महाकालीको कटान सुरु : दोधाराचाँदनीका सय घर डुबानमा

महाकालीको कटान सुरु : दोधाराचाँदनीका सय घर डुबानमा

महेन्द्रनगर/दार्चुला : दार्चुला सदरमुकाम उत्तरमा रहेको भारतको धौलीगंगा जलविद्युत् आयोजनाको बाँध खोलेसँगै महाकालीमा बाढीको स्तर बढेको छ । लगातारको वर्षाका कारण खतराभन्दा माथि बगिरहेको महाकालीमा भारतले एकाएक धौलीगंगा परियोजनाको बाँध खोलिदिएपछि पानीको सतह अझ बढ्ने भएको हो ।

दार्चुलामा खोलिएको धौलीगंगाको पानी नपुग्दै कञ्चनपुरमा नपुग्दै महाकाली नगरपालिका–१ बयलबन्द क्षेत्रमा निर्माण गरिएको तटबन्ध भत्किन थालेको छ । नदीमा पानीको बहाव बढेपछि तारजाली बगाएर तटबन्ध भत्काउन थालेको हो । आइतबार रातिदेखि सो क्षेत्रमा तटबन्ध भत्काउन सुरु गरेको महाकाली नगरपालिका–१ का वडाअध्यक्ष अर्जुनदत्त भट्टले जानकारी दिए ।

उनले भने, ‘तटबन्धमा लगाइएको १२÷१३ वटा तारजाली बगाइसकेको छ ।’ अविरल वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको हो । उनले भने, ‘पानीको बहाव उच्च भएर आयो भने तटबन्ध पूरै भत्काउन सक्छ ।’ उनले तटबन्ध भत्किए महाकाली नगरपालिकाको १ र ३ नम्बर वडा नै खतरामा पर्ने बताए ।

तटबन्ध भत्किए महाकालीको भंगालो नै गाउँ पस्ने र त्यसले ठूलो क्षति गर्न सक्ने हुँदा स्थानीय त्रसित बनेका छन् । भारतले बिहान ८ बजे दार्चुलाको धौलीगंगाको बाँध खोलेकाले पनि दोधाराचाँदनीका बासिन्दा त्रसित भएका हुन् । पहाडको पानी यहाँसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेसम्म पानीको बहाव बढिसकेको छैन ।

जाईकाले २ दशकअघि निर्माण गरेको तटबन्ध जीर्ण भएपछि ०७० सालमा आएको बाढीले बयलबन्द क्षेत्रमै तटबन्ध भत्काएर नदीको भंगालो गाउँ पसेर ठूलो क्षति गरेको थियो । त्यसपछि सोही क्षेत्रमा जनताकोे तटबन्ध कार्यक्रमले गत आर्थिक वर्षमा तटबन्ध पुनर्निर्माण गरेको थियो । तर, तटबन्ध भरपर्दो र मजबुत नबनाइएका कारण तटबन्धमा लगाएको तारजाली बगाएर भत्काउन सुरु गरेको स्थानीयले बताएका छन्।

‘रातिदेखि तटबन्ध भत्काउन सुरु गरेको छ, पानीको बहाव बढ्यो भने निकै खतरा देखिन्छ’, स्थानीय परमानन्द भट्टले भने । स्थानीयले तारजाली बगाएर भत्काउन थालेको ठाउँमा तारजाली भर्ने काम सुरु गरेका छन् । इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दले तटबन्ध भत्काउन थालेको ठाउँमा रोकथामको काम भइरहेको बताए ।

सय बढी घर डुबानमा

अविरल वर्षापछि नदी तथा खोलानालामा पानीको बहाव बढेपछि महाकाली नगरपालिकाकै वडा नं. ८ र १० क्षेत्रका विभिन्न टोल डुबानमा परेका छन् । ती टोलका करिब सय घर डुबानमा परेको महाकाली नगरपालिकाले जनाएको छ । निरन्तर परिरहेको वर्षापछि महाकाली, जोगबुढा नदी र आसपासका खोलामा पानीको बहाव बढेपछि ती टोलका घर डुबानमा परेका हुन् ।

महाकाली नगरपालिका–८ सुन्दरनगर र वडा नं. १० कुतियाकबरका शान्तिटोल, गुरुङ टोल, वैद्यफाँटा र गिरी टोलका सय घर डुबानमा परेका छन् । डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ । सुरक्षाकर्मी, नगरपालिका र स्थानीयले डुबानमा परेका घरका मानिसलाई सुरक्षित स्थानतर्फ सारेका हुन् ।

धौलीगंगाको बाँधले तराईमा क्षतिको अनुमान

दार्चुला सदरमुकामदेखि उत्तरमा रहेको धौलीगंगा जलविद्युत् आयोजनाको बाँधमा पानी बढेको भन्दै भारतले त्यसका ढोका सोमबार बिहान खोलेको छ । धौलीगंगाको बाँधको पानी पनि महाकालीमै मिसिने भएकाले महाकालीको जलस्तर सतहको पानीभन्दा एकाएक बढेको छ ।

भारतले धौलीगंगाका ढोका खोलिएको जानकारी गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमाकान्त आचार्यले बताए । भारतले जलाशयमा पानी बढेको र नियमित सरसफाइसमेत गर्नुपर्ने भएकाले सोमबार बिहान बाँध खोलेको खबर आएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । उनले दार्चुला सदरमुकाम र तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जानकारी गराएको बताए । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ ।

दार्चुलामा पनि सदरकुमाम रहेको महाकाली नगरपालिका, ब्यास, दुहू, मालिकार्जुन र लेकम गाउँपालिकाका महाकाली तटीय क्षेत्रका जनतालाई प्रशासनले उच्च सतर्क रहन आग्रह गरेको छ । प्रशासनले स्थानीय बासिन्दालाई सुरक्षित भएर बस्न र नदीमा तुइन, ट्युब प्रयोग गरी महाकालीमा यात्रा नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्नेबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलाका डीएसपी नवराज अधिकारीले बताए । गत महिना दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरूको सीमा सुरक्षा बैठकमा बाँधको पानी छाड्ने समयबारे पूर्वसूचना आदानप्रदान गर्ने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.