गाउँपालिका बन्द गरी जनप्रतिनिधि र कर्मचारी ५ दिने भ्रमणमा

गाउँपालिका बन्द गरी जनप्रतिनिधि र कर्मचारी ५ दिने भ्रमणमा

वीरगन्ज  : पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहित कर्मचारी कार्यालय बन्द गरी जिल्लाबाहिर गएका छन् । सेवाग्राही भने कार्यालय बन्द देखेपछि निराश भएर फर्किने गरेको स्थानीयको भनाइ छ ।

अध्यक्ष रामप्रति महतो थारू, उपाध्यक्ष उषा चौधरी, पाँचै वडाका वडासदस्य र १५ कर्मचारी गरी ४० जनाको टोली अवलोकन भ्रमणमा गएपछि शुक्रबारदेखि गाउँपालिका कार्यालय बन्द छ । गाउँपालिका कार्यालयमा १८ जना कर्मचारी कार्यरत छन् । तीमध्ये इन्जिनियर, सूचना–प्रविधि अधिकारी, स्वास्थ्य संयोजक, सहसंयोजक, पशु चिकित्सक, नायबसुब्बा, लेखापाल, सब–इन्जिनियर, सामाजिक परिचालक, खरिदार, शिक्षा संयोजक, कृषि प्राविधिक गरी १५ कर्मचारी लिएर अध्यक्ष थारू चितवन, पोखरा र लुम्बिनीका लागि पाँच दिनको भ्रमणमा गएका हुन् ।

भ्रमणमा नगएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरी तथा कार्यालय सहायकद्वय मनोजकुमार दास र नागेन्द्र महतो पनि शुक्रबारदेखि कार्यालयमा आएका छैनन् । गाउँपालिका कार्यालयले उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत गिरीको मोबाइल फोन पनि शुक्रबारदेखि अफ छ । भ्रमणको खर्च ६ लाख रुपैयाँ पनि गाउँपालिकाकै बजेटबाट निकासा गरिएको जनाइएको छ ।

गाउँपालिका कार्यालय शुक्रबारदेखि बन्द हुँदा सेवाग्राही काम नगराई फर्किन बाध्य भएका छन् । सेवाग्राही निराश भई फर्किन बाध्य हुने गरेको गाउँपालिका कार्यालय अगाडि घर भएका ओमप्रकाश चौधरीले बताए । ‘अध्यक्ष, उपाध्यक्षसहित सबै कर्मचारी भ्रमणमा गएकाले शुक्रबारदेखि कार्यालय बन्द छ’, उनले भने, ‘हरेक दिन १५–२० जना मान्छे विभिन्न काम लिएर कार्यालयमा आउँछन् तर कार्यालय बन्द देखेपछि निराश भएर फर्किन्छन् ।’

जनप्रतिनिधिबाटै जनताले सास्ती पाइरहेको जिराभवानी गाउँपालिका–२ का रामेश्वर साहले बताए । भने, ‘जनताले तिरेको करबाट भ्रमणमा गएर मोजमस्ती गर्नु जनविरोधी काम हो ।’

वडा नम्बर १ का अध्यक्ष शेख नुमान आजमले पनि गाउँपालिका कार्यालय नै बन्द गरी जिल्लाबाहिर जानु गलत भएको बताए । ‘मलाई पनि भ्रमणमा जान भनेका थिए तर वडा कार्यालयमा कामको चाप भएकाले म गइनँ’, उनले भने, ‘तर, वडासदस्य सबै जना भ्रमणमा गएका छन् ।’

अध्यक्ष थारूले अवलोकन भ्रमणका लागि जिल्लाबाहिर आएकाले कार्यालय बन्द रहेको स्वीकार गरे । ‘हामी सबै भ्रमणमा आएका छौं, त्यसैले कार्यालय बन्द भएको हो’, उनले भने, ‘एक–दुई दिनमा फर्किएपछि कार्यालय खुल्छ ।’

भ्रमण शीर्षक र रकमबारे जिज्ञासा राख्दा उनले भने, ‘यो कुरा मलाई थाहा छैन । प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुस्, उनले नै भ्रमणको प्रबन्ध मिलाएर हामीलाई पठाएका हुन् ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.