकदेखि थोरै ओरालो झरेपछि छेउमा साहित्य सदनको बोर्ड देखिन्छ । साहित्य सदनभित्र जाने बाटोमा बाँसको चोयाका ससाना टुक्रा सुकाइएका छन् । सँगैको घरको एक छेउमा टिनले छाएको एक पाखो छ । त्यहाँ बाँसबाट बनेका सामान असरल्ल छरिएका छन् । कतै काटेका बाँसका टुक्रा छन् त कतै लामालामा बाँस थुपारिएका छन् ।

एकातिर चोयाका ससाना मुठा चाङ लगाइएको छ भने अर्कातिर तयारी बास्केट, फूलदानी र गमला थुपारिएका छन् । माथिको तखतामा तयार गरिएको नाङ्लाको चाङ छ । त्यही छेउमा एउटी महिला बाँसका चोयालाई विभिन्न आकारमा ढाल्दै छिन् ।

धनकुटा आँखिसल्लाकी रुका राई १५ वर्षदेखि यही उद्योगमा काम गरिरहेकी छन् । उनले बाँसको काम गर्न भने गाउँमै सिकेकी थिइन् । परिवारसँगै काठमाडैाँ बस्न थालेपछि उनले फुर्सदको समयमा बाँसका सामान बनाउन सुरु गरिन् ।

उनको गाउँमा बाँसका कलात्मक सामग्री बनाइन्छ । बाँसको गमला, नाङ्लो, सानाठूला बास्केट, फूलदानी, ढक्की बनाउने सीप उनीसँग छ । अक्सर महिलाहरू बाँसको काममा हात हाल्दैनन् तर उनलाई भने अहिले यो काम सजिलो लाग्छ । काम सिक्दाको समय सम्झँदै उनी भन्छिन्, ‘बाँसले हातमा काट्ने, चोट लाग्ने, जताततै कोतर्ने हुन्थ्यो । बाँसले लागेर धेरैपटक घाइतेसमेत भएँ । अहिले भने बानी पर्‍यो । फेबिकलको सहायतामा एक दिनमा ६० देखि ७० वटा ओभल बास्केट बनाउने गरेकी छु ।’

४० वर्षीया रुका सासू र दुई छोराछोरीसँग चाबहिलमा बस्छिन् । उनका        श्रीमान् साउदी अरब पुगेका छन् । आफूले कमाएर घरखर्च चलाउन र छोराछोरीलाई पढाउन सहयोग पुगेकोमा उनी दंग छिन् । फुर्सदको समयमा घरमा त्यसै बस्नुभन्दा हरेक महिलाले केही न केही काम सिक्नु राम्रो हुने उनी बताउँछिन् । परिवारमा महिला पनि आर्थिक उपार्जनमा लाग्न सकेमा घरपरिवारमा माया र विश्वास बढ्ने उनको अनुभव छ । उनले बनाएका फूलदानी, ओभल बास्केट, नेपालका हरेक ठाउँमा बिक्री हुन्छन् । नारायणगढ, पोखरा तथा देशका प्रमुख सहरमा यी सामानको माग हुन्छ ।

यहाँ बन्ने सामग्रीको कच्चा पदार्थ सबै बाहिरी जिल्लाबाट आउँछ । धेरैजसो धनकुटाबाट आउँछ । नपुगे इलाम, झापा र पाँचथरबाट पनि मगाउने गरेको उनले बताइन् । ‘यो उद्योग गाउँकै छिमेकीको भएकाले पनि काम गर्न सजिलै छ’, उनी सुनाउँछिन् । उनीहरू गाउँको उद्योगबाट विभिन्न आकारका बाँस आयात गर्छन् । धनकुटाको सुखेल गाउँमा यस्ता बाँसका उद्योग छन् ।

उनी ५० देखि चार सय रुपैयाँ सम्मका बास्केट बनाउने गर्छिन् । त्यहाँबाट उनीहरू होलसेल पसलमा सामान पठाउँछन् । विशेष गरी फूल पसलमा बास्केट र फूलदानीको माग बढ्दो छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.