महाकालीको कटान सुरु : दोधाराचाँदनीका सय घर डुबानमा
महेन्द्रनगर/दार्चुला : दार्चुला सदरमुकाम उत्तरमा रहेको भारतको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध खोलेसँगै महाकालीमा बाढीको स्तर बढेको छ । लगातारको वर्षाका कारण खतराभन्दा माथि बगिरहेको महाकालीमा भारतले एकाएक धौलीगंगा परियोजनाको बाँध खोलिदिएपछि पानीको सतह अझ बढ्ने भएको हो ।
दार्चुलामा खोलिएको धौलीगंगाको पानी नपुग्दै कञ्चनपुरमा नपुग्दै महाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ । नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । आइतबार रातिदेखि सो क्षेत्रमा तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिका–१ का वडाअध्यक्ष अर्जुनदत्त भट्टले जानकारी दिए ।
उनले भने, ‘तटबन्धमा लगाइएको १२÷१३ वटा तारजाली बगाइसकेको छ ।’ अविरल वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको हो । उनले भने, ‘पानीको बहाव उच्च भएर आयो भने तटबन्ध पूरै भत्काउन सक्छ ।’ उनले तटबन्ध भत्किए महाकाली नगरपालिकाको १ र ३ नम्बर वडा नै खतरामा पर्ने बताए ।
तटबन्ध भत्किए महाकालीको भंगालो नै गाउँ पस्ने र त्यसले ठूलो क्षति गर्न सक्ने हुँदा स्थानीय त्रसित बनेका छन् । भारतले बिहान ८ बजे दार्चुलाको धौलीगंगाको बाँध खोलेकाले पनि दोधाराचाँदनीका बासिन्दा त्रसित भएका हुन् । पहाडको पानी यहाँसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेसम्म पानीको बहाव बढिसकेको छैन ।
जाईकाले २ दशकअघि निर्माण गरेको तटबन्ध जीर्ण भएपछि ०७० सालमा आएको बाढीले बयलबन्द क्षेत्रमै तटबन्ध भत्काएर नदीको भंगालो गाउँ पसेर ठूलो क्षति गरेको थियो । त्यसपछि सोही क्षेत्रमा जनताकोे तटबन्ध कार्यक्रमले गत आर्थिक वर्षमा तटबन्ध पुनर्निर्माण गरेको थियो । तर, तटबन्ध भरपर्दो र मजबुत नबनाइएका कारण तटबन्धमा लगाएको तारजाली बगाएर भत्काउन सुरु गरेको स्थानीयले बताएका छन्।
‘रातिदेखि तटबन्ध भत्काउन सुरु गरेको छ, पानीको बहाव बढ्यो भने निकै खतरा देखिन्छ’, स्थानीय परमानन्द भट्टले भने । स्थानीयले तारजाली बगाएर भत्काउन थालेको ठाउँमा तारजाली भर्ने काम सुरु गरेका छन् । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दले तटबन्ध भत्काउन थालेको ठाउँमा रोकथामको काम भइरहेको बताए ।
सय बढी घर डुबानमा
अविरल वर्षापछि नदी तथा खोलानालामा पानीको बहाव बढेपछि महाकाली नगरपालिकाकै वडा नं. ८ र १० क्षेत्रका विभिन्न टोल डुबानमा परेका छन् । ती टोलका करिब सय घर डुबानमा परेको महाकाली नगरपालिकाले जनाएको छ । निरन्तर परिरहेको वर्षापछि महाकाली, जोगबुढा नदी र आसपासका खोलामा पानीको बहाव बढेपछि ती टोलका घर डुबानमा परेका हुन् ।
महाकाली नगरपालिका–८ सुन्दरनगर र वडा नं. १० कुतियाकबरका शान्तिटोल, गुरुङ टोल, वैद्यफाँटा र गिरी टोलका सय घर डुबानमा परेका छन् । डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सुरक्षाकर्मी, नगरपालिका र स्थानीयले डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारेका हुन् ।
धौलीगंगाको बाँधले तराईमा क्षतिको अनुमान
दार्चुला सदरमुकामदेखि उत्तरमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधमा पानी बढेको भन्दै भारतले त्यसका ढोका सोमबार बिहान खोलेको छ । धौलीगंगाको बाँधको पानी पनि महाकालीमै मिसिने भएकाले महाकालीको जलस्तर सतहको पानीभन्दा एकाएक बढेको छ ।
भारतले धौलीगंगाका ढोका खोलिएको जानकारी गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्यले बताए । भारतले जलाशयमा पानी बढेको र नियमित सरसफाइसमेत गर्नुपर्ने भएकाले सोमबार बिहान बाँध खोलेको खबर आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले दार्चुला सदरमुकाम र तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जानकारी गराएको बताए । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ ।
दार्चुलामा पनि सदरकुमाम रहेको महाकाली नगरपालिका, ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका महाकाली तटीय क्षेत्रका जनतालाई प्रशासनले उच्च सतर्क रहन आग्रह गरेको छ । प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न र नदीमा तुइन, ट्युब प्रयोग गरी महाकालीमा यात्रा नगर्न आग्रह गरेको छ ।
पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्नेबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलाका डीएसपी नवराज अधिकारीले बताए । गत महिना दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरूको सीमा सुरक्षा बैठकमा बाँधको पानी छाड्ने समयबारे पूर्वसूचना आदानप्रदान गर्ने सहमति भएको थियो ।
प्रतिक्रिया दिनुहोस !